घोराही ८, माघ ।
कुनैपनि समुदायको पहिचान भनेको उसको भाषा, संस्कृति र भेषभूषा आदि हुन् । आज संसारमा सबैले आआफ्ना जातिका भाषा र संस्कार बचाउन लागिपरेका छन् । तर नेपालमा विभिन्न जातिहरुको संंस्कृति बचाउने भन्दै संग्रहालय बनाउने गरेको पाइन्छ । तर यसका अभियन्ता तथा अगुवाहरुले के कुरामा ध्यान दिएका छैनन् भने कुनैपनि जातिको संस्कृति संग्रहालयमा थन्क्याएर होइन, बरु जीवन व्यवहारमा लागू गरेर मात्रै जोगाउन सकिन्छ ।
हो, इतिहासको संरक्षणका लागि संग्रहालयमा पनि राख्नुपर्ने हुन्छ, जस्तै नारायणहिटी संग्रहालय आदि । तर मानिसका निश्चित समूदाय जो आज पनि आफ्नो भाषा बोलिरहेका छन्, आफ्नो संस्कृति मानिरहेका छन् र ती चिज नै उनीहरुको हालको जीवन हो भने ती चीजलाई किन संग्रहालयमा थन्क्याउने ? बरु तिनलाई त कसरी वैज्ञानिक र व्यवहारीक बनाउने भन्ने पो सोच्नु पर्दछ त ।
आज कतै न कतै यो बहस पनि चलेकै छ । यस्तै बहसका बिचमा दाङको घोराही उपमहानगरपालिका–७ सिसहनियाँमा रहेको ‘नमुना थारु ग्राम’ संरक्षणको अभावमा जिर्ण बन्दै गएको समाचार आएको छ । तत्कालीन जिल्ला विकास समिति, दाङले करिव सवा तीनलाख रुपैयाँ खर्च गरेर थारु गाउँको घोषणा गर्दै बनाएका ५ वटा नमूना घरहरु प्रयोग विहीनमात्रै छैन, जीर्ण पनि बनेका छन् ।
०६५ साल चैत्र महिनामा ३ लाख १५ हजार रुपैयाँ खर्च गरेर बनाइएका ती घरहरु अहिले थोत्रिएर छानो चुहिने, भित्ता मक्किएका तथा बेवारिसे अवस्थामा पुगेका छन् । थारु बाहुल्यता रहेको सिसहनियाँ गाउँको दक्षिणतिर बबई नदी छ । छेवैमा सामुदायिक वन क्षेत्र छ । त्यसैको आडमा लस्कर लगाएर बनाइएका छन् थारु रहनसहन र परिवेश झल्कने उत्तर दक्षिण फैलिएका घरहरु ।
१३ दश वर्ष पहिले थारु समुदायको संस्कार, संस्कृतिको संरक्षण र पर्यटकहरुलाई आकर्षण गर्दै अध्ययनको थलो बनाउने र त्यहाँको पहिचान प्रचार प्रसार गर्ने उद्देश्य केवल भनाईमा मात्रै सिमति हुन पुगेको छ । थारु नमूना घरहरु संरक्षणको अभाव र उचित रेखदेख अभावमा अलपत्र परेका छन् ।
जिल्ला विकास समिति दाङले स्थापना गरेको नमूना थारु ग्राममा अपर्याप्त सहयोग र सम्झौता अनुसार कार्यान्वयन हुन नसक्दा जीर्ण अवस्थामा आइपुगेको स्थानीय थारुहरु बताउँछन् । शुरुवाती चरणमा नमुना थारु ग्राम स्थापना गर्नेबेला थारु समुदायको परम्परागत थारु घर, बालविकास केन्द्र, थारु संग्रहालय, उद्यान लगायत स्थापना गर्ने सम्झौता भएपनि ती कुरा केवल भनाईमा सिमित हुँदा नमुना थारु ग्राम अलपत्रको अवस्थामा आइपुगेको नमूना थारु ग्रामका अध्यक्ष बेझलाल चौधरीले जानकारी दिए ।
थारु संस्कृतिक झल्काउने विभिन्न थारु नाचको लागि थारु पहिरन भेषभूषा, मादल, शुद्ध खानेपानी, मोटर बाटो, सिंचाई, विद्युत, जीवन शैली झल्कने औजार, सामान, पूजा गरिने देवी देवता तथा उठबसका क्रममा प्रयोगमा आउने वस्तुहरु लगायतको व्यवस्था गर्ने सम्झौता भएको चौधरीले बताए ।
“शुरुमा हामीले निकै उत्साहका साथ यसको संरक्षण र विकासका लागि मेहनत गर्यौ तर, अझैसम्म थारु परम्परागत थारु घर र थारु नाचको लागि नाच्ने थारु पहिरन र मादल बाहेक अरु केहि सहयोग कार्यान्वयन हुन सकेनन्, अनि कसरी काम हुन्छ” उनले भने । परम्परागत थारु संस्कृति झल्कने घर बनाउने कुरा पनि यस्तै भएको बताउँदै उनले बनेर पनि जीर्ण अवस्थामा उभिएका थारु घर नाम मात्रको रहेको बताए ।
