• असार १८ २०८१, सोमबार

सहकारीको नेतत्वको गर्न सफल ७४ वर्षे देवीमाया

माघ १० २०७८, सोमबार

दाङ, ९ माघ ।
उमेरले ७४ वर्षको नेटो काट्यो तर, जोस भने युवा अवस्थाको जस्तै छ देवीमाया थापाको । लमही नगरपालिका–९ अमिलिया पूर्वपश्चिम महेन्द्र राजमार्गमै उनको घर छ तर कार्यालय भने १६ किलोमिटर पूर्व राजमार्ग छेउ रिहारमा छ । उनी सहकारी संस्थाकी अध्यक्ष हुन् ।

आठ वर्षअघि कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था गठन भएदेखि नै अध्यक्षको जिम्मेवारीमा रहेकी थापा निरन्तर सदस्यहरुकोे घर आँगन र बस्तीमा पुग्दै आएकी छिन् । सदस्यहरुको समस्या समाधानका लागि सधै तत्पर हुने थापाले उक्त सहकारीलाई नमुना नै बनाएकी छिन् । अहिलेको पुस्तालाई उदाहरण बनेकी थापाले लगनशिता नै सफलता भएको बताउँछिन् ।

लमही नगरपालिका ८, ९ र राजपुर गाउँपालिका–९ लाई कार्यक्षेत्र बनाएको सहकारीमा ५४ वटा समूह छन् । विहान उठेर घरको कामगर्दै सहकारीमा नौलो कामकालागी योजना बनाउने गरेको उनले बताइन् । “घरमा छोरा बुहारी भएका कारणपनि धेरै समय दिनुनपर्ने भएकोले मेरो अधिकांश समय सहकारीमै बित्ने गरेको छ” थापाले भनिन् । सहकारी गठन भएदेखि नै जम्मा भएको रकम आयमुलक कामको लागि लगानी गर्ने योजना देवीमायाले नै ल्याएकी हुन् । निम्न आयस्रोत भएका सदस्यहरुले उनको प्रस्तावलाई राम्रो मानेर साथ दिंदै गए । “जुन गाँउमा जे गर्न सकिन्छ त्यसमै लगानी गर्ने योजना बनाए अहिले त्यो सफल भएको छ” देवीमायाले भनिन् ।

सहकारीले अहिले बाख्रा तथा दुध उत्पादनमा बढि लगानी गरेको छ भने त्यसको पनि बजारीकरणको काम गरिरहेको उनले बताइन् । उत्पादनलाई बजारीकरण गर्न उनले नै पहल गरेकी हुन् । सहकारीमा आवद्ध एक हजार २५ महिला सेयर सदस्यमध्ये ६ सय बढीले व्यवसायिक रुपमा बाख्रा पालन गर्दै आएका छन् । बाख्रा पाल्नेसँग कम्तीमा दश माउ हुनुपर्ने नियम सहकारीले बनाएको छ । २० जनाले व्यवसायीक भैंसी र ६ जनाले जर्सी गाई पालेका छन् । अरुले सिजन अनुसारको खेती गरेको उनले जानकारी दिइन् ।

लमही नगरपालिकाको ८ र ९ अन्तर्गतको रिहार, कोलतारा, तेल्ले, हर्देवा, अमेलिया, बाङ्गेताल, शिवखोला, जलकुण्डी, हात्तीखाल लगायत राजपुर गाउँपालिकाको वडा नं ९ अन्तर्गतका गोरुवा र राताकाँस गाउँलाई बाख्रापालन पकेट क्षेत्रको रुपमा सहकारीले घोषणा गरेको छ । देवीमायाले खसीबोका बिक्रिका लागि सहकारी कार्यालय परिसरमै संकलन केन्द्र बनाएकी छिन् ।

सबै सेयर सदस्यले पालेका खसी तयार भएपछि सल्लाह गरेर एकै ठाउँमा जम्मा गर्छन् र तौलेर बेच्छन् । व्यापारीलाई बिक्रि गरेको मूल्यमा प्रतिकिलो ५ रुपैयाँ सहकारीमा राखेर अरु पैसा मूल्य अनुसार किसानलाई दिने गरेको उनले बताइन् । “त्यो जगेडा राखेको ५ रुपैयाँले पिपिआर खोप तथा औषधि किनेर सदस्य किसानहरुलाई नै निःशुल्क दिने गरेका छौं” थापाले भनिन् । खसी बाख्रा जस्तै उत्पादित मकै, तरकारी पनि एकै ठाउँमा जम्मा गरेर बिक्रीका लागि बजार पठाउने गरिएको छ ।

गतवर्ष प्रदेश सरकारले जिल्लाकै उत्कृष्ट सहकारीको रुपमा देवीमायाको सहकारीलाई घोषणा गरेको थियो । त्यस्तै गत असारमा अध्यक्ष थापा काठमाडौं पुगेर युवा स्वरोजगार कार्यक्रम अन्तर्गत ५० लाख रुपैयाँ अनुदान समेत ल्याएकी थिइन् । आठ वर्षमा सहकारीको चलअचलगरी २ करोडको सम्पत्ति छ । एक करोड सहकारीमा आबद्ध महिलाहरुले व्यवसायिक कामका लागि परिचालन गरेका छन् ।

झण्डै एक करोडको कृषि उपकरण छन् । सहकारीको ६ कोठाको आफ्नै भवन छ । सहकारीका सदस्यले उत्पादन गरेको मकैबाट च्याँख्ला, पिठो, आटो उत्पादन गरेर बेच्ने लक्ष्य थापाले लिएकी छन् । त्यस्तै तोरी पेलेर शुद्ध तेल बेच्ने पनि उनको लक्ष्य छ । यसका लागि मिल सञ्चालन गर्ने सहकारीको तयारी छ ।