केही महसुस हारका
केही महसुस थकानका
केही निराशाका
केही हीनताबोधका
केही विभ्रममा
केही चिन्तामा
केही चिन्तनमा
यस्तै यस्तै बिते केही साल ।
उस्तै उस्तै लाग्ने
तर भिन्न भिन्न दिशा पक्रेका बाटाहरु
लमतन्न थिए मेरा अगाडि
बायाँतिर थियो
अप्ठेरो तर गन्तव्यतिर जाने बाटो
जुन बाटो छोडेर
कैयन चाओ तथा चुतेहहरु
कैयन लुसुन र गोर्कीहरु
लुसुक्क लागेका थिए
भोज चलिरहेको आँगनमा पुग्ने
दायाँतिरको चम्किलो बाटो ।
दुवैतिरबाट थियो, निरन्तर निमन्त्रणा
बायाँपट्टीबाट
हरायो भनिएको नानीलाई
भेट्टाउँदाका बखत
आमाले बोलाए जस्तो
मायालु निमन्त्रणा थियो
दायाँपट्टीबाट
एक्लै हिंडेकी युवतीलाई
आबारा केटाहरूले
जिब्रो पड्काउँदै
सिठ्ठी बजाउँदै
तिघ्रा ठटाउँदै
कोटबाट नोट निकालेर हम्कदै
र अश्लिल इशारा गर्दै बोलाए जस्तो
रसरङ्ग सहितको निमन्त्रणा थियो ।
यस्तै यस्तै भोग्दै
दिक्क मान्दै सोच्दै
बिरक्त मान्दै सोच्दै
केही छट्पटी
केही हुट्हुटी
र केही पुराना सपनाहरुको कुटुरो बोकेर
मैले फेरि उकालो लाग्ने सङ्कल्प गरें ।
साक्षी राखेर
एउटा बुढो तर ठिङ्ग उभिएको सतिसालको रुख
जसलाई ढलाउन कैयन आँधी आए
तर ऊ ढलेन
जसलाई गलाउन कैयन प्रयत्न भयो
तर ऊ मरिगए गलेन
कैयन पटक सिक्रो देखिंदा ऊ
धेरैले भने,‘अब सतिसालको रुख सुक्यो’
तर उसले पालुवा हाल्न छोडेन
हो त्यही सतिसालको रुखलाई साक्षी राखेर
मैले एक पटक फेरि यात्रा थाल्ने कसम खाएँ ।
न नियुक्तिको हतारो
न पिबिएम बन्ने चटारो
न कसैलाई छिर्के हानेर लडाउने दाऊ
न कसैलाई खुइ
ल्याएर चम्किलो देखिने ध्याउन्न
यी सबै कुरालाई
इतिहासको चिहानमा गाडेर
यी सबै कुराहरु
महाजन कमरेडहरूलाई नै उपहार छाडेर
प्रेमपूर्वक मागेर
मजदूरहरूसँग साहस
किसानहरूसँग धैर्य
उत्पीडितहरूसँग आगो
र सहिदहरूसँग बाटोको नक्सा
मैले फेरि प्रण गरें हिंड्न भनेर
अगम्य अक्करको बाटो ।
२०७८ माघ ४ ।