• असार २५ २०८१, सोमबार

दाङमा सयौं कुकुरको बन्ध्याकरण गरिंदै, बाँदर लखेट्न भने कुनै समस्या नहुने !

माघ ९ २०७८, आईतवार

घोराही, ९ माघ ।
कुकुरको नाम सुन्दा बित्तिकै धेरैलाई फोहरी र गन्हाउने कुकुरको याद आउने गर्दछ भने धेरैलाई कुकुरले घरको रख्वालो गर्ने भएकोले मायाको भाव देखाउने गरेको पाइन्छ । कुकुर र मानिसको सम्बन्ध हजारौं वर्षदेखिको हो भन्ने इतिहासविदहरु पनि छन् । यसकै कारण तिहारमा कुकरलाई पूजा गर्ने परम्परा पनि रहिआएको छ ।

उसो त यस ब्रम्हाण्डमा रहेका सबै प्राणी जगतको आआफ्नो भूमिका रहेका बेला वातावरण सन्तुलन राख्ने तथा मानिसको जीवनमा सुरक्षा लगायतका काममा समेत कुकुरको भूमिका कम्ति छैन । यसरी हाम्रो समाजमा रहेका छाडा कुकुरहरुले पनि कुनै न कुनै रुपमा राम्रै काम गरिरहेका हुन्छन् ।

मानिसलाई टोक्ने र फोहर गर्ने बाहेक प्राय कुकरले खासै काम बिगारेका पाइँदैन । बरु चोर पत्ता लगाउने जस्ता कार्यमा कुकरहरुको निकै राम्रो भूमिका रहिआएको छ । बरु मानिसलाई नभई नहुने कुकुर र  कुकुर जस्ता प्राणीलाई व्यवस्थित तरिकाले पाल्नेमा भने मानिसले खासै ध्यान पुर्याएको पाइँदैन ।

जनसंख्याको बृद्धि तथा खानपिनको अभावमा  कुकुरले मानिसलाई टोकेर समस्यामा पार्ने तथा रोग पनि निम्त्याउन सक्ने त्रासलाई मेटाइ कुकुरलाई पनि मानिसको साथी बनाउनका लागि अभियान चलाउन जरुरी भइसकेको छ । यसैबिच दाङको घोराही उपमहानगरपालिकाको पशुसेवा शाखाले आइतबारदेखि भाले कुकुरहरुको बन्ध्याकरण कार्यक्रम चलाउने भएको छ ।

यसो गर्दा कुकुरहरुको जीवनमा सहजता आउने छ भने मानिसलाई पनि समस्या पर्ने छैन । मंगलबारसम्म भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र घोराही–१४ मा शिविर चल्ने पशुशाखा अधिकृत खिमबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार कुकुरलाई रेबिज खोप पनि लगाइने छ । अहिलेलाई ३ सय वटा  कुकुरलाई रेबिज भ्याक्सिन दिइनेछ भने ५० वटा कुकुरलाई बन्ध्याकरण गरिने योजना छ । उनका अनुसार समाएर ल्याइसकेका कुकुरलाई फिर्ता नगर्ने सोंच बनाइएको छ । घर पालुवा वा सामुदायिक दुवैथरी कुकुरलाई निःशुल्क बन्ध्याकरण र खोप दिइने छ ।

त्यसका लागि डा.मनोज वली नेतृत्वको पशु चिकित्सकको टोली खटिने भएको छ । विहान ११ बजेदेखि दिउँसो तिन बजेसम्म शिविर चल्ने बस्नेतले जानकारी दिए । यसक्रममा रेबिज खोप सबैलाई र बन्ध्याकरण भालेलाई मात्रै गरिने भएको छ । बन्ध्याकरणका लागि घोराही उपमहानगरका जुनसुकै स्थानबाट पनि कुकुरहरु ल्याउन सकिने छ ।

होटेलका खानाहरु बुंगुरका दानाका लागि प्रयोग भइरहेको र दिशा सेफ्टी ट्यांकीमा फाल्न थालिएपछि कुकुरका लागि आहारको कमि हुँदै आएको छ । भोककै कारण सुत्केरी भएका कुकुर्नीहरु भोकले मानिसहरुप्रति आक्राकमक देखिन थालेका छन् ।

यसैबिच डा.वलीले भाले कुकुरले कुकुरको संख्या बृद्धि गर्न महत्वपूर्ण भूमिका रहेका बेला बन्ध्याकरणपछि कुकुरको आक्रामकता पनि न्युन हने,  कुकुरको संख्या घट्ने तर स्याल लखेट्नमा भने कमि नआउने बताए । भालेलाई बन्ध्याकरण गरेपछि भने उनीहरुको संख्या बृद्धि हुन रोकिने उनको भनाई रहेको छ ।

गत बिहीबार एउटा बहुलाएको कुकुरलाई घोराहीको निमा चलचित्र हल नजिकैबाट नियन्त्रणमा लिइएको थियो । किन कि त्यसले ठूलै संख्यामा मानिसलाई टोकेको थियो । सो  कुकुरले अरु कुकुरलाई पनि टोकेको हुनसक्ने प्राविधिकले अनुमान गरेका छन् । त्यसरी कसैलाई टोकेको छ भने तिनदेखि सातवटा खोप लगाउन बस्नेतले आग्रह गरे । त्यसरी खोपको मात्रा पुरा भएपछि बहुला कुकुरले टोकेको कुकुर बहुलाउने खतरा रहन्न ।

त्यसरी टोकेको पोष्ट वाईट कुकुर बाहेक बहुला कुकुरले नटोकेको प्रिवाइट कुकुरलाई खोप लगाइने छ । जन्मेको तिन महिनादेखि माथिका सबै कुकुरलाई खोप लगाउन मिल्नेछ भने यसको म्याद एक वर्ष रहनेछ । अघिल्लो वर्ष खोप लगाएका र खोप लगाउन एक दुई महिना समय बाँकी रहेकालाई पनि लगाउन सकिनेछ । निजि स्तरमा बन्ध्याकरण गर्दा भाले कुकुरलाई एक हजार पाँच सय र पोथीलाई तिन हजार पाँच सयदेखि चार हजारसम्म खर्च लाग्छ ।

आकश्मिक रोग नियन्त्रण कार्यक्रमबाट ५० हजार बजेट खर्च गर्न लागिएको शाखाले जनाएको छ । बजेट अपुग भएमा घोराही उपमहानगरपालिकाले व्यवस्था गरिदिने आश्वासन दिएको छ । बन्ध्याकरण गर्दा कुकुर व्यहोस बनाउने, चिर्ने, घाउ सिलाउने, उठाउने लगायत मानिसलाई जस्तै अप्रेसन गर्ने विधि चाहिन्छ । त्यसो गर्दा सर्जिकल उपकरण सहित दक्ष जनशक्तिको आवश्यक पर्छ ।