• मंसिर ८ २०८१, शनिबार

भूराजनीतिमा नेपाललाई रणनीतिक देशको रुपमा लिइंदैछ

माघ ५ २०७८, बुधबार

परिचय
नेपाल विश्वका भूपरिवेष्ठित देशहरुमध्ये एक हो । नेपालको भूभाग पूर्व, पश्चिम र दक्षिणमा भारतको भूभागसँग जोडिएको छ भने उत्तर चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको छ । नेपालको सिधै समुद्रसँग पहुँच छैन, समुद्रसँग पहुँचकोलागि भारतसँग निर्भर रहनुपर्दछ ।

समुद्रसँग पहुँच नभएपनि नेपाल भूराजनीतिक हिसाबले संसारका धेरै शक्तिशाली देशको रणनीतिक आकर्षणको केन्द्र बन्दै आएको छ । नेपाल वास्तविक रुपमा भूपरिवेष्ठित भएपनि प्राकृतिक सौन्दर्यको हिसाबले उत्कृष्ठ छ ।

नेपालले दक्षिण एसियाका उदयमान देश भारत र चीनको बीचमा आफ्नो आर्थिक हितको लागि सन्तुलित सम्बन्ध राख्दै आएको छ । नेपालले अपनाउने विदेशनीतिले छिमेकी देशहरुलाई प्रभावित गर्दछ त्यसैले नेपालले बहुपक्षीय हितको सम्बन्ध कायम गर्नुपर्ने अवस्था रहँदै आएकोछ ।

हिमालय, नदी तथा रणनीतिक सीमा र सडक सञ्जालले दुवैदेशसँग जोडिएको नेपाललाई दुई महान शक्ति छिमेकी देश चीन र भारत र अमेरिकाले समेत रणनीतिक रुपमा लिंदै आएका छन् ।

भारतीय विद्धान जगत एस मेहताले सन् २०१५ मा प्रकाशित आफनो पुस्तकमा “नेपालको राजनीतिक तथा आर्थिक क्षेत्रमा पर्ने प्रभाव विशेष गरी चीन र भारतको लागि महत्वपूर्ण हुन्छ” भनेका छन् । त्यसैले दक्षिण एसियाको भूराजनीतिमा नेपाललाई रणनीतिक रुपमा प्रयोग गर्न खोजिएकाले नेपालले स्वतन्त्र राष्ट्रको हैसियतले चनाखो हुनुपर्ने देखिन्छ ।

क्षेत्रीय शक्ति सन्तुलन :

नेपाल दक्षिण एसियाली क्षेत्रको रणनीतिक तथा सामरिक दृष्टिकोणले महत्वपूर्ण राष्ट्र भएपनि राजनीतिक संकटले आन्तरिक अस्थिरता युक्तछ । यो स्थिति मुख्यरूपमा बाह्य सक्तिहरुले निर्माण गरेको एक चाल हो । यद्यपि सन् १९४७ मा स्वतन्त्र भएको भारतसँग अहिलेपनि सीमा विवाद रहनु, राजनैतिक परिवर्तनसँगै नेपाल भारत सम्बन्धले चर्चा पाउने गरेको छ ।

भारतले अघोषित रुपमा सन् २०१५ को दुई महिनासम्म लगाएको नाकाबन्दीलाई हेर्दा भारतले नेपलमा आफ्नो अधिपत्य जमाउन चाहिरहेको बुझ्न सकिन्छ । अमेरिकामा बस्तै आएका लेखक हेमन्त ओझाको सन् २०१५ मा प्रकाशित नेपाल र भारत क्राइसिस भन्ने शीर्षकमा “भारतले नेपालमा गर्ने व्यवहार र बारम्बार गरिने नाकाबन्दीको उदाहरणका हेर्दा भारतले नेपालबाट सुरक्षा लगायतका क्षेत्रमा खतरा नपुगोस् भन्ने चाहेको हुन सक्छ” भन्ने कुरा उल्लेख गरेका छन् ।

त्यसैगरी नेपालमा हुने अन्तर्राष्ट्रिय गतिविधिले शान्ति र समृद्धिमा खलल पुग्ने चीनको बुझाइ हुनसक्छ । त्यसैले गर्दा उनीहरुले नेपालमा आफ्नो प्रभाव बढाउन चाहिरहेका छन् ।

