• बैशाख १७ २०८२, बुधबार

राष्ट्रियसभा निर्वाचनमा कोरोना संक्रमितलाई पनि भोट हाल्न मिल्ने व्यवस्था

माघ ५ २०७८, बुधबार

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा कोरोना संक्रमितले पनि भोट हाल्न मिल्ने व्यवस्था गर्ने भएको छ । मतदान केन्द्रमा प्रवेश गर्ने सबैको ज्वरो जाँच गर्ने व्यवस्था समेत मिलाइने भएको छ ।

यही माघ १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदै छ । आज (बुधबार) निर्वाचन आयोगले १९ बुँदे मापदण्ड स्वीकृत गर्दै कोरोना संक्रमितले पनि भोट हाल्न पाउने गरी मतदान केन्द्रमा व्यवस्था गर्ने भएको हो ।

‘कोरोना संक्रमित भएको भए पनि ऊ बाट अर्को व्यक्तिलाई नसर्ने गरी भोट हाल्न पाउने व्यवस्था मिलाउने भन्ने भएको छ’ आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले भने । धमलाका अनुसार संक्रमित भएकाहरुलाई भोट हाल्न मतदान केन्द्रमा छुट्टै बाकसको व्यवस्था गरिनेछ ।

राष्ट्रिय सभामा प्रदेश सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् । निर्वाचन आयोगले ७ वटै प्रदेशको प्रदेश राजधानीमा चुनाव हुने गरी मतदान केन्द्र राखेको छ ।

१९ बुँदे मापदण्डमा आयोगले स्वास्थ्य सतर्कताका विषयहरु समावेश गरेको छ । आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा स्वास्थ्यकर्मीको टोली खटिनेछ ।