वैरभाव भनेको रिस हो, क्रोध हो । यसले मानिसलाई हैरान र नकारात्मक बनाउँछ । सकारात्मक चिन्तनमा अवरोध खडा गर्छ । क्रोधबाट क्रोध शान्त हुन सक्दैन । त्यस्तै रिसले रिसलाई समाप्त पार्न सक्दैन । बुद्धले भनेका छन्, वैरभाव अन्त्य हुनका निम्ति मैत्रीभाव आवश्यक पर्छ ।
कतै कुनै मानिस रिसाइरहेको छ । उसलाई झन् रिसाउने वातावरण भयो भने त्यो घातक हुन जान्छ । ऊ हिंसा गर्ने स्थितिमा समेत पुग्न सक्छ । उसले समयमा नै मैत्रीभावको सोचाइ वा चित्त राख्न सक्यो भने हिंसा हुन पाउँदैन ।
जसरी फोहोर ठाउँ सफा गरेपछि त्यो ठाउँ सफा हुन्छ, यस्तै मैत्रीभावले गर्दा खराब कुरा हुन पाउँदैनन् । असल चित्त हुन्छ । चित्त शुद्ध हुन पाउँछ । वैरीभावले व्यक्तिलाई सात दुष्परिणाम उत्पन्न हुन्छ :
१) क्रोधित मान्छे जति नै राम्रो वस्त्राभूषण पहिरेर राम्रो बन्न प्रयत्न गरे पनि रुप-सम्पत्ति मलिन भई ऊ नराम्रो नै बन्छ ।
२) क्रोधित मान्छे सदैव दुःखमा नै डुबिरहन्छ ।
३) क्रोधित मान्छेले धन पनि प्राप्त गर्न सक्दैन ।
४) क्रोधित मान्छे कहिल्यै पनि महाधनवान् हुंदैन ।
५) क्रोधित व्यक्तिलाई सच्चा मित्रता प्राप्त हुदैन ।
६) क्रोधित मानिस यशवान् पनि हुन सक्दैन ।
७) क्रोधित व्यक्तिहरू मसानमा जलाएर बाँकी रहको चिताको काठसमान पनि हुंदैनन । (भिक्षु सङ्घरक्षित स्थवीर सयम कोविद, सद्धर्म श्रवण दुर्लभ, सत्यसन्देश प्रचारक प्रकाशन काठमाडौँ, २०७० पेज २७)
यही पुस्तकमा उल्लेख गरिएको बुद्धकालीन कालीयक्षिणीको कथा यहाँ सारांशमा राख्न उपयुक्त होला । यो लोककथा बुद्ध जन्मिनुभन्दा अगाडिबाट नै सुरु हुन्छ । एउटा परिवार थियो । त्यहाँ वृद्ध आमाबुबा थिए । उनीहरूको एक्लो छोरो थियो । ऊ बाबुआमाको हेरचाह गरी बसेको थियो । आमाबाबुले छोराले एक्लै घरपरिवारको काम गरेको देखेर छोरालाई बिहे गर, बिहे गर भनेर कर लगाउन थाल्छन् । करकापमा छोराको बिहे हुन्छ । तर अपसोच उनीहरूको सन्तान हुँदैन । आमाबुबा भन्छन्, बाबु छोरा कुलघरानाको निरन्तरताको निम्ति भए पनि सन्तान चाहिन्छ । तिमीले अर्को बिहे गर्नुपर्छ । हामीले पनि पुत्र देख्न पायौँ भने मुक्ति पाइन्थ्यो कि ?
