यसपालि श्री सम्वत् २०७८ राक्षस नामको सम्वत्सर पौष शुक्ल द्धादशी, रोहिणी नक्षत्र, ब्रह्म योग, बालव करण, शुक्रबार रातको २० । २० प्रवादन काल सूर्य धनु राशिबाट मकर राशिमा जाँदै हेमन्त ऋतु दक्षिणायन सकिएर उत्तरायण शिशिर ऋतु आरम्भ भई माघमास आरम्भ भएकोछ ।
तिथिर्बारश्च नक्षत्रं योग करणमेव च पन्चागस्य फलं श्रुत्वा गंगा स्नान फलं लभेत्
अर्थात् तिथि, बार, योग, नक्षत्र र करण मिली बनेको पञ्चाङ्ग श्रवण गर्नाले गंगा स्नान गरेको फल मिल्ने भनेर शास्त्रमा वर्णन गरिएको छ ।
मानव जीवन समय चक्रमै घुमिरहेको हुन्छ । सौर्य मास अनुसार १२ राशिमा सूर्य परिभ्रमण गर्ने क्रममा मकर राशिमा सूर्य सङ्क्रमण हुन जाँदा माघे सङ्क्रान्ति हुन्छ । सूर्य दक्षिणायन बाट उत्तरायण भई हाम्रो भूगोल अनुसार दिन मान धेरै र रात्रीमान थोरै हुने हुँदा दिनको समयभन्दा रात्रीको समय कम हुने यस अवस्था सूर्य कर्कटराशिमा सरी श्रावण आरम्भ नभएसम्म कायम रहन्छ ।
उत्तरायण (माघदेखि आषाढसम्म) लाई देवताको दिन र दक्षिणायन (श्रावणदेखि पौषसम्म) लाई देवताको रात भनिन्छ । रात र दिनको उत्तिकै महत्व हुनाले उत्तरायणमा नयाँ घर सर्ने, विहे, ब्रतवन्ध आदि शुमकर्म बढी हुने गर्छ भने दक्षिणायन समयमा अधिकांश मुख्य चाडपर्व चतुर्मास व्रत, महादशैँ, नागपञ्चमी, कृष्णजन्माष्टमी, रक्षाबन्धन, तिहार आदि चाड पर्दछन् । पितृहरुका लागि विशेष उपासना गर्ने पितृपक्ष यसैबेला पर्छन् भने मानिसको इहलीला समाप्त हुनेबेलाचाहिँ तुलनात्मक रुपमा उत्तरायणलाई बढी शुभ मानिएको छ ।
तिथि, बार, नक्षत्र, योग र करण ५ अंग मिलेर पञ्चाङ्ग बन्छ, ज्योतिष शास्त्रको मूल आधार यही नै हो । प्र्रत्येक सङ्क्रान्ति सकेमा र नसकेमा श्रावण सङ्क्रान्ति, मकर सङ्क्रान्ति, मेष अर्थात् वैशाख सङ्क्रान्तिमा पन्चाङ्ग श्रवण गर्नाले घरैमा गङ्गास्नान गरेको पुण्य मिल्ने कुरामा पूर्वीयदर्शनले पुष्टि गरेको छ ।
काल (समय) ले कसैलाई छोड्दैन । समय सबैभन्दा बलवान् छ । महिना महिनामा आउने सङ्क्रान्ति (सङ्क्रमण) र कोठामा परिवर्तन हुने क्यालेण्डरका पानाहरुले आपूmले गरेका जीवन उपयोगी र समाजउपयोगी कामको गणना गर्न संकेत गर्छन् । छ, छ महिनामा हुने अयन परिवर्तनले अद्र्धवार्षिक समीक्षा र आत्मालोचना गर्न प्रेरित गर्छ । तृष्णा बढाउने, रोगवृद्धि गर्ने तर कालचक्र भन्दा माथि छु भन्ने अहं भावनालाई त्यागेर आगामी दिन बढी सुखद र आनन्दमय बनाउन सामाजिकसेवा र परहितकारी काममा प्रेरित हुने संकेत हो सङ्क्रान्ति भनौँ अयन परिवर्तन ! जीवन सन्तुलित र सौम्य सक्रिय र साहसिलो बनाउन आत्मबलको प्रेरणा दिन्छ, अयन परिवर्तनले ! सके बाल्यावस्थादेखि नै नसके किशोर वा यौवनावस्थादेखि नै मानवजीवनलाई लक्ष्योन्मुख, उद्धेश्योन्मुख हुन पनि प्रेरित गर्छ, अयन परिवर्तनले !
