• असार १८ २०८१, सोमबार

रोल्पाकी छोरी जिमिशाले जितिन् ‘लिटिल आइकन नेपाल–२२’

माघ ४ २०७८, मंगलवार

काठमाडौं । ‘लिटिल आइकन नेपाल–२२’ को एघारौं श्रृङ्खलाको प्रतिष्पर्धामा रोल्पाकी जिमिशा रोकामगर विजयी भएकी छिन् । गत शनिबार काठमाडौंमा भएको अन्तिम प्रतिष्पर्धामा उनी विजेता घोषणा भएकी हुन् ।

जिमिशाले सिनियर गर्ल्स अर्थात् ११ देखि १३ वर्ष समूहबाट प्रतिष्पर्धा गरेकी थिइन् । विभिन्न उमेर समूहबाट सहभागी भएका करिब २ सय जनालाई पछि पार्दै उनी विजयी भएकी हुन् ।

प्रतिष्पर्धाबाट विजेता छान्नका लागि निर्णायक मण्डलले प्रतियोगीको वक्तित्व क्षमता जाँच्ने तरिका, प्रश्नउत्तरको तरिका, अन्तरवार्ता, क्याट वाक र भोटिङ जस्ता विधिहरु प्रयोग गरेका थिए । साथै विजेता छान्नका लागि सामाजिक सञ्जाल फेसबुकमा प्राप्त भएका लाइक र प्रतिकृयाहरुलाई पनि आधार मानिएको थियो । करिब २ सय जनासित भिड्दै आएकी जिमिशाले अन्तिम चरणमा ५ जनालाई पछि पार्दै विजेता बनेकी हुन् ।

साथै प्रतियोगीतामा यसैगरी जिमिशाले मोस्ट ब्यूटिफल सब टाइलटको पुरस्कार पनि जितेकी छिन् । साथै प्रतियोगीतामा आज्मा बुढाथोकी फस्ट रनर अप र नम्रता थापा सेकेण्ड रनर अप भएका छन् । एएनपी मिडिया हाउसले प्रतियोगीताको आयोजना गरेको हो । विद्यार्थी तथा बालबालिकाहरुको क्षमता तथा व्यक्तित्व विकासमा सहयोग पुर्याउनका लागि यस्ता प्रतियोगीताको आयोजना गर्ने गरिन्छ ।

रोल्पा जिल्लाको थबाङ गाउँपालिका वडानम्बर ३ मिरुलकी स्थायी बासिन्दा जिमिशाले काठमाडौंको सामाखुसीमा रहेको स्कलर्स होम एकेडेमीमा कक्षा ५ मा अध्ययन गरिहेकी छिन् । विजेता जिमिशाले ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

उनका बाबु जीवन रोकामगगरले छोरीको विजय यात्राले निकै खुशी बनाएको बताउँदै आगामी दिनहरुमा पनि छोरीको प्रगतीका लागि कुनैपनि कसर बाँकी नराख्ने बताए । आगामी दिनमा मोडल बन्ने चाहना रहेको जिमिशाले बताइन् ।

यसअघि पनि जिमिशाले एउटा मगर भाषा र अर्को खस नेपाली भाषामा तयार गरिएका बालगीतका म्यूजिक भिडियोमा कलाकारको भूमिका निभाइसकेकी छिन् । उनलाई नाच्न निकै मन पर्छ । उनका बाबु जीवन पनि कलाकारीता पृष्ठभूमीबाट उदाएका व्यक्तित्व हुन् । जीवनले ‘जलेको बस्ती’ नामक मगर चलचित्र निर्माणमा मूख्य भूमिका निभाएका छन् ।