• फाल्गुन ३० २०८२, शनिबार

काठमाडौँको चन्द्रागिरिमा चक्कु हानेर एक जनाको हत्या

माघ ३ २०७८, सोमबार

काठमाडौँ। काठमाडौँको चन्द्रागिरि नगरपालिका– ८, गुर्जुधारामा चक्कु हानेर एक व्यक्तिको हत्या भएको छ।

काठमाडौँकै मातातीर्थ घर भइ र हाल गुर्जुधारामा बस्दै आएका २६ वर्षीय रोशन रिजालमाथि आइतबार चक्कु प्रहार भएको हो । चक्कु प्रहार गरी रिजालको हत्या भएको महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीका डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए । उनका अनुसार चक्कु लागेर अर्का एक जना घाइते भएका छन् ।

घटनालगत्तै प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा दाजुभाइ अनुज बस्नेत र अशोक बस्नेतलाई पक्राउ गरिसकेको छ । सामान्य कुरामा विवाद हुँदा उनीहरुले चक्कु हानेर रिजालको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

चक्कु प्रहार गर्नेमध्ये भाइचाहिँलाई आइतबार नै पक्राउ गरिएको र दाइचाहिँ भागेर धादिङ पुगेका बेला उतैबाट आज सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ भने मृतकको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।