काठमाडौं । कोरोना भाइरसको उच्च जोखिम तथा नयाँ भेरियन्ट ओमिक्रोन तीब्र रुपमा फैलिएपछि सरकारले थप कडाइ गर्ने निर्णय गरेको छ ।
हिजो (बिहीबार) बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले नयाँ आदेश जारी गरेको हो ।
आदेश अनुसार शुक्रबार राति १२ बजेबाट यातायातमा जोरबिजोर समेत लागु हुने भएको छ । जोर गते जोर नम्बर भएका सवारी र बिजोर गते बिजोर नम्बर भएका सवारी मात्रै सञ्चालन हुन सक्ने छन् ।
यो नियम निजी र सार्वजनिक यातायातमा लागू हुने प्रशासनको आदेशमा उल्लेख छ ।
औषधि, स्वास्थ्य सामग्री, एम्बुलेन्स, दमकल, शव वाहन, ग्यास, पेट्रोलियम पदार्थ, पशुपंक्षीका दाना, अन्डा, फलफुल, खाद्यन्न, तरकारी, माछामासु बोकेका सवारी साधानमा भने जोरबिजोर लागू हुने छैन ।