छोराले प्रस्ताव सिधै अस्वीकार गर्छ । तर बुहारी आफै सक्रिय हुन्छिन् । आफ्ना निम्ति आफै सौता हाल्छिन् ।
घरमा भित्र्याएपछि आफ्नी सौतालाई भन्छिन्, हेर नानी, तिमी गर्भवती भएपछि मलाई जानकारी दिनू । कान्छी पनि त्यो कुरा स्वीकार गर्छिन् किन कि जेठीले नै कान्छी भिर्त्याएकी थिइन् ।
जेठी मनमा वैरभाव राखेर सोच्छिन्, कान्छीले छोरो पाई भने घरको हर्ताकर्ता उही हुन्छे । उसकै मात्र वाहवाही हुन्छ । उनी सन्तान हुन नदिने उपाय सोच्न थाल्छिन् ।
उनी पहिलो गर्भपतन गराउन कडा खालको औषधी ख्वाउँछिन् । बच्चा तुहिन्छ । दोस्रोपटक यसै गर्छिन् । बच्चा फेरि तुहियो ।
तेस्रोपटक उनी आफू गर्भवती भएको कुरा सौतालाई भन्दिनन् । सौता उपाय खोजी गर्न लाग्छिन् । फेरि पनि खानामा हालेर औषधी खुवाउँछिन् । कान्छीलाई असीम छट्पटी हुन्छ । सौताले सङ्कल्प गरिन्, मलाई यिनले आफ्नी सौता बनाइन् । मलाई नै यति धेरै पीड़ा दिइन् । म अर्को जन्ममा यिनको सन्तान मार्न सक्ने बनूँ । कान्छीको मृत्यु हुन्छ । जेठीको यो खेल श्रीमान्ले पनि थाहा पाउँछ । श्रीमानको पिटाइले जेठीको पनि मृत्यु हुन्छ । जेठी अर्को जन्ममा कुखुरी भएर र कान्छी बिरालो भएर त्यही घरमा जन्म लिन्छन् । जब कुखुरी अण्डा पार्छे, त्यो सबै अण्डा बिरालोले खाइदिन्छ । यसरी तेस्रोपटक अण्डा खाएपछि कुखुरीले सङ्कल्प गर्छे, म पनि अर्को जुनीमा तिमी र तिम्रो सन्तान खान सक्ने बनूँ !
त्यसपछि कुखुरी मरेर चितुवा हुन्छे । बिरालो मरेर मृग भएर जन्मिन्छ । ठूलो भएर मिर्गले बच्चा पाउन थाल्छ । जब मिर्गले बच्चा जन्माउँछ चितुवाले खाइदिन्छ ।
तेस्रोपटक मिर्गले सङ्कल्प गर्छ, अर्को जुनीमा म पनि तिम्रो सन्तान मार्न सक्ने बनौं । अर्को जुनीमा मृग कालीयक्षिणी नामको राक्षस भएर जन्मिन्छ । श्रावस्तीको एक कुलघरानाकी छोरी भएर जन्मिन्छ । चितुवा जबको तिनका बच्चा जन्मिन थाल्छन्, कालीयक्षिणी साथीको भेषमा आएर खाइदिन थाल्छ ।
तेस्रोपटक उनीहरूको बच्चा माइतीघरमा जन्मिन्छ । गाउँमा फर्किन लाग्दा फेरि राक्षससँग भेट हुन्छ । उनीहरु भाग्दै बुद्धको शरणमा पुग्छन् ।
राक्षसलाई बुद्धले सँगै राखेर भन्छन्, ‘तिमीहरूको दुस्मनी आजको होइन । यसैले तिमीहरूमा मैत्रीभाव आबश्यक छ । मैत्रीभावले मात्रै बदलाभावलाई शान्त बनाउन सक्छ ।’
बुद्धले भने-
नही वेरेन वेरानी, सम्मन्तिध कुदाचन ।
अवेरन च सम्मन्ती एस धम्मो सनन्तनो
अर्थात् वैरले वैरभाव शान्त हुँदैन । मैत्रीले मात्र वैरभाव शान्त हुन्छ । यही पहिलेदेखि चलिआएको छ । (उही पेज ३३)
यो कथामा प्रतिशोधको भावना प्रबल छ । बुद्ध दर्शनले निरन्तर प्रतिशोधले धेरैभन्दा धेरै विकार उत्पन्न गर्ने धारणा राखेको पाइन्छ । यसैले बुद्ध दर्शनमा मैत्री वा मैत्रीभावको सिद्धान्तको विकास भएको हो । मैत्री भनेको समानता, भातृत्व र प्रेम पनि हो । आजको वैरभावयुक्त विश्वपरिवेशमा मैत्रीको ठूलो आबश्यकता छ । यो पुस्तक र लेखकको अपेक्षा पनि यही हो, वैरभावको ठाउँमा मैत्रीपूणर् स्थिति बनोस् । विश्वमा शान्ति छाओस् ।
सूर्य बज्रयानाद्वारा लिखित ‘बौद्ध दर्शनको संक्षिप्त चर्चा’बाट ।