• मंसिर ११ २०८१, मंगलवार

म र हामी मनोविज्ञान

माघ १२ २०७८, बुधबार

मानिसको मनमा अनेक भावना हुन्छन् । जस्तो कि प्रेम, घृणा, आशा, निराशा, आनन्द, भय, विश्वास, क्रोध तथा अहङ्कार आदि । प्रेम, आशा, आनन्द, विश्वास सकारात्मक भावना हुन् भने घृणा, निराशा, भय, क्रोध तथा अहङ्कार नकारात्मक भावना हुन् ।

नकारात्मक भावनाले नकारात्मक ऊर्जा पैदा गर्छ भने सकारात्मक भावनाले सकारात्मक ऊर्जा पैदा गर्दछ । त्यसैले सकारात्मक मनोविज्ञानले प्रेम, आशा, विश्वास तथा आनन्दमा जोड दिन्छ । ‘आई’ अर्थात् मलाई होइन, ‘वी’ अर्थात् हामीलाई मानवीय शक्ति मान्छ ।

मानिसको जीवनमा ‘आई’ अर्थात् म तथा ‘वी’ अर्थात् हामीको भावना निकै महत्वपूर्ण छन् । आआफ्ना ठाउँमा निकै शक्तिशाली छन् । गहिएर सोच्ने हो भने म र हामी भावनामा नै मानव समाजको सम्पूर्ण मनोविज्ञान टिकेको छ ।

मनोवैज्ञानिक दृष्टिमा म नकारात्मक मनोविज्ञान हो भने हामी सकारात्मक मनोविज्ञान हो । म रोग हो भने हामी निरोग हो । म दुःख र विनाश हो भने हामी सुख र समृद्धि हो । ‘म’ नर्क हो भने ‘हामी’ स्वर्ग हो ।

मानव समाजको मनोविज्ञान यति सरल हुँदा पनि धेरै पढेलेखेका मानिसले समेत यो बुझ्न सकेका छैनन् । वा बुझेर पनि व्यवहारमा लागु गर्न सकेका छैनन् । उल्टो, धेरै पढेलेखेका र धनाढ्य मानिसमा नै ‘म’को मात झनै बढी छ । पढेलेखेको मानिसमा पढाइको मात छ ।

धनी व्यक्तिमा धनको मात छ । बलशाली व्यक्तिमा बलको मात छ । रुपवानमा सुन्दरताको मात छ । वैसालुहरुमा यौवनको मात छ । यही मातका कारण मानिस अनेक समस्यामा पर्छन् । आफै आफ्नो विनाश निम्त्याउँछन् ।

गीतामा श्रीकृष्णाले दम्भ, घमण्ड, अभिमान तथा क्रोधलाई आसुरी सम्पदा भनेका छन् । यिनै दुर्गुणले मानिसलाई अधोगति लान्छ, मानिसको विनाश गर्छ भनेका छन् ।

रावणकी पत्नी मन्दोदरीले रावणसँग सीतालाई ससम्मान रामलाई फिर्ता दिई माफी माग्न हजार विन्ती गरेकी थिइन् । तर रावणले पत्नीको प्रस्ताव ठाडै अस्विकार गरेका थिए ।

रावणमा विश्व विजेताको अहङ्कार थियो कि ब्रह्माण्डको कुनै पनि शक्तिले उसलाई हराउन सक्दैन । रावणको यही अहङ्कारका कारण लङ्का नै ध्वस्त भयो । रावणको पतन भयो ।

कृष्णाले धृतराष्ट्रको दरवारमा दूर्योधनको उपस्थितिमा पाण्डवको तर्फबाट सन्धीको प्रस्ताव राखेका थिए । यदि पाण्डवलाई पाँच गाउँ दिने हो भने युद्ध रोकिन्छ भनेका थिए । तर अहङ्कारी दूर्योधनले कृष्णको प्रस्ताव ठाडै अस्विकार गरे । नतिजा महाभारतको युद्ध भयो । कौरवको विनाश भयो ।

‘म’ अर्थात् अहङ्कार यस्तो नकारात्मक मानवीय भावना हो, जसको कारण मानिसले आफुलाई जीवनको हर क्षेत्रमा उत्कृष्ट मान्न थाल्छ । अरुलाई निच देखाउने प्रयास गर्छ र अरुलाई निच देखाएर नै अगाडि बढ्ने सोच्दछ । उचाइमा पुगेपछि अहङ्कार झनै बढ्छ ।

अनि मदोन्मत्त हुन्छ । अहङ्कारको मातमा मानिसले अरुको ज्ञान र अनुभव ठीकसँग उपयोग गर्न पाउँदैन । अहम्को कारण नै उसको पतन हुन्छ । त्यसबेला उसलाई साथ दिने कोही हुँदैनन् । यसरी मानिसको व्यक्तित्व नष्ट हुन्छ । अनेक मानसिक रोगहरु यही अहङ्कारका कारण नै पैदा हुन्छन् ।

अहङ्कारकै कारण मानिसले पाप तथा अपराध गर्छ । अहङ्कार कारण नै जीवनमा दुःखद घटना पैदा हुन्छन् । वास्तविकता के हो भने संसारमा हरेक व्यक्ति चाहे कति नै कमजोर वा खराब किन नहोस्, उसमा कुनै न कुनै गुण अवश्य हुन्छ ।

साथै, मानिस जति नै शक्तिशाली वा असल किन नहोस् उसमा कुनै न कुनै अवगुण अवश्य हुन्छ । भनिएको नै छ, गुण नभएका राक्षस हुँदैनन्, अवगुण नभएका देउता हँुदैनन् ।

