• असार १८ २०८१, सोमबार

सेल्फी खिचेरै करोडौं कमाउन सफल यी युवा !

माघ ७ २०७८, शुक्रबार

काठमाडौं । धनी बन्ने प्रत्यक मानिसको सपना हुन्छ । ऊ आफूसँग घर, गाडी सहितको सुखमय जीवन होस् भन्ने चाहन्छ तर यस्तो चाहना धेरैको अत्यधिक मिहिनेत पश्चात् पूरा हुने गर्छ । तर कतिलाई भने यसमा भाग्यले पनि साथ दिने गर्छ । तीमध्ये एक हुन्, इन्डोनेशियाका एक २२ वर्षीय विद्यार्थी ।

इन्डोनेशियाको सेमाराङ्गमा बस्ने सुल्तान गुस्ताफ अल घोजालीले पाँच वर्षको अन्तरालमा खिचेको आफ्नो सेल्फीबाट करोडौँ आर्जन गरेका छन् । कम्प्युटर विज्ञानका विद्यार्थी उनले करिब हजारवटा सेल्फी नन फन्जिबल टोकन्स नामको डिजिटल कलेक्टिबल्समा राखे र यसलाई ओपन सी मार्केटप्लेसमा बिक्रि गरिदिए ।

सुल्तानले १८ वर्षदेखि देखि २२ वर्षसम्म दैनिक आफ्नो कम्प्युटर अगाडि कुनै प्रतिक्रिया बिना बसेर वा उभिएर सेल्फी खिचे । त्यसपछि उनले आफ्नो ती फोटो एनएफटीमा परिणत गरे र विक्रिका लागि ओपनसीमा राखे । उनले आफ्नो प्रत्यक फोटोको मूल्य ३ डलर राखे ।

सुल्तानको एनएफटी कलेक्सन १० लाख डलर (१२ करोड रुपैयाँ) पुग्यो । यसले उनलाई रातारात करोडपति बनाएको लाइफस्टाइल एसियाले जानकारी दिएको छ ।

सुल्तानले एक ट्वीट गर्दै आफ्नो फोटोको दुरुपयोग नगर्न आग्रह गरेका छन् ।  ‘तपाईंले फोटो फिलपिङलगायत गर्नसक्नु हुन्छ तर कृपया मेरो फोटोको दुरुपयोग नगर्नुहोस् नभए मेरा आमाबुवा मसँग रिसाउनुहुन्छ । म तपाईंहरुलाई विश्वास गर्छु, कृपया मेरो फोटोको केयर गरिदिनुहोला,’ उनले भने ।

सुल्तानका कतिपय फोटो त ३ हजार डलर (३ लाख रुपैयाँ)मा समेत बिक्रि भयो । उनले आफ्ना सेल्फीको भिडियो कोलाज युट्युबमा पनि अपलोड गरेका छन् । लाइफस्टाइल एसियाले प्रकाशित गरेको समाचारमा उल्लेख छ ।