• मंसिर ७ २०८१, शुक्रबार

घुम्दै आए अन्तरीक्षयानलाई ठक्कर दिने फोहरहरु

माघ ७ २०७८, शुक्रबार

काठमाडौं । फोहर जहाँका पनि हानीकारक हुन्छन् । तर पनि अन्तरीक्षमा रहेका फोहर दीर्घकालसम्म हानीकारक हुन सक्ने देखिएको छ । यसको मुख्य कारण हो, फोहर कुहिएर वा अरु केही कारणले नष्ट हुन नसक्नु । अन्तरीक्षमा फ्याँकिएका फोहर पनि पनि त्यस्तै रहिरहन्छन् । त्यहाँ न हावा छ, न पानी, न जीवाणु छ न त विषाणु ।

‘स्पेस’ गतिविधिमा क्रियाशीलता आउन थालेसँगै अब अन्तरीक्षमा पनि फोहर देखिन थालेको छ । त्यहँ पनि काम नलाग्ने कुडाकर्कटको थुप्रो लाग्ने हुन गएको छ । पछिल्लो समयमा अन्तरीक्ष यात्रुहरु ओसारपसार गर्ने, त्यसलाई पर्यटनको स्वरुप दिने गर्दा पनि यो समस्याले स्थान पाएको हो ।

योसँगै अझ डरलाग्दो कुरा त के भएको छ भने वस्तु वा पदार्थजन्य फोहर वा टुक्रा अन्तरीक्षमा छाडियो भने यो एकै ठाउँमा नरहेर घुम्न थाल्छ । त्यसले आफ्नो नजिकै रहेको पिण्डलाई परिक्रमा गर्न थाल्छ । त्यसैले यसले बढी जोखिम र दुर्घटना निम्त्याउने हुन जान्छ ।

अहिले भर्खरै त्यसो हुन पुगेको छ । अन्तरीक्षमा प्रक्षेपित चिनियाँ स्याटलाइटले अहिले यस्तै अन्तरीक्ष फोहरको सामना गरेर आफ्नो गन्तव्यका लागि तय गरिएको यात्रामा सफलता हात पारेको छ ।

लामो समयदेखि अन्तरीक्षमा रहिरहेको रुसको पुरानो जासुसीयन्त्र सहितको काम नलाग्ने स्याटेलाइटलाई पृथ्वीबाट मिसाइल प्रहार गरेर बिष्फोट गराएको थियो । यो बिष्फोटबाट उक्त यन्त्र १५०० भन्दा बढी टुक्रामा परिणत भएको थियो ।

त्योमध्ये एउटा ठूलो टुक्रासँग मुस्किलले जोगिएर चिनियाँ अन्तरीक्ष यानले गन्तव्य तिरको यात्रा तय गरेको थियो । चिनियाँ अन्तरीक्ष एजेन्सीले यसलाई आफूहरुको ठूलो उपलब्धी मानेको छ । चीनका वैज्ञानिकले पनि ठक्कर हुनबाट यानलाई जोगाउन निकै असरदार मिहिनेत गर्नु परेको स्वीकार गरेका छन् ।

यो फोहरको टुक्रो साढे १४ मीटर लामो रहेको छ । यसले आफ्नो वस्तुगत तौल अनुसार पृथ्वीको वरिपरि परिक्रमा गर्ने गरिरहेको छ । यस्ता टुक्राहरुले आगामाी दिनमा निकै ठूल्ठूला समस्या निम्त्याउने देखिएको छ । चाइना नेशनल स्पेस प्रशासनको अन्तरीक्षमा निगरानी राख्ने संस्थाले दिएको जानकारी अनुसार मंगलबार सिंघुवा साइन्स स्याटलाइट यो टुक्राको संभावित ठक्करबाट मुस्किलले बचेको छ ।

गत वर्ष नोभेम्बरमा रुसको एन्टीस्याटलाइट मिसाइल परीक्षण मार्फत् पुरानो स्याटलाइट ध्वस्त पारेपछि हाल अन्तरीक्षमा यत्रतत्र छरिएर घुमिरहेका ती टुक्राहरुबाट समस्या सिर्जना भैरहेको छ ।