चीन र भारत मात्र हैन नेपालमा गरिने भूराजनीतिक स्थितिबाट अन्तर्राष्ट्रिय सुरक्षा र राष्ट्रको स्थिरताको लागि धेरै देश प्रभावित हुनसक्छन् । भूगोल र जनसंख्याको आधारमा शक्तिशाली देशहरुसँग नेपाल, पाकिस्तान, भुटान, बंगलादेश, श्रीलंका, अफगानिस्तान लगायतका दक्षिण एसियाली देशहरुले शक्तिशाली छिमेकीसँग अपनाउनु पर्ने संयमता तथा आपसी सम्बन्ध चुनौतिको रुपमा रहेको छ ।

देशको भौगोलिकता, भूगोलको राजनैतिक र रणनीतिक प्राथमिकताले गर्दा अन्तराष्ट्रिय शक्तिले नेपालमा भूराजनीति परिक्षणले गर्न खोज्दा नेपाल बफर क्षेत्र बन्न सक्छ । त्यसैले, स्थान र भौगोलिक वनावटको आधारमा अन्तर्राष्ट्रिय शक्तिलाई खेल्न नदिन क्षेत्रिय शन्तुलन अपनाउनु पर्ने देखिन्छ ।

आन्तरिक स्थिरता :

अन्तराष्ट्रिय शक्तिले गर्ने भूराजनीतिक गतिविधिले गर्दा राष्ट्रमा अन्तरिक अस्थितरता पैदा हुन सक्छ । विदेशीलाई उसको इच्छा अनुसार आफ्नो भूमि प्रयोग गर्न नदिन राष्ट्रमा स्थिरता नै चाहिन्छ । त्यसको लागि राजनीतिक दल र नेताहरुको सम्यमता, दूरदर्शीता र राष्ट्र प्रेम चाहिन्छ ।

राजनीतिक दलहरु र नेताहरुको अदूरदर्र्शी दृष्टिकोणले लोकतन्त्रलाई नै विकृत बनाउँदा जसले राजनीतिमा वैचारिक वैमनष्यता निम्त्याएको छ । राजनीतिक विचार नमिल्दा देश सशस्त्र द्वन्द्वमा होमिन पुग्यो । नेपाल सन् १९९६ देखि २०१० सम्म माओवादीले शुरु गरेको युद्धमा फसेको थियो ।

छिमेकमा द्वन्द्वहुँदा आफूलाई पनि असर गर्ने स्वभाविकै हो त्यसैले भारतको सक्रियतामा सन् २००४ मा नेपाल सरकार र माओवादी बीच बृहत्त शान्ति सम्झौता गरायो । त्यसबेलादेखि नेपाल शान्तिपूर्ण संक्रमणको प्रक्रियाको माध्यमबाट अगाडि बढिरहेको छ । नेपालको जातीय, धार्मिक र सांप्रदायिक द्वन्द्वले दक्षिण एशिया अछुतो रहन सकेन ।

संसारको दुईतिहाई जनसंख्या र आर्थिक रुपमा सम्पन्न हुँदै गएका चीन र भारतको बीचमा रहेको नेपालल अर्थतन्त्रमा कमजोर छ । यसैको फाइदा उठाउँदै नेपाललाई प्रयोग गर्न अनेकौं प्रयासहरु भैरहेका छन् । नेपाल कसैको प्रयोगको राष्ट्र हैन भन्नका लागि नेपालले आफ्नो असंलग्न परराष्ट्रनीतिलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने अवस्था आएको छ ।

परराष्ट्र नीतिमा असरपार्ने तत्व :

पराराष्ट्र नीति निर्धारक तत्व भनेको प्राकृतिक यथार्थता हो, जो स्थायीरूपमा राज्यमा प्राप्त हुन्छ । हामीले यी कारकहरुलाई परिवर्तन गर्न सक्दैनौं र सँधै देशको नीतिलाई परिमार्जित गर्न पनि सक्दैनौं । उत्पत्तिको पूर्वसन्ध्यामा नेपालले जे पायो, त्यो आज नेपालसँगै छ ।

