• मंसिर १३ २०८१, बिहीबार

सप्तरीमा ३३ जनाको परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि

माघ ६ २०७८, बिहीबार

सप्तरी । सप्तरी जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । हाल सप्तरीमा कोरोना संक्रमित हुनेको संख्या १ सय ५४ पुगेको छ ।

सप्तरीका जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार ३३ जनाको पिसिआर परीक्षण गर्दा ३० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

उनले भने, ‘बुधबार पिसिआरका लागि ३३ जनाको स्वाब संकलन गर्दा बिहीबार ३० जनाको कोरोना पोजेटिभ देखिएको हो ।’
संक्रमित सबै जना होम आइसोलेसनमा रहेका छन् ।

जिल्लामा ज्वरोका बिरामी बढेका छन् । रुघाखोकी लाग्ने, ज्वरो आउने, जाडोले काम्ने बिरामी घरै पिच्छे रहेका छन् । उनीहरू पिसिआर परीक्षण नगरी घरमै उपचार गरेर बसेको निमित्त प्रमुख यादवको भनाई छ ।

‘सबै बिरामीले पिसिआर टेस्ट गर्ने हो भने सप्तरीमा संक्रमितको भयावह अवस्था हुन्छ । आफैं ठिक भइहाल्छ भन्ने धारणा सर्वसाधारणको रहेकोले पिसिआर प्रति चाँसो सर्वसाधारणमा नरहेको यादवको भनाई रहेको छ । कोरोना संक्रमणकै कारण सप्तरीमा एक जना महिलाको सोमबार मृत्यु भइसकेको छ,’ यादवले भने ।