नेपाली सेनामा अहिले मेरिटोक्रेसीको बहस चुलिएको छ । वरिष्ठताका आधारमा आफू अगाडि भए पनि पदावधि थपको सिफारिसमा नेपाली सेनाका उपरथी अनन्त कार्की रथीमा नपरेपछि उनले सम्बन्धित ठाउँको माथिल्लो तहमै उजुरी गरे ।
यो क्रममा उपरथी कार्कीले आफ्नै प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध प्रधानमन्त्रीसमक्ष पुगे । यो निकाय नेपालको सर्वोच्च नै हो । यसरी उजुरी दिनु आफ्नो बाध्यता भएको बताउने कार्कीले उक्त उजुरीको बोधार्थ राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि दिए ।
वरियताका आधारमा नेपाली सेनाका तीन उपरथीमध्ये पहिलो बरियतामा कार्की नै हुन् । दोस्रो र तेस्रो बरियतामा क्रमशः सीताराम खड्का र तारा पाण्डे हुन् । तर प्रधानसेनापति शर्माले कार्कीलाई पन्छाएर खड्का र पाण्डेको पदावधि थपको सिफारिस गरेर कार्कीलाई जुरी दिने अवस्थामा पुर्याए ।
प्रधानसेनापति शर्माले गत १६ पुसमा नै खड्का र पाण्डेको पदावधि थपका लागि रक्षा मन्त्रालयमा पत्र पठाइसकेका छन् । त्यस विषयमा रक्षाले आवश्यक निर्णय त लिइसकेको छैन । तर प्रक्रिया अघि बढिसकेको भने छ ।
प्रधानसेनापति शर्माको रिफारीशका बारेमा ३० पुसको मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । छलफलमा बरियताको कुरा पनि उठेको मन्त्रालयको स्वीकारोक्ति रहेको छ । ढिलै भए पनि थाह पाउने बित्तिकै उपरथी कार्की उठिबसेका छन् ।
उजुरी दिएपछि कर्मचारीमा सधैं कुरा गरिँदै आएको ‘मेरिटोक्रेसी’ को फेरि खोजी भएको छ । सेना भनेको कर्मचारी संयन्त्रभन्दा बढी अनुशासित र चेन अफ कमान्डमा रहने संगठन हो । यसमा मेरिटोक्रेसीको पालना हुनुपर्छ भन्ने आम जनताको विश्वास थियो पनि ।
तर अहिले यही फैजी संगठनभित्रबाट आफ्नै नेतृत्वविरुद्ध उजुरी परेपछि यथार्थता बाहिर आएको छ । उपरथी कार्कीले आफ्नो कुनै पनि कुरामा कमी नरहेको मूल्यांकन प्रमाण पनि पेस गरेका छन् । यसले गर्दा उजुरी परेर गल्ती हुन गयो कि भन्ने पनि देखिदैन ।
अर्को कुरा, सैन्य संगठनलाई आलोकित र निर्देशित गर्दै आएको ऐन, कानुन, नियम तथा नियमावली पनि अपूरो वा त्रुटीपूर्ण हुन सक्छन् । समयसापेक्ष परिमार्जन र संशोधनको आवश्यकता पनि हुन सक्छ ।
यसका अलावा संगठनको नेतृत्वमा रहेको व्यक्तिले मातहतका कर्मचारी साथीमाथि पक्षपातपूर्ण व्यवहार गरेको पनि हुन सक्छ । जे होस्, विश्वभर मान्दै आएको आधारभूत मान्यता मेरिटोक्रेसी नै हो । यो भनेको संगठनमा कार्यरत व्यक्तिहरुको प्रतिभा, क्षमता, प्रयत्न र गरेका कामको मूल्यांकन हो ।
मेरिटोक्रेसीमा जात, वर्ग, सामाजिक तह वा धनसम्पत्ति हेरिदैन । तर यो कुरामा सामाजिक प्रभाव भने रहन्छ । मनोविज्ञानले काम गरेको पनि हुनसक्छ । यसमा समकालीन समाज, राजनीतिक व्यवस्था र जनतामा विकास हुँदै आएको जनचेतनाले पनि काम गरेको हुन्छ ।
त्यसो त नेपालमा अहिले व्यवस्थाका हिसाबले प्रजातन्त्र छ । प्रजातान्त्रिक व्यवस्था वा प्रणाली भएकाले पनि पार्टीहरु, सरकार र सरकारी संयन्त्रहरु, राज्य मातहतका निकायहरुमा सापेक्ष प्रजातान्त्रिक व्यवहारको अपेक्षा पनि गरिदै आएको छ ।