• मंसिर ११ २०८१, मंगलवार

नियोग, धाइआमा र सरोगेसीबीच अन्तरसम्बन्ध

माघ ११ २०७८, मंगलवार

सन्ततीको चाह र प्राप्तिका लागि मानव समाजमा पहिल्यैदेखि विविध नीति र उपायहरु अबलम्बन गरिँदै आएका छन् । यीमध्ये, प्राचिन समाजमा नियोग प्रथा (पुरुष छनौट) निकै प्रचलनमा थियो । यसले पूर्वीय साथै पश्चिमा समाजमा पनि निकै व्यापकता पाएको थियो ।

आधुनिक कालमा यो ‘सरोगेसी’ अर्थात् ‘कोख’ छनौटसम्म विकसित भएर आएको छ । ‘कोख’ र ‘वीर्य’ आदि भाडामा लिन सकिने वस्तुका रुपमा लिइन थालिएका छन् ।

त्यसो त अरुको ‘बीर्य धारण’ वा नियोग प्रथाले निरन्तरता पाउँदै आएको पनि छ । आधुनिक समाजमा सन्तान नहुनेहरुले नियोग प्रथाका नयाँ रुप वीर्यदान र सरोगेसी दुवैलाई अगाडि बढाइरहेका छन् ।

पछिल्लो समयमा हलिउड चर्चित अभिनेत्री प्रियंका चोपडाले आफ्ना पति अमेरिकी नागरिक निक जोनसको सहमतिमा सरोगेसी मार्फत् सन्तान प्राप्त गर्न लागेको भनी उनको आफ्नो पारिवारिक भेलामा खुशी प्रकट गरेपछि यसका बारेमा हिन्दु धर्म र परम्परा प्रभावित भारतीय र नेपाली सामाजमा यसले कौतुहलता सिर्जना गरिदिएको छ ।

नियोग प्रथा 

नियोग प्रथा निकै पुरानो र परम्परागत प्रथा हो । यो बढी धर्म र धर्मशास्त्रमा आधारित छ । पूर्व जुनीको पापका कारण सन्तान नहुने र त्यस्ता मानिसहरु वा राजाहरुले महिनौसम्म महायज्ञ सञ्चालन गर्नुपर्ने यसका नीति र विधिहरु पनि तय गरिएका छन् ।

यस्ता यज्ञहरुमा ऋषिमहर्षिहरुलाई आमन्त्रण गर्ने र महिनौसम्म दरवारमा वा समाजमा भरणपोषण गर्ने तथा यज्ञयज्ञाधि गरी वातावरण पवित्र बनाउने गरिन्छ । यो नियोग प्रथामा बाहिर देखाउन यज्ञयज्ञाधि गरिए पनि भित्रभित्रै भने सन्तान उत्पादन गर्ने मुख्य ध्येय राखिएको हुन्छ ।

बाहिर हेर्दा यज्ञ वा पुण्य गरेका कारण सन्तान उत्पन्न भएको भनिए पनि भित्रभने यिनै ऋषिमहर्षिसँगको महिनौसम्मको उठबसका कारण दरबारका महारानी गर्भवती हुने र सन्तान पैदा हुने गरेको धर्मशास्त्रमा वर्णित छन् । यो नै नियोग प्रथा हो ।

रामायणका नायक भगवान राम आफैमा दशरथ पुत्र मानिएका मात्र हुन् । राजा दशरथ आफैमा सन्तान उत्पादन गर्न सक्ने हैसियतमा थिएनन् । तर उनले पुत्रप्राप्तिका लागि कौशल्या, सुमित्रा र कैकेयी गरी तीनतीनवटी रानी बिबाह गरेका थिए ।

पुत्रहीन दशरथका अगाडि राजकाज कसले धान्ने भन्ने गम्भीर प्रश्न उठेपछि उनले त्यतिबेलाका ऋषिमहर्षिलाई दरवारमा आमन्त्रण गरी पुत्रप्राप्तिका लागि महिनौ महायज्ञ चलाएका थिए । परिणमतः तीनवटी रानीबाट नियोग प्रथाद्वारा राम, लक्ष्मण, शत्रुघ्न र भरतले जन्म लिएका थिए ।

महाभारतमा वर्णित धृतराष्ट्र, पाण्डु र (विद्वान विदुर) कुरुक्षेत्रीय चन्द्रवंशी राजाहरु मानिए पनि वास्तवमा उनीहरु प्राचिन राजा भरत, उनका दरसन्तान शान्तनु र शान्तनुका छोरा विचित्रवीर्यका सन्तान भने थिएनन् । विचित्रवीर्यको काशी नरेशकी छोरीहरु अम्बिका र अम्बालिकासँग बिबाह भए लगत्तै मृत्यु भएकाले उनीहरु पुत्रहीन थिए ।

सासुआमा तथा कुरुराज्यकी बडामहारानी सत्यवतीको इच्छा र आदेशमा कुरुराज्यलाई राजाविहीन नबनाउने शर्तमा बुहारीहरु वा विचित्रवीर्यका विधवा रानी द्वय अम्बिका र अम्बालिका र एक दासी महिलामाथि पनि नियोग विधिद्वारा गर्भधारण गराई धृतराष्ट्र, पाण्डु र विदुरलाई जन्म दिइएको थियो ।

यो नियोग विधिमा आफ्नै वंशका वा सत्यवतीको ऋषि परासरसँगको संभोगद्वारा जन्मिएका वेदव्यास प्रयोग भएका थिए । धृतराष्ट्र, पाण्डु र विदुर वास्तवमा ऋषि वेदव्यासका सन्तान हुन् ।

