कोरोनाको नयाँ भ्यारियन्ट ओमिक्रोनले नेपालमा तेस्रो संक्रामक लहर ल्याइरहेका बेला महंगीले आकाश छुन पुगेको छ । भान्सामा साँझ बिहान पाक्ने तरकारी, भात, नून तेल, बेसार र दालको भाउ छोइनसक्नुको हुँदै गएको छ ।
यति मात्र जोहो गरेर पनि खान सकिने अवस्था छैन । ग्यासको भाउ निकै बढेको छ । काठमाडौंमा पिउने पानी किन्नु पर्ने समस्या पहिले देखिकै हो । त्यसमा पनि कोठा भाडामा बस्नेका लागि हरेक महिना कोठाको भाडाले निकै रुवाउने गरिरहेको छ ।
बाहिर सामान महंगिएसँगै घरभाडामा पनि बृद्धि गरिने चलन यथावत् छ । यसले आर्थिक पीडाका बखत उल्टै आहत पुर्याउँदै आइरहेको छ । सर्वसाधरणका लागि चामल किनेपछि तरकारी किन्न सकिने अवस्था छैन । तरकारी किनेपछि नूनतेल किन्न सकिने आँट नै आउँदैन ।
महामारीले थलिएका बिरामी बिहान उठेर तातोपानी तताएर पिउनसक्ने अवस्था छैन । ग्यास प्रतिसिलिन्डर १५७५ रुपैयाँ पुगिसकेको छ । सूर्यमुखी तेलले २५५ रुपैयाँ छुन पुगेको अवस्थामा चामल १७०० रुपैयाको २५ केजी सरदर पर्न आउँछ । धारा तोरीको तेल प्रतिकेजी ३७० भैसकेको छ । कालो मासको दाल १७० रुपैयाँको सीमामा उक्लिएको छ ।
सर्वसाधरणको साँझबिहानको हातमुख जोड्ने प्रक्रिया आफैमा कतै असंभव त हुने होइन भन्ने संभावना बढेर गएको छ । उता ओमिक्रोन महामारी संक्रमणको ग्राफ पछाडि फर्केर नहेरी निरन्तर उकालो चढिरहेको छ । सर्वसाधरासँग पिसिआर परीक्षण गर्ने रकम पनि छैन । त्यसैले उनीहरु घरमै अघोषित आइसोलेशनमा बस्न बाध्य छन् ।
अर्कोतिर महामारीको भुंग्रो सल्किइरहेकाले आम जनतामा रोग प्रतिरोधी शक्ति शरीरमा हुनु जरुरी छ । यति बेला सन्तुलित आहाराको जरुरी हुन्छ । तर सामान्य हातमुख जोड्न पनि निकै कठिनाइ भैरहेको छ । जीउनका लागि गरिएका ससाना व्यापार व्यवसाय पनि निकै प्रभावित हुँदै गैरहेका छन् ।
अल्पविकसित देशहरुको अर्थतन्त्र आफैमा परनिर्भर हुने प्रकृतिको हुन्छ । यसैको कारण हो, नेपालको सरकार पनि जनताप्रति जवाफदेही हुने हैसियत राख्न सकिरहेको छैन । बजारमा बिचौलियाको मनोमानी छ ।
सिंगो अर्थतन्त्र विश्वको खुल्ला बजार अर्थतन्त्रबाट पूरै प्रभावित छ । स्वदेशी उत्पादन निकै न्युन हुँदै गैरहेकाले त्यसको प्रत्यक्ष असर जनताको आर्थिक क्रियाकलाप तथा दैनिक जीवनमा परिरहेको छ ।
संविधानतः गास, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका कुराहरु माौलिक अधिकारका रुपमा परिभाषित गरिए पनि ती व्यवहारतः कार्यान्वयन हुन गाह्रो भैरहेको छ । रातारात पेट्रोल डिजेललगायतका कुराहरुमा थप मूल्य बृद्धि भैरहेको छ । यसले सार्वजनिक बसभाडामा समेत बृद्धि भएर आवतजावतमा थप आर्थिक समस्या ल्याइदिएको छ ।
यी सबैका बाबजुद सरकारले कम्तिमा पनि कोरोना महामारी संक्रमणका समयसम्मका लागि गरीब तथा न्युन आय भएका जनताका बीचमा सेवा तथा राहत पुर्याउनका लागि संघीय, प्रादेशिक तथा स्थानीय सरकारमार्फत् वास्तविक राहत पाउनु पर्ने जनताका बीचमा खाद्यलगायतका आवश्यक सामग्री पुर्याई भोको पेटलाई समयमै सम्बोधन गरियोस् ।