नेपालको भौगोलिक कारकहरुले अन्तर्राष्ट्रिय सम्बन्धमा प्रभाव परिरहेको छ । आकार र जनसंख्याको आधारले विदेशनीतिलाई प्रभावित गरिरहेको छ । देशको जनसंख्या, क्षेत्र, राष्ट्रिय स्रोत, प्राकृतिक स्रोत र सैन्य क्षमताको आधारमा विदेशनीति निर्भर गर्छ ।

नेपालको परराष्ट्र नीति यसको स्थायी भौगोलिक स्थितिबाट प्रभावित छ । अन्तर्राष्ट्रिय लेखकहरु  Paul Novosad र  Eric Werker ले सन् २०१८ मा भन्ने शीर्षकको  Who runs the international system? Nationality and leadership in the United Nations Secretariat आलेखमा अविकसित देशहरुको मापदण्डका हिसाबले सानो र कमजोर देशका नेताहरु र मानिसहरु अन्तर्राष्ट्रिय खेलमा अधिक भूमिका लिनको लागि सफल हुँदैनन्, भनेका छन् ।

त्यसैले भारत र चीनको तुलनामा नेपालको सानो आकारको जनसंख्याको कारणले गर्दा नेपालले अन्तर्राष्ट्रिय मामिलामा थोरै मात्र सहभागिता जनाउँछ र आफ्ना भनाइहरु स्पष्ट व्यक्त गर्न सक्दैन । जसले गर्दा नेपालको तर्फबाट अन्तर्राष्ट्रिय जगतमा अन्य देशकाको तुलनामा आफ्नो नीतिबारे जानकारी गराउन सकिरहेको छैन ।

यस्तो अवस्थामा राष्ट्रियनीति अवलम्बन गर्दा नेपालको लागि एक ठूलो चुनौतीको रुपमा देखा परिरहेको बुझ्न सकिन्छ । त्यसैले नेपालले अन्तर्राष्ट्रिय जगतमा प्रभावकारी उपस्थतिमार्फत् नेपालको आर्थिक, समाजिक, कुटनीतिक अवस्था जानकारी गराई राष्ट्रियता, स्वाधिनता तथा स्वतन्त्रताको रक्षा गर्न चुनौति रहेको बुझ्न सकिन्छ ।

क्षेत्रीय भूराजनीतिमा नेपालको भूमिका :

नेपालको भारतसँग १५९० किलोमिटर र चीनसँग १४१४ किलोमिटर लामो सीमा पर्दछ (बुद्धिनारायण श्रेष्ठ) । भारतको उत्तर प्रदेश, बंगाल र बिहार नेपालसँग जोडिएको छ । तसर्थ, यी क्षेत्रको स्थिरता केही हदसम्म नेपालको सुरक्षामा निर्भर गर्दछ । यसैले भारत सधैं नेपालमा आफ्नो अधिकार सुरक्षित गर्न को लागि प्रयास गर्दछ ।

यही महत्वलाई बुझेर भारतले १९५० मा शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर गराएको थियो । त्यसैगरी चीनले आफ्नो स्वसाशित क्षेत्र तिब्बत आफ्नै साथमा रहोस् भनेर नेपालमा स्थायीत्व चाहिरहेको छ । त्यसैगरी पश्चिमा देशहरुले उदयमान चीन र भारतलाई साइजमा ल्याउन नेपालमा प्रवेश खोजिरहेको अवस्था छ ।

लेखक भीम भूर्तेलको शब्दमा भन्नु पर्दा “नेपालले चीन वा भारतलाई आफ्नो क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको लागि खतराको रूपमा हेरेको छैन, यद्यपि नेपालले सन् २०१५ बाट भारतलाई अनुचित व्यवहार गरेको आरोप लगाउँदै आएको छ र भारतको विरोधका लागि आवश्यकता पर्दा चीनतिर फर्कन्छ ।

