केटाकेटीहरु युवास्थामा प्रवेश गरेसँगै विपरीत लिंगप्रति आकर्षित हुने गर्दछन् । युवा अवस्था अलि संवेदनशील हुने गर्दछ । उनीहरु युवा अवस्थाको सुरुको अवस्थामा केही अलमल हुने गर्दछन् ।
यो पुस्ताका युवायुवती विपरीत लिंगप्रति रोमाञ्चित हुने, रमाइलो गफ गर्ने, घुमघाम गर्न मन पराउने, गम्भीर प्राकृतिका भन्दा पनि हल्का र रमाइला वातावरणमा रमाउन मन पराउने गर्दछन् ।
उनीहरु आफ्नो उमेरका साथी बनाउने, बारम्बार भेट्ने र मीठा रमाइला कुरा गर्न मन पराउँछन् । युवा अवस्थाको विकाससँगै उनीहरुमा यौन चाहना पनि बढिरहेको हुन्छ र विपरीत लिंगप्रति प्रेमभाव पनि बढ्दै जान्छ ।
युवायुवती मेलाजात्रा, घाँस–दाउरा, गाउँवेशी, वन जगलतिर गोठाला जाँदा, कोल पेल्न र घट्टमा पिस्न जाने जस्ता स्थानमा भेटघाट गरी बाजा लाग्दै (गीत गाउँदै) मायाप्रेमका भाव प्रकट गर्ने प्रचलनलाई छोट्टी बस्ने प्रथा भनिन्थ्यो । यो प्रथा राप्तीका पहाडी जिल्लाहरु तथा त्यसभन्दा पश्चिमतिरका पहाडी जिल्लाहरुमा अझैपनि केही मात्रामा कायमै रहेको पाइन्छ ।
छोट्टी प्रथालाई कक्कर खाने पनि भनिन्थ्यो । बुढापाकाका अनुसार उतिबेला छोट्या छोट्टी भेटहुँदा खाने निहुँमा मायाप्रिति कुरा गर्थे । कक्कर भनेको सूर्ति वा भुस्यालाई पातडाँठसहित सुकाएर धुलो बनाएको सूर्तिजन्य पदार्थ हो ।
यसलाई माटाको चिलिममा भरेर चुरोट सल्काएर खाए झैं खाने हो । यही कक्करको बहानामा आफ्नी प्रेमीसँग माया प्रेमका भाव व्यक्त गर्ने प्रचलनलाई कक्कर खाने भनिन्थ्यो ।
गाउँघरमा कसैको बिबाह, पूजा र ब्रतबन्ध भएमा युवा युवतीलाई भेट्न सजिलो हुन्थ्यो । युवालाई छोर्याट्टा वा छोट्या र युवतीलाई छोट्टी भन्ने चलन थियो । पुरुष प्रधान समाज भएकाले छोट्ट्याहरू छोट्टी भएको ठाउँमा जाने प्रचलनलाई छोट्टी बस्न जाने भनिन्थ्यो ।
युवायुवती कहिलेकाँही कुनै निश्चित ठाउँ, मिति र समय तोकेर भेट्ने गर्थे, जसलाई ‘ठगान राख्ने’ र भेट्ने ठाउँलाई ‘बाजथला’ भन्ने गरिन्थ्यो । छोट्टी बस्ने काम अभिभावकको आँखा छलेर वा लुकिछिपी हुने गर्दथ्यो ।
युवायुवतीहरु प्रायःजसो आफ्नो वा छिमेकी गाउँका चिनेजानेका इस्टमित्रका छोराछोरी हुने भएकाले अभिभावकले विश्वास गरी छोट्टी बस्न अनुमति दिन्थे । टाढाको र नचिनेको युवासँग भने छोरीलाई कक्कर खान जान स्वीकृति दिंदैनथे । कोही कोही छोट्टया छोट्टी आभिभावकको आँखा छलेर गोठाला जाँदा र मेलाजात्रामा भेट्ने गर्थे ।
