बैशाख २४, २०६१
यात्राका यी क्षणहरू आफैमा रोचक र अविस्मरणीय क्षण बनेका छन् । २० गते चौरपानी पुतलीबास आइयो । यहाँ पोस्टमा बसियो । पोस्टमा राम्रो परिवेश रहेछ । विष्णु कमरेडले यहाँ सबै कुराको व्यवस्थापन गर्नुभयो । २१ गते पनि त्यहीं बस्यौँ । २२ गते मलो आयौँ । २३ गते कमरेड कम्प्युटर अर्थात् रामचन्द कमरेडको बडागाउँबाट फोन गर्न चौरजहारी गयौँ । बामेका एकजना कमरेडले आफ्नै कमजोरीका कारण सहादत प्राप्त गरेछन् । सेनाका रहेछन् । दुस्मन आएको थाहा पाएर पनि रेडियो घन्काएर यताउति नबुझी चौरजहारी बजारमा घुम्न थालेछन् । सुराक पाएर दुस्मनले समातेर हत्या गरेछ । लास पनि कति दिनसम्म पुलमै रहेछ । कतिपय साथीहरू आफ्नै कारणले दुस्मनको हातमा परेका छन् ।
सवितासित काठमाडौँमा फोनमा कुरा भयो । बोलीमा उत्साह थिएन । थाहा हुन्थ्यो चिन्ता छ त्यहाँ बाबु सचुले परिक्षा राम्रो गरेछ । खुसी लाग्यो । चौरजहारीमा धेरैबेर बस्नु ठीक थिएन । फेरि माथि लागियो सल्यानतिर यता बेला बेलामा जाजरकोट सदुमुकामबाट झर्छ दुस्मन । यहाँबाट जाजरकोट सदरमुकाम नजिकै पर्छ ।
यता सल्यानको रागेचौर र स्विकोटतिर पार्टीले सङ्गठन विस्तार र प्रशिक्षणमा बढी जोड दिनुपर्ने देखिन्छ । राती जनताको घरमा बास बस्यौँ । अहिलेका कमरेडहरु पहिलेका जस्ता नभएको गुनासो गर्छन् सबैतिर गाउँलेहरू सत्तासँगै विकसित हुने चरित्र हो यो । २३ गते सानीपिप्लीबाट बिहानको ६ः३० बजे हिँड्यौं । खोलखोला र फेरि उकालो लाग्यौँ । ९ः३० तिर माथि नेटा आइपुगियो । राम्रो ठाउँ रहेछ । सारा चौरजहारी मात्र नभएर जाजरकोट र डोल्पासम्म देखिंदो रहेछ । यता रुकुम, डोल्पा, जाजरकोट पूर्वतिर सबैतिरबाट घोडा, खच्चड, मान्छे र भरिया सबै, सल्यानबाट आउने बाटो यही रहेछ । सबैभन्दा बढी खच्चड हिँडेको देखियो–लामो परसम्मको लस्कर
बाटामा म्यावा अर्थात् मेवा खूबै खाइयो । यहाँ तल खोलादेखि नै म्यावा असाध्य फलेको पाइयो र उकालोमा पनि खूब खाइयो । नेटामा खाना खाएर ओरालो झयौँ । ११ः४५ मा गाम्चे पुगियो । खच्चडले गर्दा बाटो धूलैधुलो रहेछ । धूलो उडेर हिँड्नै गारो । म अहिले यो डायरी पनि यहीं एउटा अग्लो ढुङ्गामा बसेर लेख्दैछु । ३ बजेसम्म सल्यान र सुर्खेतको सीमा भेरी नदीको तीर सल्लीबजार पुगिन्छ भन्ने अनुमान छ ।
बैशाख २६
हिजो दिनभरि सल्लीबजारको गर्मी खाइयो । यहाँसम्म बाटो पिच भएकाले सुर्खेत र नेपालगञ्जका भाडाका बसहरु र मान्छेहरु आवतजावत खूबै हुँदोरहेछ । यो सञ्चार र व्यापारिक दुवैको केन्द्र रहेछ । यो वास्तवमा सामरिक महत्वको ठाउँ हो । सुरक्षाका दृष्टिले संवेदनशील छ यो ठाउँ सल्यान, जाजरकोट, सुर्खेत, दैलेख र जुम्लासम्म यहाँबाट जान सकिन्छ ।
आज आरबिएम कमरेड छहारीसित भेट भयो । वहाँले यताको व्यवस्थापन हेर्नु हुँदो रहेछ । भद्र र असल मान्छे । एउटा क्रान्तिकारी र इमानदार कमरेड । पत्रपत्रिका पढ्न पाइएकाले गर्मी भए पनि ठीकै लाग्यो । छहारीजीसित भेटेपछि केही फरकपनको बोध भएको छ र मन प्रफुल्लित छ ।
बैशाख २८
सुर्खेतको जमुने भन्ने ठाउँमा छु । यो ठाउँ सल्लीबजारबाट उत्तरपश्चिममा छ, भेरीपारि । पुलबाट पनि जान सकिन्छ र फेरि डुङ्गाको पनि व्यवस्था गरिएको छ । राम्रो फाँट छ । तर गर्मी उधुम छ । हिजो भेरीमा मज्जाले पौडी खेलियो । पल्लो किनारको छेउछाउसम्म पुगें । पानीलाई म अलि हेप्छु । जत्रोसुकै नदी पार गर्छु पौडेरजस्तो लाग्छ । पौडेर पार गर्न मन लागेको थियो भेरी । एक्लै भएकाले त्यसो गर्न ठीक लागेन । गणेशजीसित भेटेर सेनजीको स्मृतिकार्यक्रम सकेर फेरि उतै फर्किने योजना हो ।
बैशाख ३०