नेपालसँगको व्यवहारमा अमेरिकाले भारतको नीतिलाई पछ्याउँछ भन्ने कुरा काठमाडौंका राजनीतिक र परराष्ट्र नीतिका सम्भ्रान्तहरूलाई पनि राम्ररी थाहा छ । यसबाहेक, भारत समर्थक मधेसी दलहरू सहित सबै नेपाली राजनीतिक दलहरू “एक चीन” नीतिमा दृढ विश्वास गर्छन्” त्यसैले हामीले एकदेश विरुद्ध अर्कोदेश प्रयोग गर्नु हुँदैन भन्ने हो ।

नेपालको भूमिमा कुनैपनि देश विरुद्धका गतिविधिलाई बर्जित गर्नुपर्दछ । त्यसैले भारतले नेपाललाई महत्वपूर्णरुपमा लिने गरेको छ । उसले यो चाहँदैनन् कि नेपाल उनीहरुको हातबाट बाहिरियोस् । भारत सधैं नेपालले आफ्नो हितको पक्षमा निर्णय गरोस् भन्ने चाहन्छ ।

भूराजनीतिक वास्तविकता परिवर्तनशील छैन । त्यसैले, नेपालले स्वतन्त्र नीति सञ्चालन गर्न आवश्यक छ, भने सुरक्षा प्रश्नमा भारतलाई आश्वासन दिनुपर्ने अवस्था छ । नेपालले आफ्नो भूभाग कुनै पनि भारतीय विरोधी शक्तिहरुबाट मुक्त गर्नुपर्छ जसले भारतलाई नेपालमा प्रत्यक्ष हस्तक्षेप गर्ने बहाना नमिलोस् ।

जसको कारण नेपालको सार्वभौमसत्ता कमजोर पर्नसक्छ । नेपालको भूराजनीतिक असंलग्नता र भौगोलिक स्थितिका कारण छिमेकीहरुसँग विशेष सम्झौता गर्नुपर्ने अवस्था छ । भारत र चीनको नेपाल प्रतिको धारणा सानो आकारबाट व्यूत्पन्न भएको बुझ्न सकिन्छ । सानो आकार भएरपनि राजनीतिक धु्रविकरणको लागि अन्तर्राष्ट्रिय क्रिडास्थल बन्न सक्ने हुनाले नेपालको भूराजनीतिक भूमिका महत्वपूर्ण हुनजान्छ ।

नेपालको सामरिक क्षमता :

नेपालले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा ५० वर्ष भन्दा अघिदेखि योगदान गरिरहेकोको छ तर, शक्तिशाली देशको तुलनामा आर्थिक र सैन्यशक्ति कमजोर भएकै कारण हेपिइरहनु पर्ने अवस्था छ । कमजोर अर्थतन्त्र, राजनैतिक अस्थितरताका बावजुत सैन्यशक्तिको अभावमा नेपालले आफ्ना छिमेकीहरुसँग प्रभावशाली सम्बन्ध बनाउन सक्दैन ।

नेपालको सैन्य, आर्थिक क्षेत्र मजबुद नभएकै कारण सधैं सताइरहने र शक्तिशाली छिमेकीहरुबाट प्राप्त हुने धम्कीको सामना गर्नु पर्ने अवस्था रहँदै आएको छ । त्यसैको फाइदा लिँदै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई रणनीतिक रुपमा प्रयोग गर्न खोजिंदै छ । नेपालको आन्तरिक मामिलामा शक्तिशाली राष्ट्रको उपस्थिति जोखिमको रुपमा संकेत गर्दछ ।

तथापि नेपालले आजसम्म राम्रो सम्बन्ध कायम राख्दै आएको छ । संयुक्त राष्ट्रको सदस्य राष्ट्र भएकोले नेपाल शान्ति चाहन्छ र कुनै देशसँग युद्ध लड्न चाहँदैन । यसैको लागि नेपालले सन् १९६० मा स्थापना भएको असंलग्न राष्ट्रको संस्थापक सदस्य भएको थियो । नेपाल आफ्नो देशभित्र कुनै प्रकारको आणविक तथा जैविक हतियारको उत्पादन तथा प्रयोग गर्न प्रतिवन्ध लगाउनर्पछ ।

