ढाका । बंगलादेशी अभिनेत्री रायमा इस्लाम शिमूको शव एक बोरामा बन्द अवस्थामा भेटिएको छ ।
आइतबारबाट वेपत्ता भएकी शिमूको शव सोमबार बिहान भेटिएको थियो । दुई टुक्रा पारेर शवलाई बोरामा बन्द गरिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।
प्रहरीका अनुसार शव ढाकाको केरानीगञ्जमा अवस्थित आलियापुर इलाकाको हजरतपुर पुल नजिकैको सडक किनारमा सोमबार बिहान भेटिएको थियो । ३५ वर्षकी अभिनेत्रीको घाँटीमा निशान थियो । प्रहरीले यो मामलामा उनका पति र पतिका ६ साथीलाई पक्राउ गरेको छ ।
प्रहरीले अभिनेत्रीका पति सखावत, उनका साथी र चालकलाई तीन दिन हिरासतमा लिएको छ । पति सखावतले घरेलु विवादका कारण रायमाको हत्या गरेको स्वीकारेको छ । प्रहरीले रायमाको शवलाई पोस्टमार्टमका लागि मिडफोर्ड अस्पतालमा पठाएको छ ।
रायमा ढाकाको ग्रीन रोड इलाकामा पति र दुई सन्तानका साथ बस्थिइन् । शिमू आइतबार बिहान मावामा सुटिङका लागि घरबाट निस्किएकी थिइन् । त्यसपछि उनी सम्पर्कविहिन भएकी थिइन् । छोराछोरीले उनलाई पटक–पटक मोबाइल सम्पर्क गर्न खोज्दा पनि सम्पर्क भएको थिएन । तर बेलुकासम्म रायमा घर नआएपछि परिवारका सदस्यले कालाबगान थानामा निवेदन दिएका थिए ।
शव मिलेपछि रायमाका भाई शाहिदुल इस्लाम खोकानले रायमाका पति सखावत अमीन नोबेलविरुद्ध उजुरी दिएका थिए । ढाकाका जिल्ला पुलिस अधीक्षक मारुफ हुसेन सरदरले सखावत र उनका साथीसहित एक कारलाई पनि नियन्त्रणमा लिएको बताए । न्युज भास्करमा उल्लेख अनुसार उनका अनुसार गाडीको पछाडिको सिटमा रगत भेटिएको थियो ।