काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा जोर बिजोर गाडी सञ्चालन गरेको केही दिन भैसकेको छ । ओमिक्रोन महामारीको संक्रामक स्वरुपलाई लिएर त्यसबाट बच्न यस्तो निर्णय लिइएको देखिन्छ ।
तर पनि व्यवहारमा भने त्यसले सोचेको प्रतिफल दिने देखिएको छैन । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेपछि सार्वजनिक यातायातमा मानिसको झनै भीड बढेको देखिएको छ ।
तर भीडभाड कम गर्नका लाागि उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरभित्र सञ्चालन हुने निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको हो ।
सरकारी कार्यालय, निजी संस्थाहरु तथा सामान्य आर्थिक उत्पादनका गतिविधि यथावत रहेकाले पनि सार्वजनिक क्षेत्रमा मानिसकको गतिविधिमा कमी आएको छैन ।
मानिसको आउजाउमा कमी नआउने तर सार्वजनिक सवारी साधनमा मात्र जोरबिजोर प्रणालीको मापदण्ड अपनाइएकाले पनि सार्वजनिक यातायातमा भिड बढेको यातायात व्यवसायी तथा यात्रुहरूले स्वीकार गरिरहेका छन् ।
दिउँसो मध्यान्हको समयमा भीडभाड कम हुने भए पनि बिहानको कार्यालयको समय र साँझको कार्यालय बिदापछिको समयमा भने सार्वजनिक यातायातमा यात्रुहरूको अटनखटन हुने गरी चाप बढेर जाने गरेको छ । यसैका कारण पनि सिट क्षमताभन्दा बढी यात्रुहरु बसभरि कोचेर सार्वजनिक यातायात कुदिरहेका देखिन्छन् ।
व्यवसायीले यात्रुहरुको आग्रह भन्दै आएजति र अटेजति मानिसहरु बसमा कोच्ने गरिरहेका छन् भने ट्राफिक प्रहरी चाहिं आफूहरुले सरकारले गरेको निर्णय कार्यान्वयन गर्ने/गराउने न हो भन्दै जोर बिजोर गाडी नम्बर हेर्ने र जाम हुन नदिनेतिर मात्र लागिरहेका छन् ।
स्वास्थ्यविद भन्ने गरिरहेका छन्– ‘कुरा गाडी जोर बिजोरका चले कि चलेनन् भन्ने होइन, भौतिक दुरी कायम भयो कि भएन, भीडभाडमा कमी आयो कि आएन, ओमिक्रोन महामारी संक्रमणको कमी गराउने कुरामा सघाउ पुग्यो कि पुगेन भन्ने हो ।’
तर सडकमा भने जोरबिजोर प्रणालीका कारण सर्वसाधारण यात्रुहरूले सार्वजनिक यातायातमा भीड लागेर नै यात्रा गर्नु परिरहेको बताइरहेका छन् ।
माछापोखरीमा बूढानिलकण्ठ जाने बस कुरिरहेका श्याम गुरागाईं भन्छन्– ‘बस आउँदैनन्, आए पनि भरिएर आउँछन्, त्यसैमा कोचिएर जाने हो ।’
जोरपाटी अस्पतालमा बिरामीका लागि खाना बोकेर नारायणगोपाल चोकमा बस कुरिरहेकी अधवैंसे महिला जुनु पुन भन्छिन्– ‘जोरबिजोर भनेको महामारी रोक्नलाई होइन, ट्राफिक जाम कम गर्न बनाइएको नीति जस्तो लाग्छ ? तर मलाई थाह छैन, यस्तो निर्णय ट्राफिक प्रहरीले गरेको हो कि स्वास्थ्य मन्त्रालयले ?’
उनले थपिन्– ‘सार्वजनिक बसमा झनै भीड लागेको छ, भनेको बेलामा गाडी नै पाइँदैन, आयो भने उही त हो, भरिभराउ ।’ त्यति बेलै जोरपाटी जाने बस आयो, उनी हाँस्दै ढोकाछेवैमा उभिन पुगिन् । मान्छे भरिभराउ नै थिए ।
अहिले पनि धेरै मानिसको एउटै प्रश्न छ– ‘जोर बिजोर प्रणाली ट्राफिक प्रहरी कार्यालयले लागू गरेको हो कि स्वास्थ्य मन्त्रालयले ?’