• असार १३ २०८१, बुधबार

ओमिक्रोनका लक्षणहरु के के हुन् ?

माघ ८ २०७८, शनिबार

काठमाडौँ । नेपालले अहिले कोरोना भाइरसको तेस्रो लहरको कहर खाइरहेको छ । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो तेस्रो लहरको कहर पनि अहिले उच्च अवस्थामा रहेको छ ।
केही दिनयता कोरोना भाइरसको नयाँ भिरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्दै जाँदा देशमा सङ्क्रमण बढेर फेरि देशमा भाइरसका सङ्क्रमितको सङ्ख्या ६५ हजार नाघेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार सङ्क्रमणको यो अवस्था अब एक हप्तासम्म रहने र त्यसपछि क्रमशः ओरालो लाग्ने पूर्वानुमान मन्त्रालयले गरेको छ ।

अहिलेको तेस्रो लहरको कहरमा कोरोना भाइरसको खोप नलगाएका मानिसमा अस्पताल भर्ना हुने र ज्यान गुमाउने अनुपात बढी रहेको समेत मन्त्रालयले बताएको छ । नयाँ भेरियन्ट ओमिक्रोनसँगै देशमा मौसमी फ्लुका पनि बिरामी देखिएको स्वास्थ्य क्षेत्रका जानकारहरुले बताउने गरेका छन् ।
मौसमी फ्लु र ओमिक्रोनका बिरामीहरुमा उस्तैउस्तै लक्षण देखिएको कारण मौसमी रुघाखोकी लागेका मानिसहरु समेत कतै ओमिक्रोन नै भयो कि भनेर डराउने गरेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल युनिटका प्रमुख शेरबहादुर पुन बताउँछन् ।
उनी भन्छन् ’ओमिक्रोन भेरियन्ट र हरेक वर्ष जाडो मौसममा देखिने स्वास्थ्य समस्या धेरै हदसम्म समान रहेको छ ।’

स्वास्थ्य क्षेत्रका जानकारका अनुसार मौसमी रुघाखोकी हो कि नयाँ भेरियन्ट ओमिक्रोन हो भनेर यसै छुट्याउन नसकिए पनि ओमिक्रोनका लक्षणहरु यस्ता रहने गरेको बताउँछन् ।

नाकबाट पानी बग्ने, टाउको दुख्ने, शरीर गल्ने, हाच्छिउँ आउने गर्नुका साथै घाँटी दुख्ने जस्ता लक्षणहरु यसका आमलक्षण रहेका छन् । त्यस्तै निरन्तर खोकी लाग्नु, उच्च ज्वरो आउनु, स्वाद र गन्ध हराउनु पनि यसका लक्षण रहेको बताइएको छ ।

त्यस्तै गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारी रुघाखोकी, सास फेर्न गाह्रो हुने, घाँटी खसखस गर्ने, टाउको दुख्ने वा पखाला लाग्ने जुनसुकै लक्षण भए पनि सबैभन्दा पहिले महामारीको समयमा भएकाले आफू कोभिड संक्रमणकै चक्रमा रहेको छु भनेर बुझ्नुपर्ने बताउँछन् ।