• मंसिर २० २०८१, बिहीबार

यसकारण लेखें ‘हिरासतका दिन’

माघ ३ २०७८, सोमबार

राजनीतिक आन्दोलनको दृष्टिकोणबाट हेर्दा हिरासत र जेलको मोर्चा सामान्य पनि हो र असामान्य पनि । तर जसले यो पीडा भोग्छ उसले यसलाई सामान्य रूपमा लिनै सक्दैन । रुमानी गजल र महफिलमा ताली खाने सेरहरूजस्तो हुँदैन हिरासत र जेल बसाइ । यो जटिल हुन्छ । सकसमय हुन्छ । डरलाग्दो हुन्छ । वेदनामय हुन्छ । आक्रोशमय हुन्छ । मृत्यु र जीवनबीच जुन जटिलता हुन्छ त्यो तपाईंले हिरासतमा महसुस गर्न सक्नुहुन्छ । हिरासत एउटा पुस्तकालय हो । घाट हो । डम्पिङ साइट हो । संसद् हो । गाविस भवन हो । मदिरालय हो । समग्रमा यो एउटा दुनियाँ हो ।

फरक दुनियाँको एउटा कथा हो यो पुस्तक । यसलाई तपाईं कसरी पढ्नुहुन्छ, कुन विचारको चस्माले पढ्नुहुन्छ त्यो तपाईंको कुरा भयो । परिवर्तन आन्दोलनलाई मन पराउनुहुन्छ, तपाईंलाई वैज्ञानिक समाजवादप्रति आशा र भरोसा छ । न्याय र स्वतन्त्रता प्रिय लाग्छ भने कम्तीमा तपाईंलाई यो पुस्तक बकबास लाग्दैन ।

निरङ्कुश राज्यव्यवस्था रहुन्जेल न्यायप्रेमीहरूलाई थुन्ने, नजरबन्द गर्ने वा हत्यासम्म गर्ने क्रम रोकिंदैन । यस्तो अनुमान गर्न सकिन्छ–हुनेखाने हैकम चलुञ्जेल हिरासतहरू झन् बढ्लान् । जेलहरु फराकिला होलान् । अदालतका इजलास कक्षहरू झन् थपिएलान् । काला कोट लगाउनेहरुले न्यायलाई पार लगाउन नसक्लान् । कानुनका किताबले मान्छेका उन्मुक्त विचारमाथि डरलाग्दो शासन गर्ने रीत नरोकिएला । वैज्ञानिक समाजवाद कम्तीमा हाम्रो लक्ष्य हुनुपर्छ । तब मात्र हामीले भनेजस्तो र सोचेजस्तो समानताको बिहान झुल्कन्छ ।

फागुनको एक दिन सरकारले विद्रोही नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय गर्यो । उसले उर्दी जारी गयो रातो झन्डा बोक्ने, रातो किताब पढ्ने, राता मान्छे हूँ भन्ने जोकोहीलाई पनि समाउनू, घुँडामुनि गोली हान्नू, भात खुवाउनेलाई पनि समाउनू, समर्थितहरूलाई पनि बाँकी नछोड्नू, कुनै गतिविधि गर्न नदिनू ।

लोकतान्त्रिक गणतन्त्र आएको केही वर्षमा बनेको दुई तिहाइको कम्युनिस्ट भनिने सरकारले गरेको यो निर्णय कुनै पनि कोणबाट जायज थिएन । बुद्धिजीवी, नागरिक समाज, लेखक, पत्रकार, मानवअधिकारवादी, राजनीतिक दल आदिको चौतर्फी विरोध भए पनि सरकार आफ्नु निर्णयबाट पछि हटेन । झन् आक्रामक रूपमा अघि बढ्यो । सर्लाही र भोजपुरमा गैरन्यायिक हत्यासम्म गर्न उद्यत देखियो सरकार । हजारौँ राजनीतिक कार्यकर्ताहरू वैचारिक आस्था राखेकै आधारमा जेल परे । परिरहेका छन् । झन्डै सङ्कटकाल बिर्साउने गरी सरकार अघि बढिरहेको छ । देशमा अन्योलग्रस्त वातावरण सिर्जना गरेर चुड्का हानेर रमाउने काम हुँदैछ ।

