• मंसिर ११ २०८१, मंगलवार

पनौतीमा लाग्ने १२ वर्षेकुम्भ मेला

माघ महिनामा धेरै तीर्थस्थलहरुमा विशेष मेला लाग्ने गर्छ । पाप प्रक्षालन, शरीरमा आरोग्य, मनमा शान्ति, तनमा कान्ति चाहनेले बाँचुन्जेल अनेकानेक तीर्थ, ब्रतहरु गरिनै रहन्छन् महाभारतमा विदुरजीले ४० वर्षसम्म तीर्थयात्रामा रहेको प्रसंग छ ।
नेपालमा देवघाट, आर्यघाट, गोकर्ण, बाराहक्षेत्र, मुक्तिक्षेत्र, त्रिवेणीक्षेत्र, वेत्रावती आदि असंख्य तीर्थक्षेत्रहरु छन् । स्वस्थानीको शालिनदी र गौरीघाट, विष्णुमती, वागमतीको शङ्खमूल चर्चा जति गरे पनि कम हुन्छ ।
काठमाडौँको दक्षिणतिर गोदावरी र काठमाडौँकै ३२ किलोमिटर पूर्व काभ्रेको पनौती क्षेत्रमा ६/६ वर्षको अन्तरालमा १२/१२ वर्षमा विशेष मेला लाग्ने क्रममा यस वर्ष पनि लागेको छ ।

देवासुर मिलेर सत्य युगमा समुद्र मथन गर्ने निधो भयो । अनेकानेक विषयहरु समुद्रका गर्भबाट प्राप्त हुँदै एक अमृतको घडा पनि प्राप्त भयो । कसले पहिले खाने भन्दा देवासुरमा विवाद भई अमृतको घडा आकाश मार्गले लिएर उड्दा अमृतका छिटा पृथ्वीमा परे र यस्तो स्थानमा स्नानको महत्व हुने भई मकरमेला लाग्ने गर्छ ।

भारतको नासिकस्थित गोदावरी, अलाहवादको प्रयाग जहाँ गंगा, यमुना र सरस्वतीको संगम छ, त्यस्तै हरिद्वार विभिन्न क्षेत्रमा कुम्भ मेला लाग्ने गर्छ । समुन्द्र मथन भई अमृत निस्केको क्षेत्र मान्दै धरानको बाराह क्षेत्रमा पनि कुम्भमेला लगाउने चलन केही वर्ष यतादेखि यहाँ पनि हुन लागेको छ ।

युगौँ युगदेखि नेपालको अस्तित्व रहेको, सत्य युगमा यसको नाम सत्यपुरी, त्रेता युगमा यसको नाम तपोवन, द्वापरमा मुक्तिपुर हुँदै कलि हालको युगमा यसको नाम नेपाल रहेको छ, नेमुनिको तपस्थलीका कारण र न्यायले प्रजाको रक्षा हुने भन्दै अर्थात् न्यायेन पाल्यते भन्ने अर्थमा यहाँको नाम नेपाल भएको छ ।

नेपालमा बहने सबै नदी तीर्थ हुन् र सबै क्षेत्र धाम हुन् । शिवको बासस्थान हिमालयक्षेत्र, शिव जटाबाट गंगाको उदय, यहीँ स्वयं प्राकाट्य ज्योतिर्लिंग पशुपति र अर्धांगिनी पावर्तीको क्षेत्र गुह्येश्वरी यहीँ रहेको छ ।

संसारका ३३ करोड तीर्थको शिर भाग नेपाल नपुगी आफ्नो मुक्तिको लक्ष पूरा नहुने सवा अर्ब संसारका हिन्दुहरुको मत छ । स्कन्द पुराण खासगरी नेपाल माहात्म्यमा नेपालको विशद् चर्चा छ भने शिव चर्चा त ऋग्वेदहरुमै पाइन्छ ।

ने मुनिले नेपालको स्थापना, बस्ती विकास गरे उनकै नामबाट नेपाल नामकरण भयो । उनले विरुपाक्षलाई पापमोचन गराउन यहाँका विभिन्न स्थानमा ६४ ज्योर्तिलिंगको उदय गराएकोमा सिन्धुलीको कुशेश्वरदेखि पशुपतिक्षेत्रको रुद्रगारेश्वरसम्म ६४ ज्योतिर्लिग नेपालका हाल १० जिल्लामा रहेका छन् । पापको भारी हलुको नहुने भएकाले विरुपाक्षलाई पापको भारि बिसाउँदै तत् तत् क्षेत्रमा तप गर्न ने मुनिले लगाइएको क्षेत्र ६४ ज्योतिर्लिंग हो ।