युवाहरुको समूह कुनै एक युवतीको घर वा गोठमा युवतीहरूको समूहसँग साँझमा जम्मा भई कक्कर खाने, ठाउँ अनुसारका गीत गाउँदै जाँतो पिस्ने, ढिकी कुट्ने, मकै छोडाउने आदि घरायसी काम गर्दै छोट्टी बस्ने प्रचलन थियो ।
यसरी उनीहरुले रातभरि गीत गाउँदै मायप्रेमका भावहरु साटासाट गर्थे । यसरी बिबाह अघि छोट्या छोट्टी कक्कर खाने सामाजिक चलन थियो । निरक्षर भएकाले चिठीपत्र आदानप्रदान नहुने, फोन र इन्टरनेटको विकास भइनसकेकाले छोट्टी प्रथा नै प्रेमभाव प्रकट गर्ने माध्यम थियो ।
बिबाहित केटीहरु कक्कर खाने काममा समावेश भएमा त्यसलाई राम्रो मानिंदैनथ्यो । यसरी कक्कर खाँदाखाँदै छोट्टी बस्दाबस्दै हित्तचित्त र मन मिलेमा छोट्याले छोर्याट्टीलाई पैसा वा सुन साइमासो दिने चलन थियो ।
छोट्टीले साइमासो समाएमा बिबाहका लागि पक्का भएको मानिन्थ्यो र पछि बिबाह हुन्थ्यो । जात नमिल्ने छोट्या छोट्टीले भागी बिबाह गर्थे । र, कुनै जोडीलाई गाउँठाउँ नै छोडेर जान बाध्य पारिन्थ्यो ।
छोट्टी प्रथा अब समयानुसार परिवर्तन भएको छ । आजभोलि प्रेमीप्रेमिका भेट्ने चलनलाई डेटिङ जाने भन्दछन् । आजभोलि युवायुवती बिद्यालय तथा क्याम्पसका विभिन्न गाउँका साथीहरुसँग भेटघाट हुन्छन् ।
त्यही भेटघाट हुँदाहुँदै एक अकोप्रति आकर्षित हुन्छन् र चिठीपत्र, फोन तथा भिडियो च्याटबाट मायाप्रेमका भाव प्रकट गर्छन् । उहिले छोट्टी प्रथा समूहमा हुने गथ्र्यो भने आजभोलि एक्लाएक्लै लुकिछिपी, एकान्तमा ठाउँ, पार्क, होटल, घरका कोठामा डेटिङ जाने गर्छन् ।
डेटिङ चिनेजानेका परिवारका छोराछोरी बिच र पारिवारिक चिनजान नभएका परिवारका छोराछोरी बिचपनि हुने गर्छ । छोट्टी प्रथा झैं ठाउँ, मिति र समय तोकी युवायुवतीहरु डेटिङ जाने चलन छ ।
शिक्षा र प्रविधिको विकाससँगै माया साटासाट गर्न सजिलो भएपनि छोट्टी बस्नभन्दा डेटिङ जान सजिलो भए तापनि एक्लाएक्लै एकान्त र सुनसान ठाउँमा गरिने डेटिङले यौन हिंसाका साथै हत्यासम्मका घटनाहरु घटेको पनि देखिन्छ ।
छोट्टी प्रथाको जस्तो अनुशासन नभएको र पारिवारिक सम्बन्ध साइनो नभई छोटो भावनात्मक सम्बन्धले जुराएका डेटिङहरु सुरक्षित भएका देखिंदैनन् । एक्लाएक्लै एकान्तमा गरिने डेटिङले यौन हिंसा, बलात्कार र अनैतिक शारीरिक सम्पर्कले गर्भधारण गरेकादेखि हत्यासम्मका घटना भएको पनि पाइन्छ ।
यसरी डेटिङ जाने चलनले चोखो छोट्टी प्रथालाई बदनाम गरेको छ । आफ्नो प्रेमभाव प्रकट गर्दा प्रयोग गरिन प्रविधिको दुरुपयोग र एकान्तमा एक्लाएक्लै गरिने डेटिङले यौन हिंसा बढाएको देखिन्छ । यसमा युवती र तिनका अभिभावक बढी सजग हुनुपर्ने देखिन्छ ।