प्रतिबन्ध सरकारले गीतहरूमाथि लगायो । कविता, अपेरा, संस्मरण, समालोचना र नाटकहरूमाथि लगायो । जनपक्षीय पत्रकारिता र सञ्चारमाथि लगायो । प्रतिबन्धले साँच्चै परिवर्तन चाहने वर्गको घाँटी थिच्यो ।

यही सिलसिलामा म गिरफ्तारीमा परेको थिएँ । हजारौँ आस्थाका बन्दीहरूजस्तै प्रहरीको ठूलो जत्थाले घेरा हालेर मलाई पक्राउ गरेको थियो । मलाई कुनै चर्चित अपराधको वादीजस्तै प्रचार गर्ने, प्रतिवेदन बनाउने, फसाउने, तर्साउने र अपराधी करार गर्ने काम भएको थियो । व्यापक विरोध र आन्दोलन हुँदाहुँदै पनि राज्यविरुद्धको अपराध राज्यद्रोहको मुद्दा मलाई चलाएको थियो । ज्यादै अमानवीय गैरन्यायिक ढङ्गले थुनामा राखिएको थियो । यो एउटा नागरिकले देखेको, भोगेको, अनुभव गरेको पीडालाई शब्दहरूमा व्यक्त गर्दा तयार भएको पुस्तक हो ।

अत्याचारी, तानाशाही र फासिवादीहरू जनपक्षीय, माक्र्सवादी कला, विचार र दर्शन शक्तिदेखि थर्थर हुन्छन् । उनीहरू गरिबका आँगनमा केटाकेटीहरू रमाउँदै नाचेको मन पराउँदैनन् । उज्यालो घाम मन पराउँदैनन् । शीतल जून मन पराउँदैनन् । फूलबारीमा फुलेको फूल मन पराउँछन् तर फूल गोड्ने मालीहरू मन पराउँदैनन् । मूर्तिहरूलाई देउता मान्छन् तर मूर्ति बनाउने दलितहरूलाई तुच्छ सोच्छन् । उनीहरू श्रम पराउँदैनन्, सिर्जना मन पराउँदैनन् । रूपान्तरण र परिवर्तन मन पराउँदैनन् ।

अत्यन्तै कष्टकर भएको छ । लुटेरा, ठग र दलालहरू उच्च र सम्मानित हुँदै गएका छन् । देशभक्त, जनतान्त्रिक र सच्चा वामपन्थीहरू अपमानित हुँदै गएका छन् । क्रान्ति र बलिदानीको जगमा फैलिँदै गरेको गणतन्त्रविरुद्ध प्रतिक्रियावादी र दक्षिणपन्थी तत्वहरू हावी भएका छन् । उनीहरू प्राप्त उपलब्धिहरूलाई उल्ट्याउन चाहन्छन् । भ्रम उत्पन्न गर्न चाहन्छन् । यस्तो बेला एउटा मार्क्सवादी स्रष्टा कसरी चुप बस्न सक्छ ? कदापि सक्दैन । ऊ बोल्छ । यो उसको कर्तव्य हो । अधिकार हो ।
बागी आवाज बोलेकै कारण यो देशमा पटकपटक सत्ताको बुट, नेल, जेल र चरम यातना भोग्नेहरूको लामो सूची नै तयार भैसकेको छ । व्यवस्थालाई जति नै सुधार गरिएको भनिए पनि नै स्थायी सत्ताचरित्रमा खासै परिवर्तन आएको छैन ।

भैरवनाथ गणलगायत सैनिक हिरासतमा यातना भोग्ने नागरिकहरूका कथा पढ्दा हामी यो युगको सबैभन्दा डरलाग्दो तस्विर पाउँछौँ । हजारौँ जनताले रगत बगाउँदा पनि, हजारौँ घाइते हुँदा पनि, हजारौँ टुहुरा हुँदा पनि हामीले खोजेको व्यवस्था आएको छैन । जनताले भनेझैँ भाकै छैन । वैचारिक आस्था र राजनीतिक विचारमाथि जुन ढङ्गले दमन गरिदैछ, यसले प्रस्ट रूपमा फासिवादलाई प्रश्रय दिएको छ ।