तर उनीहरुलाई कुरुराज्यका क्षेत्रीय कुलमा जन्मिएका राजकुमारहरु र पछि राजा पनि मानिएको छ । यो तात्कालीन प्रचलनमा रहेको सामाजिक रुपमा मान्यताप्राप्त र स्वीकार्य नियोग विधिअनुसार वंश चलाने प्रक्रिया थियो ।

केही जाति र कुनै कुनै समाज विशेषमा अहिले पनि अव्यक्त रुपमा यो प्रथा जारी छ । नियोग प्रथामा उही वंशभित्रको योग्य पुरुष वा नजिकको नातेदार पुरुषको खोजी गरिने र त्यसैलाई मान्यता दिइने गरिएको देखिन्छ ।

धाइआमा प्रथा :

धाइआमा प्रथा राजामहाराजा शासित समाजको उत्तरार्धमा प्रचलनमा रहेको पाइन्छ । बेलायत लगायतका राजा भएका केही युरोपीय देशहरु, भारत, नेपाल, जापान लयातका केही राजा भएका देशहरुमा पछिसम्म पनि धाइआमा प्रथा प्रचलनमा रहिरहेको पाइएको छ ।

धाइआमा प्रथा भनेको नियोग र सरोगेसीभन्दा निकै भिन्न प्रथा हो । यसमा रानीको गर्भबाट जन्मिएका राजकुमार तथा राजकुमारीलाई आफ्नो दूध चुसाएर स्वस्थ बनाउने, पालनपोषण गर्ने, स्याहार गर्ने शारीरिक रुपमा स्वस्थ महिलाको खोजी गरिन्छ । आफ्नै स्तनपान गराउने आमाको भूमिकामा रहने हुनाले यी महिलालाई धाइआमाका रुपमा दरवारमा राखिएको हुन्छ ।

यसको आवश्यकताको व्याख्या एउटा छ र चाहना वा इच्छाको व्याख्या वा परिभाषा अर्कै छ । आवश्यकताको परिभाषा हो, दरवारका शाही परिवारमा स्वास्थ्य कमजोरी निकै प्रवल रुपमा देखा पर्नु र त्यसबाट उत्पन्न हुने कारणले बच्चाबच्चीको उचित लालनपालन र स्याहारसुसारमा कमी नआओस् भनेर धाइ आमा राखिएको पाइन्छ ।

इच्छा, शान वा सौखको परिभाषामा रानी, महारानीहरुले आफ्नो बच्चालाई दूध चुसाएमा छिटो बूढी हुने र सौन्दर्य स्खलित हुनजाने विश्वासले पनि काम गरेको छ । यसले गर्दा पनि रानीले गर्भधारण गरेको अवस्थादेखि नै जन्मने बच्चाबच्चीका लागि ‘धाइआमा को हुन सक्छ’ भनेर खोजी गरिने गरिएको यथार्थता हाम्रासामु छ । यो समकालीन समाजमा स्वीकार्य प्रचलन नै थियो ।

हालको बदलिएको परिस्थिति अनुसार धाइआमाको भूमिका विराट र बिस्तार हुँदै गएको छ । यसले स्वास्थ्य क्षेत्रमा व्यापक रुपमा आफूलाई परिमार्जित र परिभाषित गर्दै लगेको छ । नर्सिंङ पेसा अहिले यो रुपमा उदाएको छ । नर्सका लागि जापान, अमेरिका, बेलायत तथा अन्य विकसित देशहरुमा वैदेशिक रोजगारीका रुपमा मान्यता दिई व्यवहारिकता प्रदान गरिसकिएको छ ।

सरोगेसी सिस्टम :

यो सबैभन्दा पछिल्लो समयमा सन्तान उत्पादनका लागि प्रयोगमा ल्याइएको प्रणाली हो । विज्ञान र प्रविधिको विकास र बिस्तारसँगै यो व्यापक हुँदै गैरहेको पनि छ । विश्वमा व्यापार तथा व्यवसाय गरेर खानु पर्ने मान्यतामा आधारित पुँजीवादी व्यवस्था र यसले सिर्जना गरेका अनेकन व्यवसायजन्य र खरिद–बिक्रि प्रणाली अन्तर्गत पछिल्लो समयमा आफ्नो कोख बेच्ने वा भाडामा दिने प्रचलनका रुपमा उदाएको छ, सरोगेसी ।

सामान खरीद बिक्री कतिपय आवश्यकता आधारमा हुन्छन् । कतिपय इच्छा र चाहनाका आधारमा हुन्छन् त कतिपय सौखका रुपमा पनि हुन सक्छन् र हुन्छन् पनि । सरोगेसी पछिल्लो समयमा आएर सौखिनता पनि हुन जान सक्छ ।

कतिपयले बच्चाको चाहना पनि गर्ने तर आफ्नो सौन्दर्य र फिटनेसमा कमी नआओस् भनेर चाहना गर्ने भएकाले पनि सरोगेसीको सहारा लिन थालेका हुन सक्छन् ।

तर वास्तवमा सरोगेसीको मान्यता भनेको जसको आफ्नै अपूर्ण गर्भाशय र कमजोर वीर्य आदिका कारण बच्चा जन्मन असंभव छ, तिनीहरुका लागि मानवीय समस्या समाधान गर्ने कोणबाट विकसित हुन गएको हो ।

अहिले यसको सदुपयोग र दुरुपयोग दुवै हुन सक्छ पनि । यो कुरा भनेको त वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले यदि अमेरिकाले मैले पत्ता लगाएको ‘ई = एमसी स्क्वायर’ आणविक सूत्रबाट डरलाग्दा आणु बमहरु बनाउने छ भन्ने थाह पाएको भए मैले उक्त कुराको खोजी र अनुसन्धान नै गर्ने थिएन भनेको जस्तै हो ।