काठमाडौं । परिषद्ले जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिर, विवाहमण्डप, गंगा आरतीस्थल, गंगासागर तथा बाराको गढीमाई र सप्तरीको छिन्नमस्ता मन्दिरमा डिजिटल लाइटिङका लागि १३ करोड लियो । तर, जानकी मन्दिर, लक्ष्मण मन्दिर र विवाहमण्डप तीन ठाउँमा मात्रै लाइटिङ गरेको छ ।
यसमा पनि स्टिमेटअनुसार त जानकी मन्दिरको चारैतिर लाइटिङ गर्नुपर्ने हो । तर, बाहिरपट्टि अगाडि मात्रै र भित्री भागमा प्रोग्रामिन लाइट लगाएको छ, अन्त केही गरेको छैन ।
जानकी मन्दिरमा साढे चार सय चिम जडान भएको दाबी परिषद्को छ । ७४ स्थानमा विभिन्न प्रकारका स्पिकर जडान गरेको जनाएको छ । तर, स्थलगत निरीक्षणमा उसले दाबी गरेजस्तो काम देखिँदैन ।
कार्यकारी निर्देशक ठाकुर स्टिमेट गरेभन्दा धेरै पैसा लागेकाले भनेअनुसार सबै ठाउँमा लाइटिङ गर्न नसकिएको तर्क गर्छन् ।
‘बजेट नपुगेपछि स्टिमेटअनुसार काम हुन सकेन । एक करोड रुपैयाँ हनुमाननगरमा धर्मशाला निर्माणका लागि डिपिआर तयार गर्न खर्च गर्यौँ ।
हामीले खर्चको हिसाब प्रस्ट गरेका छौँ,’ उनले भने । एउटा प्रयोजनमा निकासा भएको एक करोड विनाप्रक्रिया अन्यत्र खर्च गर्नु पनि अनियमितता हो । कार्यकारी निर्देशक ठाकुरले लेखापाल सावित्री गिरीसँग मिलेमतो गरेर अनियमितता गरेको कर्मचारीहरू बताउँछन् ।
परिषद् कार्यालयका अनुसार हालसम्म ठेकेदारलाई सात करोड ८२ लाख ४५ हजार तीन सय ५६ रुपैयाँ भुक्तानी भएको छ । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।