• बैशाख १६ २०८२, मंगलवार

वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धन सहमत

माघ ४ २०७८, मंगलवार

काठमाडौँ। सत्ता गठबन्धनका नेताहरु निर्वाचन आयोगले दिएको समयानुसार आगामी २०७९ वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन्।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको थियो।

बैठकपछि पत्रकारहरुसँग बोल्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संवैधानिक व्यवस्था अनुसार स्थानीय तहको निर्वाचन समयमै हुने बताएका छन्।

कार्कीले यसका लागि सरकारले निर्वाचन आयोगसँग निरन्तर छलफल गरिरहेको पनि जानकारी दिएका छन्। ‘समयमै स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छ’, उनले भने, ‘तपाईंहरु यसमा ढुक्क भए हुन्छ’। यस विषयमा थप गृहकार्य गरेर बिहीबार अर्को बैठक बस्ने उनले जानकारी दिए।

सत्तारूढ कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार भएको भेटवार्तापछि राजनीतिक समन्वय समितिको बैठक आज बसेको हो।

केही दिनअघि निर्वाचन आयोगले स्थानीय तहको चुनावको मिति तत्काल घोषणा गर्न सरकारलाई आग्रह गरेको थियो।

संविधानमा स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ वर्षको हुने उल्लेख छ। विशेष अवस्थामा यसको म्याद ६ महिना थप गर्न सकिने व्यवस्था छ। सामान्यत: कार्यकाल सकिनु २ महिना अगाडि नै स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ। तर सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्ने र त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनेबारे निर्णय भने गरीसकेको छैन।