काठमाडौं । नेपाल सरकारको खोप स्टोरबाट २४ लाख डोज खोप गायब भएको छ । यति ठूलो मात्रामा खोप गायब भएको रहस्य स्वास्थ्य तथा जनसंख्या सचिवले संसदीय समितिलाई जानकारी गराएपछि खुल्न आएको हो । नेपाल भित्रिइसकेको यति ठूलो मात्रामा खोप गायब भएपछि यसले सरकार तथा कर्मचारी वृत्तमा एकले अर्कातिर औंलो देखाउने काम भैरहेको छ ।
अचम्मको कुरा त के छ भने खोप त हरायो, हरायो । मन्त्रालयमा राखिएको अभिलेख पनि हरायो । ओमिक्रोन आक्रामक रुपमा उकालो लागिरहेका र खोप लिनका लागि सर्वसाधरण घण्टौं लाइन लागिरहेका बेला नेपाललाई सहयोगस्वरुप प्राप्त भएको मध्ये २४ लाख डोज गायब भएको छ ।
बाहिर जनताले स्टोर गरी राखिएको खोप हामीलाई देऊ भन्दा पनि सरकारले त्यो खोप दिएको थिएन । यसका बारेमा विविध कोणहरुबाट आशंका बढ्ने गरिरहेका थिए । तर यो कुरा ढिला गरी मात्र खुल्न आएको छ । सरकार आफैले स्टोर गरी राखेको सरकारी स्टोरबाट, त्यो पनि यस्तो महामारीका समयमा त्यो खोप चोर्ने चोर को होला ?
सिंगो सरकार छ । सरकारका रक्षकहरु छन् । सुरक्षाकर्मी छन् । गेट लगाइएको छ । ताला पड्काइएको छ । २४ लाख खोपको मात्रा गोजी वा झोलामा हालेर कतै लगिहाल्ने भन्ने पनि हुँदैन । यो त गाडीबाटै ओसार पसार गरिने हो ।
यो कलियुग हो, द्वापर युग पनि होइन । श्रीकृष्ण जन्मने र त्यति बेला सबै पहरेदारहरु निदाउने र उनी गोकुल पुग्न सफल हुने कुरा पनि होइन । सचिवको स्वीकारोक्ति अनुसार त आखिर कोही न कोही श्रीकृष्ण त जन्मिएकै देखिन्छ । त्यो पनि रातमा होइन, दिउँसो नै जन्मेको देखिन्छ ।
सर्वसाधरण पनि भन्ने गरिरहेका छन्– अभिलेख मन्त्रालयबाट र खोप स्टोरबाट हराउनुले ‘बाख्रो हराउनु, चितुवा कराउनु’ एकै पटक हुन गएको छ । खोपहरु लिएर वातानुकुलनमा राख्नुभन्दा पनि टिनको टहरो बनाएर प्रत्यक्ष घाम र पानीले हानी पुर्याउने गरी लापर्वाही पूर्ण स्टोर गर्ने सरकार र सरकारी कर्मचारीले अक्षम्य गल्ती गर्दै आएका थिए ।
अब त त्यतिले पनि नपुगेर अरु देशहरुले सहयोग गरेको २४ लाख डोज खोप नै गायब पारिसकेछन् । खोप हिनामिना भएका तथ्यहरु प्हिले देखि नै सार्वजनिक हुँदै आएका छन् । पहुँचवाला मन्त्री र कर्मचारीका गाउँका रक्सी भट्टी, पसलहरुमा खोप भेटिएका कुरा सार्वजनिक हुँदै आएका पनि थिए ।
सरकार र सत्ता भनेको दोहन गर्ने माध्यमका रुपमा बुझेका नीति निर्माण गर्ने तहका हर्ताकर्ताहरुले कमिसनको चक्करमा यति ठूलो मात्रामा खोपको डोज गायब पारेको देखिन्छ । यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लज्जाको विषय हो ।
त्यसो त २०७२ सालको भूकम्पका बखत विदेशी दाताहरुले उपलब्ध गराएको त्रिपाल तथा अन्य सामग्रीहरु देशकै जिम्मेवारहरुले लाजै नमानेर काँधकाँधमा बोकेर सिंहदरवारबाट बाहिरिएका थिए । ‘कंगालमाथि चण्डाल’ परिसकेको यो पीडा त एकातिर हुने भयो नै । अर्कोतिर, जनताले खोप लाउन नपाएर संक्रमित हुँदै ज्यान गुमाउनु परिरहेको छ ।
यो घीनलाग्दो काण्डको उचित छानबिन हुनु जरुरी छ । तर कतै ‘मालिकले नोकरलाई अह्रायो, नोकरले कुकुरलाई अह्रायो, कुकुरले पुच्छर हल्लायो’ भने झैं यो ढिसमिस हुने त होइन ? यसले आमजनतामा आशंका उब्जाएको छ ।