• फाल्गुन ३० २०८२, शनिबार

सिके राउतलाई मार्ने धम्की दिएको छैन, भ्रम फैलियाे : मन्त्री यादव

माघ १० २०७८, सोमबार

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले आआफ्नो तारिकाले अपव्याख्या गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।
जसपा सांसदसमेत रहेकी यादवले सोमबार एक विज्ञप्ति जारी गर्दै आफ्नो अभिव्यक्तिलाई अपव्याख्या गरेर बुझिएको बताएकी हुन् ।

मन्त्री यादवले यही ५ माघमा रौतहटको गौरमा आयोजित सार्वजनिक कार्यक्रममा गौर काण्ड दोहोर्‍याएर जनमत पार्टीका संयोजक सिके राउतको हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै चौतर्फीं विरोध भइरहेको छ ।

‘मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसैकसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेकोप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ।,’ जारी विज्ञप्तिमा भनिएको छ। ‘मेरो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको बुझिन आएकोले सो प्रति गहिरो दुख व्यक्त गर्दै आफ्नो भनाई कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु’, ‘साथै, उक्त वक्तव्यलाई अतिरञ्चित नगरिदिन हुन् विनम्र आग्रह पनि गर्दछु।’