• मंसिर २० २०८१, बिहीबार

चरित्र (लघुकथा)

माघ ८ २०७८, शनिबार

लीलाराज दाहाल ।
निकै लामो दौडधुप र केन्द्रीय नेताहरूको परिक्रमापछि वीरबहादुरको जिल्ला स्तरको नेताबाट केन्द्रमा बढुवा भयो । उसको अनुहारमा मुस्कानको लहर दौड्न थालेको थियो । ऊ अब उमङ्गको पंखा हम्केर बस्न थाल्यो ।

उसको बढुवासँगै उसको दिनचर्या पनि बदलियो । ऊ अब सधैं अन्तरकृया, गोष्ठी, सेमिनारहरूरु व्यस्त हुन थालेको थियो । सधैं निराशाको आसनमा रहने ऊ अचानक खुशी देखिन थाल्यो ।
उसलाई पत्रकारहरुले पनि प्रखर वक्ताका रूपमा स्वीकार्न थालेका थिए । घरेलु हिंसा, महिला हिंसा, चेलीबेटी बेचबिखन, लागू औषध जस्ता सामाजिक विकृतिहरूका बारेमा ऊ सशक्तरूपमा भाषण दिन थालेको थियो ।

एक दिन खुलामञ्चमा महिला हिंसा विषयक एक भव्य कार्यक्रमको आयोजना भएको थियो । कुनै ठूलै एनजिओद्वारा प्रायोजित उक्त कार्यक्रममा उसलाई पनि वक्ताका रूपमा आमन्त्रण गरिएको थियो । उसको पालो आउनासाथ उसले मञ्चको अग्रस्थानमा उभिएर अति जोशिलो भाषण गर्यो ।

‘आदरणीय जनसमुदायहरू ! आज हामी अत्यन्तै संवेदनशील अवस्थामा छौं । आज हामी माझ परम्परागत कुरीति, विकृति, विसंगतीले गर्दा देशको विकास हुन सकिरहेको छैन । वालविवाह, यौन दुव्र्यवहार र दाइजो प्रथाले गर्दा महिला दिदीबहिनीहरू आक्रान्त बनेका छन् । उनीहरू आत्महत्या गर्न विवश छन् । जिउँदै जलाइएका छन् । जबसम्म महिलाहरू सशक्त हुँदैनन्, जबसम्म उनीहरूको आत्मसम्मानलाई सबैले स्वीकार गर्दैनन् तबसम्म देश विकास हुँदैन । म यति भन्दै …………।’

उसको भाषण सकिने विबत्तिकै दर्शक दिर्घाबाट आएको तालीको गडगडाहटले वातावरण नै उत्साहित भयो । मानिसहरूले नेता हुनु त वीरबहादुर जस्तो हुनु भनेर खुलेरै प्रशंसा गर्न थालेका थिए । यस्तो नेता भए मात्र देश विकास हुन्छ भनेर सबैले तारिफ गरे ।

एक महिला दर्शक दिर्घको पछाडि तीनवटी छोरी च्यापेर रुंदै थिई,‘विहेमा दाइजो ल्याउन नसकेकी र छोरी मात्रै जन्माएकी भनेर चरम यातनाका साथ घरबाट निकालिएकी हुँ । म त्यही नेताकी श्रीमती हूँ जो आहिले मञ्चमा महिला हकको बारेमा कुर्लेर भाषण गरिरहेको छ ।’

बागमती–११ कर्मैया, सर्लाही