काठमाडौं । पशुपतिनाथ मन्दिरमा भक्तजनलाई रोक लगाइएकोप्रति विरोध प्रदर्शन गरिएको छ ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमण देखाएर पशुपतिनाथमा भक्तजनलाई रोक लगाइएको भन्दै सरोकारवालाले विरोध गरेका हुन् ।
सरकारले उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाएको थियो ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानले नेपालमा हिन्दुहरुलाई मात्र रोक लगाउन थालिएको टिप्पणी गरे । ‘क्रिस्चियनका चर्च र इस्लाम धर्मका मस्जिद पनि छ । तर, हिन्दु धर्मालम्बी जाने मन्दिरमा मात्र किन रोक ?’ बुधबार काठमाडौँमा आयोजित साक्षात्कारमा उनले प्रश्न गरे ।
न्यौपानेले सरकारले लागू गरेका नियमअनुसार हिन्दू धर्मका कुनै पनि मन्दिरमा प्रवेश गर्न नपाइने भनिएकोमा आपत्ती जनाए । चर्चमा २५ जना मात्रले प्रार्थना नगर्ने भन्दै हजारौको संख्यामा प्रार्थना गर्ने उल्लेख गरे । हिन्दू धर्म र मन्दिरमा मात्र कोरोना लाग्ने सुन्दा बढो अनौठो लागेको उनको भनाइ थियो ।
बुद्धिजीवी प्रकाश रायमाझीले राज्यले कोभिडको नाममा ब्रह्मलुट मच्चाइरहेको बताए । राज्यले पशुपतिनाथ मन्दिरमा नित्यपूजाबाहेकका क्रियाकलाप बन्द गरेर कोभिडको नाममा आतंक मच्चाइरहेको उनले टिप्पणी गरे । कोभिडलाई राजनीतिक दलहरुले राजनीति गर्ने हतियार बनाएको उनको आरोप थियो ।
विश्वभक्त बाबाले धार्मिक संस्थाहरुले नै धर्म र राष्ट्र भनेको नबुझेको बताए । उनले राष्ट्र भनेकै धर्म भएको भन्दै नेताहरुले नबुझेको उनले टिप्पणी गरे । राष्ट्रको सबैभन्दा ठूलो शक्ति भएको धर्म हो भन्दै उनले कोभिडको बहानामा मठमन्दिर र देवता नै बन्द गराएर दुनियाँ हँसाएकोसमेत आरोप लगाए । भक्तहरुलाई पशुपतिनाथ गएर पूजा गर्न मिल्दैन भनेर भन्नेहरुले सबै भक्तहरुको स्वास्थ्यको जिम्मा लिनुपर्नेमा उनले जोड दिए ।
पशुपतिनाथ मन्दिरमा २४ सै घन्टा नित्यपूजा गर्नुपर्ने बताउँदै उनले मन्दिर दशनार्थीहरुको लागि खुल्ला गरिनुपर्ने बताए ।