काठमाडौँ । युक्रेनमाथि रुसले हमला गर्न सक्ने भन्दै अमेरिकाले साढे आठ हजार आफ्ना सेनाहरु छोटो सूचनामै जहाँ पनि जान सक्ने गरी उच्च सतर्क अवस्थामा राखेको बताएको छ । उता रुसले भने युक्रेनमाथि हमला गरेर कब्जा गर्ने आफ्नो मनसाय नभएको बताउँदै आएको छ । पछिल्लो समयमा रुसले युक्रेनको सीमा नजिक आफ्ना सैनिकहरुको ठूलो उपस्थिति बढाएको भनेर अमेरिकाले केहि समयदेखि भन्दै आएको थियो । यस्ता समाचार र घटनाले कुनैपनि बेला युद्ध हुनसक्ने चिन्ता व्यक्त भइरहेका छन् ।
युक्रेनको विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना युरोपेली साझेदारहरुसँग भिडियो मार्फत् कुराकानी गरेको समेत बताइएको छ । कुराकानी गर्दा अमेरिकाले रुसविरुद्ध आफ्ना साझेदारहरुले सामूहिक रणनीति अपनाउने बारे छलफल गरेको बताइएको छ । अमेरिकामा सैनिकहरु तयारी अवस्थामा रहेपनि उनीहरुलाई युक्रेन पठाउने बारे हालसम्म कुनै निणर्य भने नभइसकेको बताइएको छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन कर्बीले यदी नेटोले ‘र्यापिड एक्सन फोर्स’लाई परिचालन गर्ने वा रुसी सैनिकहरुको उपस्थिति रहेको क्षेत्रमा कुनै नयाँ अवस्था उत्पन्न भएमा मात्र तयारी अवस्थामा रहेका सैनिकहरु त्यस क्षेत्रमा पठाइने जानकारी अन्तरराष्ट्रिय संचार माध्यमलाई दिएका छन् ।
युक्रेनमै अमेरिकी सैनिकहरु तैनाथ गर्ने भने कुनै योजना नभएको उनले बताए । उता अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोका केहि सदस्य देशहरु डेनमार्क, नेदरल्याण्ड, फ्रान्स र स्पेनहरुले पूर्वी युरोपमा आफ्नो सुरक्षा बढाउनका लागि युद्धपोत तथा लडाकु जहाज पठाउने बारे विचार गरिसकेको पहिले नै बताइसकेका छन् ।
नेटोका महासचिव जनरल येन्स स्टोलटेन्सनवर्गले युक्रेनमा हमला गरिए रुसले त्यसको महँगो मूल्य चुकाउने समेत बताएका छन् । सोमबार नै अमेरिकी विदेश मन्त्रालयले युक्रेनस्थित आफ्नो राज दुतावासका कर्मचारीका आफन्तहरुलाई उक्त देश छोड्न आदेश दिएको थियो । मस्कोले भने युक्रेनमा हमला गरेर कब्जा गर्ने आफ्नो कुनै मनसाय नरहेको बताउँदै आएको छ ।