आजकलका मानिसमा दिने बानी भएका भेट्न धेरै गाह्रो भइसक्यो, जसले पनि लिन मात्रै जानेका छन् । तर दिन परे मरेतुल्य हुन्छन् । त्यसैले त भन्ने गरिन्छ–सित्तैमा पाए अमिलो चुक पनि एक पाथी खान्छन् । अरुलाई खुवाउन परे मै मरी जाउँ भन्छन् ।
यहाँ मैले एकजना भिखारीको कथाको प्रसंग प्रस्तुत गर्न खोजेको छु । हुन त यहाँ सबै भिखारी नै छन् । धनाढ्यहरु पनि दीनहीन भावमा मन्दिरभित्र गएर भगवानसँग मागिरहेका हुन्छन् भने मन्दिर बाहिर पनि गरीब भिखारीहरु दीनहीन अवस्थामा बसेर भक्तजनहरुसँग मागिरहेका हुन्छन् ।
अनि त मन्दिर बाहिरका भिखारीहरुले भन्ने गर्छन्– हामी त साँच्चैका असली भिखारी हौं, मन्दिरभित्र गएर भगवानसँग माग्ने धनाढ्यहरु त नक्कली भिखारी हुन् । आखिर जे होस् मैले यहाँ उल्लेख गर्न खोजेको एकजना भिखारीको कथा यस्तो छ ।
एकजना भिखारी बिहान सबेरै उठेर भीख माग्न भनी हिंड्यो । जानुभन्दा अघि उसले आफ्नो झोलामा एक मुठी जौको दाना राख्यो । भिखारीले भिक्षा माग्न जाँदा आफ्नो झोला खाली राख्नु हुँदैन भन्ने मान्यता रहिआएको छ ।
त्यसैले त्यस भिखारीले एक मुठी जौं झोलामा राखेको हो । भिखारीको झोला रित्तो नदेखेर भिक्षा दिने दाताहरुलाई पनि लागोस् कि यस भिखारीलाई पहिला नै कसैले केही दिइसकेको छ । त्यो दिन पूर्णिमाको दिन थियो ।
त्यो भिखारीले सोचिरहेको थियो कि आज यदि भगवानको कृपा भयो भने मेरो यो झोला साँझ पर्नुभन्दा अघि नै भरिने छ । यस्तै सोचेर त्यो भिखारी हिँडिरहेको थियो । अचानक ऊ हिँडिरहेको बाटोमा त त्यसै देशको राजाको सवारी आउँदै गरेको देख्यो ।
अनि त्यो भिखारी धेरै खुसी भयो । उसले सोच्यो कि आज एक त राजाको दर्शन गर्ने मौका मिल्ने भयो अर्को कुरा राजाबाट पाइने मनग्य अमूल्य दानबाट मेरो सम्पूर्ण दुःख दरिद्र नाश भई मेरो जीवन पनि सुखी र सम्पन्न हुने भयो । जसै राजाको सवारी नजिक आइपुग्यो तब त्यो भिखारीको उत्तेजना बढ्दै गयो ।
राजाको रथ जब त्यस भिखारीको नजिकै आइपुग्यो तब राजा रथ रोक्न लगाएर रथबाट राजा ओर्लेर आई त्यस भिखारीको सामुन्ने पुगे । भिखारीको त श्वास नै रोक्ला जस्तो भयो । तर यो के आश्चर्य ? राजाले त्यस भिखारीलाई केही दिनुको सट्टा उल्टै आफ्नो बहुमूल्य खास्टो उसको सामुन्ने फैलाएर उसैसँग भिख माग्न थाले ।
तब त्यस भिखारीले त केही सोच्नै सकेन, के गरुँ के गरुँ भयो । उसले यस्तै सोचिरहेको थियो । तर राजाले फेरि माग्न थाले । अनि भिखारीले आफ्नो झोलामा हात हाल्यो तर सधैं अरुसँग मागेर लिइरहने बानी परेको भिखारीलाई अरुलाई दिन मनले मानिरहेको थिएन ।
त्यसमा पनि राजा स्वयम् आफ्नो अगाडि आएर खास्टो फैलाएर भिख मागेकोले नदिई भएन, दिनु नै पर्ने अवस्था आयो । मनले नमानी नमानीकनै बडो मुश्किलले आफ्नो झोलामा भएको एक मुठी जौको दानाबाट दुई दाना मात्र जौं निकालेर राजाको खास्टोमा राखिदियो । राजा पनि भिखारीसँग भिख मागी पाएको दुई दाना जौ लिएर प्रसन्न मुद्रामा फर्केर गए ।
त्यसदिन भिखारीलाई धेरै भिक्षा मिल्यो । तर उसको झोलाबाट दुई दाना जौं राजालाई दिनु परेको घटनाले सारा दिन नै चिन्ता लागिरहेको थियो । साँझ जब ऊ घरमा पुग्यो र आफ्नो झोलामा भएका सबै भिक्षा खन्याएर हेर्दा उसलाई आश्चर्यको सीमा नै रहेन ।
जुन जौ उसले आफ्नो झोलामा लगेको थियो त्यसमा दुई दाना जौं त सुनमा परिणत भएको रहेछ । अब उसलाई समझमा आयो कि यो त दानकै महिमाको कारण भएको हो । दानको महिमा कत्तिको हुँदो रहेछ भन्ने कुरा बल्ल उसले बुझ्यो ।
ऊ पछुतायो कि यदि मैले अलि धेरै जौं दिएको भए हुन्थ्यो । तर दिन सकेन किनभने उसलाई दिने बानी नै थिएन खाली लिने मात्रै थियो ।