आफ्नो गाउँमा थारु समुदायको पहिचान झल्काउने उद्देश्यले नमुना थारु ग्राम स्थापना हुनु सिंगो थारु समुदायका लागि गर्वको कुरा भएपनि सम्झौता अनुसार काम हुन नसक्दा दुःख लागेको चौधरीले गुनासो पनि गरे । संरक्षणका लागि बजेट अभाव र थारु समुदायका व्यक्तिहरुकै चासो नहुँदा पनि नमूना थारु घरहरु जिर्ण र बेवारिसे अवस्थामा पुगेको छ । “सरकारले सहयोग गरे पनि हाम्रा समुदायले पनि महत्व बुझेनन्, हामी बुढापाकाले के गर्ने ? युवाहरु सबै विदेश र बजार ताक्छन्, यो घर कसले स्याहारी देओस् र सबैले हेर्न लायक बनोस्” उनले भने । पहिले पहिले यसका बारेमा चासो राख्नेहरु आउने र बुझेर जाने गरेकोमा केही वर्षयता नमूना थारु ग्राम हेर्न भन्दै कोही पनि जाँदैनन् ।
घोराही–७ का वडाअध्यक्ष खोपीराम चौधरीले पनि जुन उद्देश्यले बनाइएको हो त्यही ढंगको संरक्षण हुन नसक्दा अहिले अलपत्रको अवस्थामा आइपुगेको बताए । “सिसनियाँमा थारु नमुना ग्राम छ भनेर प्रचार भयो, त्यहि अनुसार विभिन्न ठाउँबाट पर्यटक पनि आए तर भनेको जस्तो नहुँदा पर्यटकहरु निरास भएर फर्किएपछि बिस्तारै सबैको चासो कम हुन गएको छ” उनले भने ।
यसको संरक्षण गर्न भन्दै वडाबाट बजेट विनियोजन नभएपनि पालिकाले अघिल्लो वर्ष विनियोजन गरेको बजेट पनि कार्यान्यवन हुन नसकेको उनले बताए । यस्तै, थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी थारु ग्रामलाई सबैले उत्थान गर्नुपर्ने बताउँछन् । एउटा जातिसँग जोडिएको भए पनि यो साझा सम्पत्ति भएको बताउँदै साझा सम्पत्तिलाई बचाउने र उत्थान गर्न सबैले अग्रसरता लिनुपर्ने धारणा राखे । अवलोकनका लागि आएका आगन्तुकलाई घोंगी, माछा, माड, जाँड, स्थानीय कुखुराको मासु अनि विभिन्न अचार र तरकारी लगायतका परिकार खुवाएर पठाउने परिकल्पना पनि बनाइएको थियो ।
छेवैमा रहेको बबई नदीलाई आधार बनाएर रिसोर्ट बनाउने, बाल उद्यान बनाउने, थारु घरहरु मौलिक शैलीमै निर्माण गर्ने भनिए पनि सम्बन्धित समुदायको चासो कम हुनु र सरोकार निकायले ध्यान नदिँदा सार्वजनिक सम्पत्ति अहिले घर न घाटको अवस्थामा पुगेको छ ।
करिव २ सय बढी घरधुरी संख्या रहेको सिसहनियाँमा थारु समुदायमा थारु संस्कृति, भेषभूषा र परम्परा बिस्तारै लोप हुने खतरा पनि बढेको छ । नयाँ पुस्ता आधुनिक संस्कृतिमा भुलिरहेका बेला सिसहनियाँको पुरानो पुस्ता भने आफ्नो जातिको पहिचान हराउँदै गएकोमा पुराना पुस्ता भने चिन्तित छन् । हाल दुईवटा घरमा सुकुम्बासीहरुलाई रेखदेखका लागि बसालिएको छ । पाहुनालाई बसाल्ने र आफ्नो संस्कार र संस्कृितका बारेमा जानकारी गराउने उद्देश्यले बनाइएका घरमा बस्नेहरुले सुंगुर पालेका छन् ।
त्यसैले ती घरमा बाहिरका मानिसहरु नपसेको धेरै भैसकेको छ । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७–०७८ मा सो क्षेत्रको डिपीआर तयार पार्न भन्दै ५ लाख बजेट विनियोजन गरेको थियो तर, डिपिआरको काम हुन नसक्दा बजेट फ्रिज गयो । यो वर्ष भने पालिकाले कुनै शीर्षकमा बजेट छुट्याएको छैन ।
“पालिकाले दिएको बजेट पनि कार्यान्वयन हुन सक्दैन, त्यसैले यो वर्ष त्यहाँको लागि बजेट राखिएन” प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले भने । करीव ५ विगाहा क्षेत्रफल नमूना थारु ग्रामको नाममा रहेको छ । बनाइएको थारु संग्रहालय भने करीव १ बिगाहामा रहेको छ । जीर्ण अवस्थामा उभिएका घरमा मिथिला कला शैलीमा बनाइएका विभिन्न जनावर र औजारहरुको कलाकृति देख्न पाईन्छ । तर, कला, सीप र संस्कृतिलाई कसरी जोगाउने भन्नेमा कसैको गम्भीर रुपमा ध्यान जान सकेको छैन । जसले गर्दा अतिक्रमण बढ्ने र सार्वजनिक सम्पत्ति हराउने खतरा बढेको छ ।