काठमाडौं । नेपालमा कोरोना संक्रमण सुरु भएयता एकैदिन सबैभन्दा बढी १० हजार २५८ जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा परीक्षण भएका नमुनामध्येमा ४४।९ प्रतिशत संक्रमणदर रहेको छ । यस अवधिमा नेपालभरि २२ हजार ८ सय २८ वटा नमुना परीक्षण भएका थिए । मंगलबार पुष्टि भएका संक्रमितको संख्या नेपालमा कोरोना संक्रमण भएयताकै सबैभन्दा उच्च हो ।
यसअघि कोेरोना संक्रमणको दोस्रो लहरमा गत वैशाखको अन्तिम साता एकै दिन ९ हजार ४ सय ८३ जना संक्रमित भएका थिए ।
मंगलबार संक्रमण पुष्टि भएकामध्ये ५४ प्रतिशत काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४ हजार ४ जना, ललितपुरमा ९ सय ७५ जना र भक्तपुरमा ५ सय ७० जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी उपत्यका बाहिर बढी संंक्रमित हुने जिल्लामा मोरङमा ५ सय ९ जना, सुनसरीमा ३ सय १० जना, झापामा १ सय ३९ जना, कास्कीमा २ सय ८७ जना छन् ।
नयाँसहित नेपालमा सक्रिय संक्रमित ३९ हजार ४४ जना पुगेका छन् । सक्रिय संक्रमितमध्ये ३७ हजार ८ सय २६ जना होम र १२ सय १८ जना संस्थागत आइसोलेसनमा छन् ।
त्यस्तै १ सय ५१ जनाको आइसियु र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । गत २४ घण्टामा संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । थपसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय २४ पुगेको छ ।
तीन दिनमै दोब्बरले संक्रमणदर बढेको तथ्यांकले औंल्याएको छ । यही दरमा संक्रमण बढे केही दिनमै यो संख्या निकै धेरै पुग्ने राष्ट्रिय इपिडिमियोेलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्णप्रसाद पोखरेलले बताए । यो समाचार नागरिक दैनिकमा छ ।