आणविक रुपमा सम्पन्न शक्ति राष्ट्रहरुको जैविक हतियार कारखानाबाट उत्पन्न हुने रेडियोधर्मी नेपालको सुरक्षाको लागि लागि खतरा छ । नेपालमा जैविक हतियार प्रतिबन्ध र यसको सुरक्षाबारे लेख्दै आउनु भएका वैज्ञानिक प्रा.डा. कमलकृष्ण श्रेष्ठले कुनैपनि देशले मानव अहितमा हुने आफ्ना आणवीक क्रियाकलप रोक्नु पर्ने भनी विविभन्न समयमा बोल्दै आउनु भएको छ ।

आणविक शक्तिकै कारण नेपालले संधै शक्ति राष्टहरुसँग दब्नु पर्ने अवस्था रहेको छ । असंलग्न नीतिलाई शक्तिराष्ट्रहरुले स्वीकार गरेमा शान्ति नै सामरिक क्षमता बन्नसक्छ । अहिलेको बदलिंदो विश्वमा पहिलो शक्ति सामरिक, दोस्रो शक्ति आर्थिक र तेस्रो शक्ति विचारको हुने भएकोले पनि नेपाल तीनवटै शक्तिहरुमा पछाडि पर्दै आएको छ ।

निष्कर्ष :
भूराजनीतिक मार्जिनालिटीले नेपाललाई आफ्नो हितको लागि महाशक्तिसँग सम्झौता गर्न बाध्यकारी बनाएको छ । नेपाल उनीहरुसँग शान्तिको सम्बन्ध तथा पुलको सम्बन्ध कायम राख्न चाहेर पनि नसक्ने अवस्थामा पुगेको छ ।

हामी सार्वभौमसत्तासँग सम्झौता गर्दैनौं र आफ्नो भूमिलाई कुनैपनि देश विरोधी गतिविधिको लागि अनुमति दिदैनौं र नेपाललाई बफर राज्यको रुपमा पनि चिनाउन चाहँदैनौं । तर, छिमेकीहरुको प्रभावलाई बेवास्ता पनि गर्न सक्दैनौं ।

नेपाल विशाल छिमेकी देशको बीचमा रहेको र भारत, चीन र अमेरिकाको राष्ट्रिय सुरक्षा नीतिहरुको विश्लेषण गर्दा उनीहरुको नेपाल प्रति प्रत्यक्ष भूराजनीतिक, रणनीतिक र सुरक्षा चासो रहँदै आएको छ । त्यसैले उनीहरु आफ्नो प्रभाव विस्तार गर्न रणनीतिक रुपमा लागिरहेका छन् ।

भारत र अमेरिकाले भूअर्थनीतिको तुलनामा भूराजनीतिलाई उच्च प्राथमिकता दिएको छ भने चीनले भूराजनीति भन्दा भूअर्थनीतिलाई प्राथमिकता दिए पनि सबैको चासो नेपालप्रति नै छ भन्ने हो । अहिलेको अवस्थमा त्रिकोणीय प्रतिद्वन्द्वीले भविष्यमा नेपालको राष्ट्रिय हितलाई कमजोर तुल्याउन सक्छ ।

तसर्थ, उनीहरुका बीचमा बढ्दो भूराजनीतिक शक्तिको खेलले गर्दा नेपालमा दीर्घकालीन असर पर्ने यथार्थता बुझ्न जरुरी छ । नेपालले विश्वव्यापी शक्तिहरुको नीति, रणनीति र कूटनीति तथा उनीहरुको प्रभावको सुक्ष्म अध्ययन गरी वस्तुनिष्ठ विश्लेषण गरी कसैको उक्साहटमा नलागि पक्ष वा विपक्ष नहुने गरी आफ्नो राष्ट्रको हीतका लागि काम गर्न जरुरी छ ।

नेपालले आफ्नो मौलिक रणनीतिक चासोको सम्मान गर्दै आफ्नो राष्ट्रिय हितको रक्षा र प्रवद्र्धन गर्नुपर्छ । शक्तिराष्ट्रबीच कूटनीतिक र रणनीतिक सन्तुलन कायम राख्न सक्यो भने भूराजनीतिक तथा भूरणनीतिक खेलबाट बच्न सकिन्छ ।