• असार १८ २०८१, सोमबार

कोही खाना नपाई मर्ने, कसैले सम्पती दोब्बर बनाउने यो विश्वविख्यात व्यथा

माघ ३ २०७८, सोमबार

काठमाडौँ । एक तथ्याङ्कका अनुसार संसारमा गरिबी तथा भोकमरीका कारणले हरेक चार सेकेण्डमा एकजना मानिसको मृत्यु भइरेहको छ । कोरोना भाइरसको महामारीको यो समयमा त झन् यो तथ्याङ्क बढी पनि हुन सक्ने आंकलन गरिएको छ । विश्व बैंककै तथ्याङ्कलाई आधार मान्ने हो भनेपनि उच्चमध्यम स्तरीय आय भएका देशका मानिसहरु नै पनि दैनिक ५ अमेरिकी डलर भन्दा कम दरमा कमाइ गरिरहेका छन् । नेपाल र यो भन्दा कम विकसित देशको अवस्था त झन् यो भन्दा भयावह रहेको छ । यो तथ्याङ्क पनि कोरोना महामारीमा थप जर्जर भएको छ । संसारमा आधाजसो जनसंख्या नै गरिबीको रेखामुनि रहेको तथ्य कतै लुकेको छैन । खासमा भन्ने हो भने अहिले संसारको मुख्य समस्या भनेकै गरिबी हो भन्दा अतिसयोक्ति हुँदैन ।

झन् करीब दुईवर्ष भन्दा बढी समयदेखि संसारमा कोभिड–१९ को महामारीले छाउँदा थप मानिसहरु गरिबीतिर धकेलिएका छन् । विश्व बैंकको एउटा पुँजीवादी धारणा अनुसार नै पनि कोभिड–१९ भन्दा पहिले दुनियाँमा करिब १६ करोड मानिसहरु गरिबीमा थिए र कोभिड पछि थप १६ करोड मानिसहरु गिरिबीतर्फ धकेलिएका छन् । संसारमा कोरोना भाइरसका नयाँ नयाँ प्रजाती थपिएर स्वास्थ्य संकट आइपरेको छ भने ९९ प्रतिशत मानिसहरु बन्दाबन्दीको कारण सकसमा रहेका छन् । अन्तराष्ट्रिय व्यापार चाहेजति र सोचेजति भइरहेको छैन । पर्यटकहरुको आवागमन लगभग बन्द जस्तै छ । पारवहन बन्द जस्तै रहेको छ । यो समयमा मानिसहरुले आफ्ना नियमित आर्थिक गतिविधि समेत गर्न पाइरहेका छैनन् । यसको परिणाम स्वरुप नै थप १६ करोड मानिस यही करिव २ वर्षको अवधिमा गरिबीमा झरेको विश्व बैंकको आँकडा बाहिर आएको हो ।

संसारमा ९९ प्रतिशत मानिसहरुको हालत यस्तो भइरहेको भएपनि केहि मुठीभर धनि मानिसहरुको भने अवस्था अर्कै रहेको पाइएको छ । फोर्ब्स पत्रिकाको सूचीमा रहेका १० जना संसारकै धनी मानिसहरु भने यही महामारीकै समयमा दोब्बर धनी भएका छन् । उसको सूचीमा रहेका विश्वका सर्वाधिक १० धनी मानिसहरु इलोन मस्क, जेफ बेजोस, बनार्ड अर्नोल्ड र उनको परिवार, बिल गेट्स, ल्यारी एलिशन, ल्यारी पेज, सर्गेइ ब्रिन, मार्क जुकर्वर्ग, स्टिभ भाल्मर र वारेन बफेट हुन् ।

जम्माजम्मी १० जना मानिसको हातमा विश्वकै मानिसहरुको पैसा पुग्दा उनीहरुको जम्मा सम्पती दोब्बर भन्दा बढी हिसाबले वृद्धि भएको हो । कोरोना भाइरस महामारी भन्दा पहिले जम्मा ७ सय अर्ब डलर सम्पती भएका उनीहरु कोरोना महामारीपछि आफ्नो सम्पती बढाएर १५ सय खर्ब डलर बनाएका छन् । कोरोना महामारीमा सम्पती बढेर झन् धनी हुनेहरुको सूचीमा सबैभन्दा अघिल्लो पंक्तिमा अर्बपति एलोन मस्क रहेका छन् भने उनीहरुमध्ये सबैभन्दा कम सम्पती बढ्नेमा विल गेट्स रहेका छन् । यही अवधिमा मस्कको सम्पती १ हजार प्रतिशत भन्दा धेरैले बढेको छ भने गेट्सको ३० प्रतिशतले बढेको पाइएको छ ।

अक्सफाम नाम गरेको एक परोपकारी संस्थाले सन् २०२० को मार्चदेखि यता विश्वका १० धनाढ्यहरुको जम्मा आय दोब्बर भन्दा बढि बढेको भनेर यस्तो तथ्य बाहिर ल्याएको हो । अक्सफामले भनेको छ,‘कोभिड महामारी फैलिएका समयमा बिपन्नतामा बाँचिरहेका सर्वसाधारण मानिसहरु अझ गरिबीतिर धकेलिएका छन् भने यही बेला विश्वका सर्वाधिक धनीहरु अझ बढी धनी भएका छन् ।’ सो संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आय न्यून भएका कारण विपन्न मानिसहरुले विश्वमा दैनिक २१ हजारको हाराहारीमा ज्यान गुमाइरहेका छन् ।

संसारका मानिसहरुमध्ये हजारौंको संख्यामा राजनीतिक नेताहरु, ब्यापारीहरु, समाजका चर्चित व्यक्तिहरु, अर्थशास्त्रीहरुका साथै पत्रकारहरु भेला भएर विमर्श गरिने डाभोस बैठक सुरु हुनुभन्दा केही दिन पहिले अक्सफामले यस्तो प्रतिवेदन बाहिर ल्याएको हो । यसपटक सो डाभोस बैठक स्विट्जरल्याण्डका स्कि रिसोर्टहरुमा हुनेछ। तोकिएको डाभोस बैठक कोरोना भाइरसको नयाँ प्रजाती ओमिक्रोन संसारमा फैलिएसँगै अब अनलाइनको माध्यमबाट हुने बताइएको छ । गतवर्ष पनि उक्त बैठक यही महामारीको कारण अनलाइन माध्यमबाट नै सम्पन्न भएको थियो ।