कसरी हुन्छ ‘म’को जन्म :

मानिसमा म अर्थात अहम् यस कारण पैदा भएको होइन कि उसले कुनै काम शानदार तरिकाबाट सम्पन्न गर्याे या धनी भयो वा धेरै पढ्यो वा बहुत सुन्दर भयो वा आफ्नो शरीरलाई बलवान बनायो । जब मानिस पहिलो पटक आमाको पेटमा खुट्टा चलाउन थालेको थियो, त्यति खेरदेखि नै अहम्को जन्म भएको थियो । म छु भन्ने पहिचान बनाउनुको मतलब हो, अहम्को जन्म । त्यसै बेला नै ‘म’को जन्म भएको हो ।

म अर्थात् अहङ्कारको जन्म आत्मप्रशंसाको बीजबाट पैदा हुन्छ । स्वयम्को सर्वोच्चता मान्ने भावनाले पैदा हुन्छ । तर, यो एक झुटो सत्य हो । त्यो किनभने जसलाई मानिसले आत्मविश्वास भन्छन्, त्यो एक झुट हो, जो मानिसले आफै निर्माण गरेको हुन्छ ।

वास्तवमा अहम् मानिसको छाया जस्तै हो । जस्तो कि शरीर छ भने छाया पनि हुन्छ । छाया न त राम्रो हुन्छ, न त नराम्रो । न सानो रहन्छ न ठुलो रहन्छ । यदि सूर्यमाथि हुन्छ भने छाया सानो हुन्छ, सूर्य ढल्दै गयो भने छाया अग्लो हुन्छ । तर छाया छाया हो ।

अहङ्कारले मानिसलाई लक्ष्यको बाटोबाट भटकाउँछ । वास्तवमा अहङ्कार एक मृगतृष्णा जस्तै हो, जसबाट न त आफ्नो तीर्खा मेटिन्छ, न त अरुको । आफुलाई हर क्षेत्रमा पूर्ण मान्ने मानिसको अहम्ले आफ्नो कमजोरी तथा दोष छिपाउने कोशिस गर्छ ।

अहङ्कारी व्यक्तिले आफ्नो कमजोरी तथा दोष जानेर पनि अहङ्कारका कारण अरुको अगाडि स्वीकार गर्दैन । जो हमेशा अरुको निन्दामा नै लागिरहन्छ । निन्दामा नै उसलाई निकै आनन्द आउँछ । तर ऊ मानसिक रोगहरु नाश गर्ने औषधि क्षमा, दया, करुणा, प्रेम, धैर्य, नम्रता, शान्ति र सादगीबाट हमेशा बन्चित रहन्छ ।

परिवार, समाज तथा राष्ट्रमा यही अहङ्कारको कारण वादविवाद, झैझगडा, लडाइँ तथा युद्ध समेत हुन्छ । दूर्योधनले राज्यसत्ताको अहङ्कार नगरेर पाण्डवलाई पाँच गाउँ दिएको भए न त महाभारत हुन्थ्यो, न त कौरवको विनाश । पारिवारिक वादविवाद, झैझडा तथा लडाइँको एक प्रमुख कारण पनि यही अहङ्कार हो ।

पतिमा पुरुषत्वको अहङ्कार हुन्छ । पत्नीमा माइतीको अहङ्कार हुन्छ । बुहारीमा आधुनिकताको अहङ्कार हुन्छ । सासुमा परम्पराको अहङ्कार हुन्छ । यिनै अहङ्कार कारण घरघरमा कुनै न कुनै वादविवाद, झैझडा तथा लडाइँ हुने गर्छ ।

मानिसले आफ्नो गल्तीलाई हृदयदेखि स्वीकार गर्ने हो भने मात्र अहङ्कारको पुनरावृत्तिबाट जोगिन सक्दछ । वास्तवमा क्षमा माग्ने र क्षमा दिने व्यक्ति परम मानसिक आनन्दको अनुभव गर्छन् । यहाँ मननयोग्य कुरा के भने अहङ्कारको नास भएपछि मात्र विनम्रताको भावना पैदा हुन्छ ।

विनम्रताले ज्ञानको ज्योति जल्दछ । ज्ञानको ज्योतिले अज्ञानताको अध्यारो नस्ट गर्छ । मानिसक रोग पनि निर्मूल हुन्छ । तर, मको नकारात्मक ऊर्जाले मदोन्मत्त मानिसले यो मनोविज्ञान बुझ्न सक्दैन । त्यसैले पनि संसारमा अहङ्कारको उपचार आवश्यक छ ।

पुछारमा :

अतः सकारामत्मक मनोविज्ञानले ‘म’ होइन ‘हामी’लाई महत्व दिने गर्छ । जोड दिने गर्छ । त्यो किनभने हामीमध्ये कोही पनि हामीहरुभन्दा राम्रो, स्मार्ट र बलियो छैनौं । महान् साहित्यकार तथा समाजसेवी हेलेन केलरले भनेकी नै छिन्– ‘एक्लै हामीले थोरै (कार्य) मात्र गर्न सक्छौं, आपसमा मिलेर हामीहरूले धेरै (कार्य) गर्न सक्छौं ।’

अतः स्वस्थ जीवन जीउन तथा जीवनमा कुनै महान् कार्य गर्न म होइन, हामीको भावनालाई आत्मसात् गरौं ! मानिसको जीवन निकै सुन्दर छ ।