विरुपाक्षलाई मातृगमनको दोष लागेको थियो, पनौतीमा स्नान गदै त्यहाँको ईन्द्रेश्वर शिवको ध्यान, आराधना गर्न उनी माघकृष्ण अष्टमीमा पुगेका थिए पहिले । श्रुतश्रवा भन्ने एक तपस्वी ब्राह्मण भाद्रशुक्ल पूर्णिमामा पुगेका थिए, त्यहीँ उनले तप गरे, जाग्राम बसे पछि उनले शिवलोक प्राप्त गरेको चर्चा स्कन्द पुराणमा वर्णित छ ।

अहिलेसम्म पनि साँखुको स्वस्थानी व्रतीहरु हरेक वर्ष आफ्नो व्रत पूरा गर्न माधव नारायण लिएर गई पुरुष व्रतीले जीउ पल्टाउँदै इन्द्रेश्वर शिवजीको पनौतीमा परिक्रमा गर्छन्, एकसरो कपडामा भनौँ लगभग नाँगै ।

भक्तपुरको नवदुर्गालाई त्यहाँ दर्शनका लागि लग्दा त्यहाँको भैरवको विशेष पूजा हुन्छ, उन्मत्त भैरवको स्वरुप पनि देखिन्छ त्यहाँ । तीज, शिवरात्रि, हरेक सोमबार, जनै पूर्णिमा, बाला चतुर्दशीमा पशुपतिमाझैं ठूलो मेला लाग्ने गर्छ ।

कुञ्जगिरि पर्वत त्रेता युगमा लक्ष्मण लङ्कामा घायल हुँदा हनुमानले सञ्जीवनी बुटी ल्याउँदा ठूलो पहाडै उठाएर ल्याए, केही भाग त्यहीँ खस्यो र यो पर्वत बन्यो भनिन्छ, त्यो डाँडोलाई गोरखनाथ डाँडो भनिन्छ ।

यसैको वरदानी शक्ति पाएर गोरखाका पृथ्वीनारयण शाहले देशको एकीकरण गरे । पनौती घाट क्षेत्रमा तेह्रौँ शताब्दीमा बनेका धेरै मूर्ति, मन्दिरमध्ये बद्रीनाथ, केदारनाथ, वंश गोपाल, ब्रह्मायणी, राम, सीता, हनुमान, मुक्तेश्वर, पन्चमुखी शिव, माधव नारायण, शीतला माई, बासुकी नाग, धर्म स्तम्भदेखि १४ औँ शताब्दीमा स्थापित गरुड, लक्ष्मी, विष्णुमूर्ति, नवग्रह आदि र हाल केही वर्ष यता मात्रै थपिएका राम, कृष्ण, लक्ष्मी, सरस्वतीको संयुक्त मन्दिरसमेत भव्य सजिएको भनौँ धर्तीको स्वर्ग नै अनुमान हुन्छ पनौतीघाट ।

पर्यटकीय सुन्दरता गोरखनाथ डाँडोबाट चारैतिर हेर्दा उत्तर तिर मनोरम हिमालयका दृश्य, पूर्वतिर मनोरम नमोबुद्ध, दक्षिणतिर महाभारत पर्वत श्रृङखला,र पश्चिमतिर  फूल्चोकीको दृश्यले मनै लोभिन्छ जो कोहीको । मानव बस्ती नदी किनारामै भएको हो, बाक्लो बस्ती अन्यत्रझैं यहाँ पनि वातावरण नबिग्रिएको होइन ।

अहिले लीलावती र पुण्यमाताको खोलामा बहने पानीलाई कुलो बनाएर बाहिर फालिएर पिउन योग्य पानी भनौँ काभ्रे एकीकृत खानेपानीबाट आएको पानी जमाएर स्नान गराउने व्यवस्था भएको र कोरोनाका कारण २५/२५ जनालाई आलोपालो गरी स्नानको प्रबन्ध गरिएको त्यहाँका मेयर भीम न्यौपानेको भनाइ छ भने यतिबेलाको विशेष नारा भनेको पुर्खाको गौरव पनौतीको गौरव १२ वर्षे मकरमेला हामी सबैको वैभव भन्ने रहेको छ ।