हिरासतको पट्यारलाग्दो वातावरणबीच मैले आशा र निराशा दुवै अनुभव गरेँ । त्यही अनुभूतिका स्वरहरू हुन् अक्षरहरू । जिन्दगीमा यस्ता कहरहरू नभोगिएको होइन । यी अनुभव नगरिएको होइन । तर यसपटक नितान्त फरक अनुभूति गरियो । त्यही फरक अनुभूतिलाई इमानदारीपूर्वक प्रस्तुत गरेको छु । झकिझकाउ विज्ञापन गरेर कमसल सामान बेच्ने बजारशास्त्रमा बिकाउ माल हुन नसके पनि यी अक्षर जनताका लागि प्रिय हुनेछन् भन्ने अनुभव गरेको छु ।

हिरासतमा बाँच्नु सास फेर्नु मात्र हो । यहाँ स्वतन्त्रता हुँदैन । यो घाट हो, मृत्युको चित्कारले भरिएको घाट तर पनि मेरो निराशालाई आशाले जित्यो । सपनाले जित्यो । प्रतिबद्धताले जित्यो । यो पुस्तक एउटा क्रान्तिकारी युवकले भोगेको कष्टसाध्य दिनहरूको बयान हो । प्रतिक्रियावादीहरूलाई मन नपर्ने बयान । सरकारलाई मन नपर्ने बयान । यो समयको सकस, भय र सङ्कटग्रस्त बयान ।

पिंजडा जस्तो संसारमा स्वतन्त्र मानवलाई एक दिन बाँच्नु पनि एक वर्ष बिताए जस्तो कठिन हुन्छ । प्रत्येक दिनहरू नौला हुन्छन्, केही शिक्षाप्रद हुन्छन् । पीडादायी हुन्छन् । यी हरफहरू केपी–पीके–बादल सरकारको हिरासतमा बितेका दिनहरूका कथाव्यथा हुन् । विक्रम संवत् २०७६ को वैशाख महिनादेखिको वर्णन गरेको छु । छोटो समयको बयान भए पनि यसभित्र प्रतिबन्धित राजनीतिभित्र अनेकन अप्ठ्याराहरू छन् भन्ने लाग्छ । राजनीतिक र साहित्यिक आन्दोलन बुझ्ने जान्नेहरूलाई यो महत्वपूर्ण होला भनेरै लेखेको हुँ ।

जनयुद्धले शान्ति प्रक्रियाको फड्के तरेपछि मुक्तियुद्धका योद्धाहरूलाई बजारले निलेको कुरा सत्य हो । भयानक धोकापछि जोजो किनारामा थिए, जोजो नक्कली गणतन्त्रले धोका दिँदैछ भन्नेमा थिए, उनीहरूले विद्रोहको क्रान्तिको झन्डा उठाएकै हुन् । बलिदान दिन पनि तयार भएकै हुन् ।

अहिलेका गृहमन्त्री रामबहादुर थापा बानेश्वर चोकमा उभिएर जनतालाई विद्रोहमा हेलिन अनुरोध गरेर उनी पाखा लागे पनि नेपालमा क्रान्ति चाहिन्छ भनेर लागेकाहरूले खुट्टा कमाएनन् । झन् बुलन्द बने । विडम्बना ! स्थिति उल्टो हुँदै गएको छ । घटनाक्रमहरूको विकास ज्यादै रहस्यमय ढङ्गले भैरहेको छ । राज्यले आफ्नु असली अनुहार देखाइरहेकै छ । जनताका नाममा कसम खाएर जनताको सपनालाई थिलथिलो पारिँदैछ ।

जेल र हिरासतको झ्यालबाट हेर्दा समग्र समाज नै विघटनको दिशामा गएको महसुस हुन्छ । राजनीतिक, सांस्कृतिक, सामाजिक जीवनमा आइरहेको धोका, छलकपट, निराशा अनि ‘डिप्रेसन’ले नेपालमा ठूलै उथलपुथल हुन खोजेको सङ्केत देखिन्छ । यसलाई क्रान्तिसँग जोडिएन भने ठूलो क्षति हुन सक्छ ।

हिरासतको कठिन बसाइमा मैले अनेकौँ पात्रसँग सङ्गत गरेँ । उनीहरूको जीवनका लुकेका पाटाहरूसम्म पुग्ने प्रयास गरेँ । राज्यको दमनकारी नीतिबारे बुझ्न पाएँ । जीवनको फरक पाटो अनुभव गरेँ । यो पुस्तक आन्दोलनकै निरन्तरता हो जसले रगतले लेखिएको जनताको इतिहासप्रति गर्व गर्छ र मानव मुक्तिको सपना देख्छ ।
२०७६ साउन १५ ।