काठमाडौं । विभिन्न सात विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् ।
आज केही विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन समेत गरेका छन् । सात विद्यार्थी संगठनहरूले आज एक विज्ञप्ति जारी गर्दै मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् । उनिहरुको माग अनुसार निगमले मूल्य वृद्धि फिर्ता नलिए देशभर आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।
अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल, अखिल पाँचौं अध्यक्ष पवित्रा आचार्य, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनकी संयोजक राजेश्वरी सुवेदी, राष्ट्रिय विद्यार्थी संघका नेता रन्जित निस्पक्ष, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाही, अखिल क्रान्तिकारी अध्यक्ष सुन्दर रायमाझी र राष्ट्रवादी विद्यार्थी संगठनका अध्यक्ष अनुप लामिछानेले बिहीबार संयुक्त विज्ञप्ति जारी गरेर पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् ।
नेपाल आयल निगमले बुधबार रातिदेखि पेट्रोल, डिजेल र मट्टीतेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १३९ र डिजेल तथा मट्टीतेलको मूल्य १२२ रुपैयाँ कायम गरिएको छ।
त्यस्तै आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँले वृद्धि गरेर १०६ रुपैयाँ प्रतिलिटर बनाइएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १ सय अमेरिकी डलरले वृद्धि भएको छ भने एलपी ग्यासको मूल्य यथावत छ।