• असार १८ २०८१, सोमबार

डाक्टरले चलाएको तालिम केन्द्रका ११ जनाले नेपाली सेनामा सफलता पाएपछि छायो खुशियाली

माघ ६ २०७८, बिहीबार

घोराही, ६ माघ ।
टेन्टमुनी बजिरहेको धमकेदार सांगीतिक धुनमा ‘द होप’ लेखिएको जाकेट लगाएका युवायुवती झुम्दै थिए । डेगमा बदलिने गीतका लय अनुसार फरक फरक व्यक्ति उठ्थे र मज्जाले धक फुकाएर नाच्ने गर्दथे ।

त्यसैक्रममा सामान्य पहिरनमा एकजना व्यक्ति गेट प्रवेश गरे र टेन्ट आसपासका केही मानिसहरु सकृय भए । उनीहरुले कुर्सी सजिलो गरी मिलाउन आदेश दिए । टेन्ट मुनीका युवा युवती थप चनाखो र सजक भए । बसाईको अवस्था बदल्दै अनुशासित र भद्र तरिका अपनाए ।

यसरी बदलिनुको कारण थियो, द होप ट्रेनिङ सेन्टर घोराहीका प्रबन्ध निर्देशक डाक्टर गिररोदन महराको उपस्थिति । सो सेन्टरले बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो । पदीय हिसाबले सबैभन्दा अगुवा महरा काम गर्नमा पनि उत्तिकै अग्रसर हुनुहुन्थ्यो । मञ्चमा कुर्सी मिलाउने, माइक फिटिङ गर्ने र विद्युतको तार जोड्नेदेखि कार्यक्रम सेटिङ समेत उहाँ फटाफट गर्नुहुन्थ्यो ।

प्रबन्ध निर्देशक डाक्टर महराको अध्यक्षता एवं नेपाली सेनाका पूर्वसुवेदार बाघसिङ् वलीको प्रमुख आतिथ्यमा कार्यक्रम शुरु भयो । ट्रेनिङ सेन्टरका ११ जनाले नेपाली सेनामा सफलता पाए पछिको खुशियालीमा कार्यक्रम आयोजना गरिएको थियो । गत नौ महिना अघि शुरु भएको सेन्टरबाट १३ जनाले नेपाली सेनाको छनौट प्रकृयामा भाग लिएका थिए । शतप्रतिशतले लिखितमा नाम निकाले र फाइनलमा ११ जना उत्तिर्ण भइ ८५ प्रतिशत अंक ट्रेनिङ सेन्टरमा ल्याए । सेन्टरको पहिलो व्याचमै अत्याधिक सफलता मिलेको भन्दै खुशी मनाएका थिए ।

यसरी उत्कृष्ठ प्रस्तुतिका साथ नेपाली सेना बन्न सफलहुनेहरुमा भूवन बुढाथोकी, सविना थापामगर, विनिता बुढामगर, विपना घर्तीमगर, विमला बहकरी, रमित बुढामगर, बिना पुनमगर, दर्शन रोकामगर, प्रेमप्रकाश मल्ल, शर्मिला पुनमगर र गोपाल घर्तीमगर रहनुभएको छ ।

उहाँहरुलाई बधाई तथा शुभकामना दिन कार्यक्रम आयोजना गरिएको थियो । भव्य कार्यक्रममा सम्मान पत्र खादा माला र अविरले सम्मान गरीएको थियो । सबै सफल व्यक्तित्व आफ्ना अभिवावकका साथ आउनु भएको थियो । उहाँहरुलाई परिवारजन सहित मञ्चमा सम्मान गरीएको थियो ।

पैसाकै अभावमा लाहुरे बन्ने सपना अपुरो हुन नदिन ट्रेनिङ सेन्टर खोलेको डाक्टर महराले बताउनु भयो । उहाँका अनुसार मध्यम तथा निम्न वर्गका परिवारमा जन्मिई लाहुरे बन्न चाहनेलाई बाटो दिने संस्था हो । ‘लाहुरे बन्न जग्गा बेच्नुपर्ने समस्यालाई टुलुटुलु हेर्न सकेनौँ’ डाक्टरले महराले भन्नुभयो, ‘आम मानिसका नानीबाबु पैसा नभएरै सपना पुरा गर्न नपाउने त ? यसको जवाफ दिन खोल्यौँ ।’

उहाँका अनुसार इच्छा र चाहना भए सेन्टरले अवसर दिन्छ । पैसा कमाउनका लागि खोलिएको होइन । सपनालाई पैसाको अभावले मर्न नदिने हो ।

शुरुवाती दिनमा डाक्टरले लाहुरे बनाउने भनेर केहीले हिस्याए । त्यहाँ ‘बिना पैसा भर्ना भएर लाहुरे बनेछन् भने कानकाटी फालुला’ भनेर खसाले । घोराहीमा नौ र जिल्ला भरी २० सेन्टर छन् । उनीहरुमा सबै भन्दा धेरै संख्यामा लाहुरे बनाउन सफल भएपछि अहिले व्यवहारले जवाफ दियो ।

तर लाहुरे बन्न २०-३० हजारदेखि लाख खर्च गर्नुपर्छ भन्ने मानसिकता तोड्न सफल भएको अनुशासन इन्चार्ज रामचन्द्र केसीको भनाई थियो । उहाँले धेरै भर्ना गरेर पैसा कमाउन नभई परिवर्तन ल्याउन सेन्टर खोलेको दाबी गर्नुभयो । उहाँका अनुसार पहिलो भर्तिमै गतिलो नतिजा निकालेपछि छाती खुशीले भुक्क फुलेको छ । सेन्टरको जग बसेको छ भने मानिसमा विश्वास बढेको छ ।

त्यस अवसरमा घोराही बसपार्कका प्रहरी इन्चार्ज सैजन डाँगी, नेपाली सेनाका पूर्वहवल्दार अर्जुन कुमाई, सेन्टरका सिइओ गीता जोशी लगायत प्रशिक्षकहरुले बिजेतालाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा विभिन्न नाच प्रस्तुत गरिएको थियो । क्षितिज ब्याडले गीत र नृत्य देखाएको थियो । खानपिन र नाचगान सहित कार्यक्रमलाई रोचक बनाईएको थियो । सेन्टरका म्यानेजर विनय डिसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सहजीकरण समिर वलीले गर्नुभएको थियो ।