अघि सृस्टिकर्ता ब्रह्माजीले एक युवती अहिल्यालाई सिर्जना गरी तपस्वी ऋषि गौतमलाई सुरक्षा नासोको रुपमा दिएका थिए । स्वर्गका राजा ईन्द्रको कालो छायाँ गौतमी भनौँ अहिल्यामा परेछ । अहिल्या राम्री थिइन्, गौतम ऋषि स्नान सन्ध्याका लागि पवित्र नदी तर्फ गएको मौका छोपी ईन्द्रले गौतमको भेषधारण गरी आश्रमा छिरेछन् र अहिल्याका साथ समागम भएछ ।
आश्रमकै ढोकाबाट निस्कन लाग्दा आफ्नै भेषमा देखेका ईन्द्रलाई जीउभरि स्त्रीयोनी होस् भनी गौतमले श्राप गरेछन्, उता अहिल्यालाई ढुँगा हुन पनि श्राप गरेछन् । अहिल्या ढुङ्गा भइन्, मेरो अन्जानको पाप निवारण होस् भनी प्रार्थना गर्दा धेरैपछि राम अवतारमा उनका पाउले शिला छोएपछि श्रापमुक्त भई अघिकै अबस्था हुने बताइएपछि युगौँ युग शिला भएकी अहिल्यालाई श्राप मोचन गराउन पादस्पर्श गर्नु परेका थियो रामले ।

ब्राह्मणीलाई क्षत्रीय बंशकी माताको पाउ स्पर्श नहुने भन्दा पनि कारणबश यसो गर्न परेको स्वयं विश्वामित्र गुरुबाट अथ्र्याएपछि रामले उनलाई स्पर्श गरी साविकको रुप युवती बनाइदिएका थिए त्रेता युगमा । तपस्वीहरु युग युगसम्म बाँचिरहने भएकाले आफ्ना पति गौतमसंग शरीर शुद्धिपछि पुनः भेट भएको थियो ।

अघि सतीदेवीको अभावमा फेरि उनलाई पाउन शिवजीले हिमालयका काखमा ८७ हजार वर्ष सम्म तपस्या गरेका थिए, पहिलेकी सतीदेवी यहीँको पर्वत हालको जिल्लामा पार्वती भई मेनकाका गर्भबाट जन्मिएर माघ महिनाको विशेष व्रत गरी शिवजीलाई पति पाएको अबस्था थियो, तीजको व्रत प्रसंग पनि यसैमा जोडिन्छ ।

गौतमको श्रापले विरुप बनेका इन्द्रको अबस्थाले स्वर्गमा खैलाबैला भयो । ईन्द्र पत्नी शचि भनौँ ईन्द्राणीलाई असह्य वेदना भई गुरु वृहस्पति सामु पुगिन् । आफ्नो वेदना बताएपछि गुरुले हालको काभ्रे पनौती जहाँ कुन्ज पर्वत छ, जसलाई अहिले गोरखनाथ डाँडो भनिन्छ त्यहाँ गएर दुबै जोडीले १२ वर्षसम्म तप गर्नू ।

शिव पर्वतीको आराधना गर्नू अनि श्रापमुक्त हुन्छ भनिदिएछन् । ईन्द्र र ईन्द्राणीसंगै बडो कष्टले त्यहाँ तप गर्न लागेछन् । कुन्ज पर्वत मुनि लीलावती र पुण्यवती भनौँ रुद्रवती भन्ने २ नदी बहन थालेछन् । त्यहीँ बसेर तप गर्ने क्रममा पार्वती खुसी भई गुप्तरुपमा आफू पद्मावती भई छुट्टै बग्न थालिछन् । ३ नदीको संगम त्रिवेणी भयो । त्यहीँ ईन्द्रले इन्द्रेश्वर शिवको स्थापना गरे ।
ईन्द्रको श्राप मोचन भई अघि जस्तै तेजस्वी भए । १२ वर्षको कठोर तपले सिद्धि प्राप्त गरेको त्यो क्षेत्रमा हरेक १२ वर्षमा भक्तहरुको भीड लाग्ने, स्नान, पूजा ईन्दे्रश्वर मन्दिर दर्शनको प्रथा चलेछ । त्यहाँ अहिले पनि वर्गाकारको आकर्षक मन्दिर छ, गर्भगृहमा शिव लिंग छ,नव ग्रह र श्री विष्णुको मूर्ति छ, मन्दिरको छानो झिँगटीको छ । ६० वटा कलात्मक टुँडालले मन्दिर सजिएका छन् । गोप, गोपी, कृष्ण, राम, भरत, पाण्डव आदिका आकृतिहरु देख्न सकिन्छ, सजिलै ।