अहिले देशमा स्वास्थ्य कर्मी निर्धक्कताका साथ आफ्नो काममा खट्नसक्ने वातावरण छैन । एकातिर स्वास्थ्यकर्मीहरु नै बढी संक्रमित भैरहेका छन् भने अर्कोतिर स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा सामग्रीको अभाव छ ।
यिनै सामग्री अभाव र नयाँ भेरियन्ट ओमिक्रोनको नयाँ खालको संक्रमणका कारण स्वास्थ्यकर्मी धेरै ठूलो संख्यामा संक्रमित हुँदै गैरहेका छन् । अर्कोतिर जनशक्ति अभावका कारण रातदिन खटु्नुपर्दा पनि आवश्यक होशियार बन्न नसकिरहेको देखिएको छ ।
पछिल्लो समयमा त स्वास्थ्यकर्मी संक्रमित हुने दर यति बढेर गयो कि यसले कतै स्वास्थ्य जनशक्तिमा अभाव निम्त्याउने त होइन भन्ने आशंका प्रशस्त मात्रामा उब्जाउन थालेको छ । त्यसमा पनि अस्पतालको कोभिड वार्ड तथा ओपिडीमा व्यस्त रहने डाक्टर तथा नर्ससहित ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि यसले स्वास्थ्य अवस्थालाई थप गम्भीरतातिर धकेलिसकेको छ ।
राजधानी सहर काठमाडौंसहित ललितपुर र भक्तपुरलगायतका धेरै जिल्लाहरुमा रहेका अस्पताल, स्वास्थ्य चौकी तथा नर्सिङहोममा स्वास्थ्यकर्मी संक्रमित हुने दरमा आउँदा केही दिनसम्म कमी आउने संकेत छैन । स्वास्थ्यकर्मीहरु नै संक्रमित हुने र अस्पताल भर्ना हुने अवस्था सिर्जना भएपछि जनसाधरणका लागि उपचारमा समस्या हुने देखिएको छ ।
काठमाडौं उपत्यकामा मात्र ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । धेरैजसो आइसोलेसनमा बसिरहेका छन् भने केही त अस्पताल भर्ना पनि भएका छन् । स्वास्थ्य क्षेत्रको अग्रपंक्तिमा डटिरहेका अनुभवी डाक्टर तथा नर्सको संख्या ओमिक्रोन संक्रमणका कारणले कमी हुँदै जाँदा ओमिक्रोनले निम्त्याउने संकट गहिरिएर गयो भने जनस्वास्थ्यमा स्थिति भयाबह बन्ने देखिन्छ ।
यसले सरकारलाई स्वास्थ्य क्षेत्रमा जगेडा शक्ति राख्नका लागि अहिलेदेखि तयारी गर्न संकेत गरिरहेको छ । संक्रमित बिरामी अस्पतालमा थुप्रने तर तिनको उपचारका लागि आवश्यक पर्ने डाक्टर तथा नर्सहरु नहुने अवस्था सिर्जना हुन नदिन पनि जगेडा शक्तिको पहिचान, खोजी र तयारी गर्न जरुरी हुँदै गएको छ । यसका साथै जनस्वास्थ्य क्षेत्रमा उपचारको अग्रमोर्चामा खटिरहेका डाक्टर तथा नर्सहरुलाई दिनुपर्ने आवश्यक उपकरण तथा सेवासुविधा विनाढिलाइ उपलब्ध गराउन सरकारले थप बजेटको व्यवस्था पनि गरिनुपर्छ ।
यसले मात्र स्वास्थ्यकर्मीलाई निर्धक्कताका साथ कामगर्ने वातावरण सिर्जना गर्नसक्ने छ ।