• मंसिर ९ २०८१, आईतवार

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रीविहीन, सरकारी काम कारबाहीमा बाधा

माघ ४ २०७८, मंगलवार

काठमाडौं । सरकारका अधिकांश मन्त्रीहरुले सय दिने प्रगति विवरण सार्वजनिक गरिरहँदा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय भने मन्त्रीविहीन अवस्थामा छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको ६ महिना पूरा भए पनि यस मन्त्रालयले अझै मन्त्री पाउने–नपाउने वा कहिले पाउने भन्ने यकिन छैन ।

मन्त्रालय नेतृत्वविहीन हुँदा उद्योग वाणिज्य क्षेत्रमा नीतिगत अप्ठ्याराका साथै उद्योगमन्त्रीले अध्यक्षता गर्ने विभिन्न परिषद् तथा समितिको बैठक हुन सकेको छैन भने बजार अनुगमन पनि निष्प्रभावी हुँदै गएको छ ।

वर्तमान सरकार गठन भएको साढे दुई महिनासम्म प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार नै गर्न सकेनन् । जेनतेन ८८ औँ दिन अर्थात् गत असोज २२ मा देउवाले मन्त्रिपरिषद् गठन गरेर गजेन्द्रबहादुर हमाललाई उद्योगमन्त्रीमा नियुक्त गरेका थिए । तर हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटामा मन्त्री बनाइएको भन्दै विरोध भयो ।

चौतर्फी विरोध र आलोचना भएपछि हमालले नियुक्ति पाएको दुई दिनमै राजीनामा दिए । उनको राजीमानापछि प्रधानमन्त्री देउवाले नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका छन्  ।

विभागीय मन्त्री भए पनि देउवाले मन्त्रालयमा आउने समय निकाल्न सकेका छैनन् । मन्त्रालय स्रोतका अनुसार, महत्वपूर्ण विषयमा निर्णय गराउन सचिव तथा विभागीय कर्मचारी प्रधानमन्त्री देउवालाई भेट्न जाने गरेका छन् ।

उद्योग मन्त्रालयमा मन्त्री नियुक्तिको विषय सरकारको प्राथमिकतामा नपर्नुलाई सरकारले नै उद्योग–व्यवसायलाई प्राथमिकता नदिएको सरोकारवालाहरुले भनाइ छ ।

अहिले यो मन्त्रालयमा दैनिक प्रसाशनिक बाहेक अन्य नीतिगत तहका काम अगाडि बढ्न सकेका छैनन् । यो समाचार कारोवार दैनिकमा छ ।