जमुनेबाट उकालो चढेर काफलकोट आइपुग्यौँ । उकालो, अनि केही तेर्सो रहेछ बाटो । यो सुर्खेतको विकट क्षेत्र मानिँदो रहेछ । मलाई यो ठाउँ ताप्लेजुङका कमरेड सहिद डिल्लीको गाउँभन्दा उताको गाउँजस्तो, इखाबुजस्तो लाग्यो । काफलकोट पुग्नुअघि सिरपा आउँदो रहेछ । यो त ठ्याक्कै ताप्लेजुङको इखाबुजस्तै लाग्यो । साँवा नाघेर तमोरबाट उता लागेपछि इखाबू आउँछ । रमाइलो लाग्यो यो ठाउँ । यता पिल्क भन्ने ठाउँमा पुथ्वीबहादुर सिंहसित भेट भयो । राष्ट्रिय रुपमा साहित्यकारको परिचय बनिसकेको नभए पनि उनी यताका चाहिँ स्थापित साहित्यकार मानिँदा रहेछन् । प्रलेसमा पनि पार्षद् रहेछन् । एमालेका हुन् । कुराचाहिँ अलि ठूल्ठूलै गर्दा रहेछन् । उनैकोमा चिया खाइयो र केहीबेर उनका कुरा सुनियो र पनि । एमालेबाट चाहिँ उनी वाक्कदिक्क भएका रहेछन् ।
जेठ ३
हेर्दाहेर्दै जेठ ३ भएछ । काफलकोट ठीकै छ । पहाडी ठाउँ हो । महाभारतको काखमा उत्तर फर्केको छ । तर अलिअलि मच्छड पनि लाग्दार हेर्छन् । सबै भन्छन्,
यता विस्तारै मच्छड पनि घोडागाडीजस्तै हिमालको छेउछाउतिर पुग्दैछन् । पछिल्ला दिनहरूमा पहाडी क्षेत्रमा लामखुट्टेको विस्तार भएको सही हो । यो कुरा मैले सल्यानमा पनि अनुभव गरेको थिए ।
यहाँ एक जना सुर्खेती पुराना नेता मदन भट्टले पनि सेल्टर लिएका रहेछन् । पहिले एमालेमा भए पनि अहिले माओवादी बनेका रहेछन् र पार्टीले उनलाई जिल्लाको सल्लाहकार बनाएको रहेछ । तर उनी चौबिसै घण्टा जांँडपानीले टन्न भएर बस्ता रहेछन् । पार्टीले बसाइ र खुवाइको राम्रो व्यवस्था गरेको रहेछ । तर जाँडपानीको लतले सामाजिक प्रभाव राम्रो रहेनछ । म यता आएको १० दिन भइसकेछ । जुन कामका लागि आएको हो त्यसको तयारी राम्रोसित चल्दै छ ।
जेठ ७
म यहाँ आएको पनि १५ दिन हुन लागेछ । सल्लीबजार खाँच हो, गर्मी हुने नै भयो । जमुने पनि त्यस्तै, तर पहाड भनिएको काफलकोट पनि गर्मी । यता भेरी–कर्णालीको सांस्कृतिक सङ्घले ‘उद्घोष’ नामको मुखपत्र निकाल्ने भएकाले प्रशिक्षणात्मक किसिमको प्रकाशन होस् भन्ने साथीहरूको चाहना छ र म यसैको तयारी गरिरहेको छु । साथीहरुले यसै अनरूपको प्रश्नहरू सोध्नुभएको छ ।
फेरि पनि जोड दिन्छु पहाडको ठाउँमा के सारो मच्छड ! मच्छड मात्रै होइन, बिच्छी पनि पो लाग्दा रहेछन् । यता उसलाई गंगटे भन्दा रहेछन् । मलाई हातमा टोक्यो । हात सुन्नियो, लाटो भयो । डर लाग्यो । कतै हातै बिग्रने पो हो कि भनेर । तर यताका बिच्छी अलि कम विषालु हुँदा रहेछन् । धेरै दिनसम्म हात झमकमाइरह्यो ।
जेठ ८
म आज सुर्खेतको काफलकोट र मिल्कको बीचमा रहेको गाउँ स्विकोटमा छु । यो ठाउँ राम्रो छ, अग्लो ठाउँमा । बसाइ पनि राम्रो छ । यहाँ दाङको स्वर्गद्वारी रेडियो सुनिने रहेछ । घरका मान्छे कोही शिक्षक रहेछन् र कोही सुर्खेतमा जागिरे । त्यसैले घरको वातावरण पनि केही फरक रहेछ, आधुनिक पाराको । यही ठाउँमा बलिदान दिवसका सन्दर्भमा सेनजीको कार्यक्रम गर्ने तय भएको छ ।
जेठ ९
स्कूलको प्राङ्गनमा सेनजीको कार्यक्रम गरियो । मौषमले त्यति साथ दिएन, हावाहुन्डरी चल्यो । र पनि कार्यक्रम राम्रो भयो । गाउँलेको राम्रो उपस्थिति थियो । गाउँलेहरूबीच यसको राम्रो प्रभाव गयो । यो पहिलेको सन्दर्भमा एमालेको राम्रो पकड भएको ठाउँ रहेछ । अहिले सबैजसो हामीतिर लागेका रहेछन् । यहाँ एफएमबाट ताजा समाचार सुन्न पाइने भएकाले मन अलि उत्साहपूर्ण छ । राष्ट्रिय स्थिति नयाँ किसिमले विकसित होला जस्तो छ, हेरौं के हुन्छ । कार्यक्रम सकिएपछि अब फेरि पूर्वतिर लाग्नुपर्ने हुन्छ ।
जेष्ठ १०
आज माथि स्विकोटबाट सल्ली आइपुगियो ।