दार्शनिक, आध्यात्मिक महत्वको साथै मकर सङ्क्रान्तिको सांस्कृतिक महत्व पनि रहेको छ । हाम्रो मुलुकको अधिकांश जीवनस्तर कृषिमै आधारित छ । मुख्यबाली धान, मकै, कोदो, भटमास आदि रोपणबेला अर्थात् वर्षायाम खेतबारीको काम वर्षाको समयमा पर्छ । कृषिको आधार छ वटा ऋतुमध्ये वर्षाऋतुको आरम्भ कर्कट सङ्क्रान्तिबाटै सुरु हुन्छ । यस्तोबेला खेती र किसानी गर्नेहरु झन् बढी स्वस्थ हुनुपर्ने र कीरा फट्याङ्ग्रा आदिको प्रकोपबाट बच्न स्वास्थ्य मजबुत राख्न यसदिन विशेष कार्य गर्ने चलन छ ।
हिलो, मैलो, वर्षाको कारण घाउखटिरा आदि चिलाउने छालाजन्य रोग नलाग्न साउने सङ्क्रान्तिको साँझपख लुत्तो फाल्ने चलन छ । लुत्तो फालेपछि जडीबुटीको रुपमा रहेको कुकुरडाइनोको पात जलाएर घाउ खटिरामा मलम लगाउने चलन छ । साँझपख कण्डारक नामक पिशाचको पूजा गरी लुतो फाल्नाले छालाजनित रोग नहुने विश्वास गरिन्छ । अर्को धसिङ्गरेको बोट बाल्ने, पड्काउने, सल्लाको काठको मुठालाई ७÷७ वटा पार्ने ती मुठालाई निशाचार पिशाचलाई चढाई ४ वटा सल्लाको दाउरालाई आफ्नो घरको मूलधुरी नाघ्ने गरी चारैदिशामा फाल्ने अनौठो संस्कृति अहिले पनि गाउँतिर पाइन्छ ।
मासको फुलौरा खोरीमा राखी फलपूmलसमेत चढाउने, आँगन, चोक गोवरले लिप्ने, सफा पहिरनसाथ दर्शनढुंगा (सेतो ढुंगा) मा कण्डारक देवता स्थापना गर्ने, दिप, कलश, गणेशसहित पूजा, उपासना गर्ने विधान छ । पिठोले रेखी हाली, कर्ममात्र, पूजासामान, नैवेद्य भेटीसहित आँगनमा बसेर पृथ्वीको पूजासमेत त्यहीँ गरिन्छ । अन्त्यमा धूप, दिप, दक्षिणा, समापन आदि कार्यसमेत पूजाका विधानले गर्ने गरिन्छ । अन्त्यमा नाङलो ठटाएर अपशकुनहरुलाई खेद्ने कार्य पनि हुन्छ ।
माघ निश्चय नै बढी चीसोको समय हो र त शरिरको तापक्रम मिलाउन घिऊ, चाक्कु, तरुल, मिठा परिकार लड्डु आदि खाने, दान पनि गर्ने गरिन्छ । अयन परिवर्तन हुँदा विशेष नदी, जलाशयमा स्नान, तागाधारीहरुले नयाँ जनै लगाउने गर्छन् । सहरबजारतिर भने अयन परिवर्तन हुने कर्कट वा मकर सङ्क्रान्तिमा देव मन्दिरहरुमा जाने, विशेष स्नान, सन्ध्यावन्दन गर्ने, ब्राह्मणहरुबाट सङ्क्रान्ति फल श्रवण गर्ने, स्वस्तिवाचन गराउने, आफन्त चेलीबेटीहरुलाई बोलाई टिका र प्रसाद दिने, मीठा खानेकुरा खुआउने एउटा संयोगको पर्वको रुपमा मानेर खुशियाली आदानप्रदान गर्ने रुपमा मनाइने गरिएको पाइन्छ । सबैजसो चाडबाड आरम्भको संकेत दिने पर्व श्रावण सङ्क्रान्ति हो भने मकर सक्रान्तिले चाडबाडको विदाइ गरेको पनि भनिन्छ । हरेक धार्मिक, सांस्कृतिक पर्वले आप्mनो मौलिक परम्पराको चिनारी पनि दिने गरेको छ, धर्म संस्कृतिलाई स्थापित गराएको छ ।
राशिफलबाट हेर्दा यो माघ महिना सूर्य र चन्द्रफल मेष राशिलाई नयाँ काम पाइने साथै धनार्जन हुने योग छ । वृषलाई स्वास्थ्यमा समस्या देखिन्छ भने अनाजको लाभ पनि हुने देखिन्छ । मिथुन राशिलाई केही हैरानी केही खर्चको योग छ । कर्कटलाई केही आन्तरिक भ्रमण र आर्थिक लाभ हुने देखिएको छ । सिँह राशिलाई शत्रु र रोग माथिको विजय र सुख मिल्ने हुन्छ । कन्या राशिका लागि केही दीनता, मनको दुःखाइ र राजकाजबाट सुख सुविधा हुने हुन्छ । तुलालाई मान मर्यादामा समस्या र केही कष्ट सहनु पर्ने देखिन्छ । वृश्चिक राशिलाई ऐश्वर्य प्राप्ति हुने परिवारमा सुख सुविधामा वृद्धि हुने हुन्छ ।
धनु राशिलाई मनमा चिन्ताले डेरा जमाउने तर आर्थिक लाभ भने मनग्गे हुने देखिन्छ । मकर राशिका लागि बासस्थान छोडी केही वरपर भ्रमणको सम्भावना छ, नयाँ कार्य सिद्धि हुने पनि योग रहेको छ । कुम्भ राशिका मानिसलाई अलि बढी खर्च भइ हाल्ला भन्ने समस्या छ भने मीन राशिका जनहरुलाई भने लाभै लाभ भनौँ ऐश्वर्य, धन, समृद्धिको वर्षा हुने देखिन्छ ।
कोभिड–१९ कै बीच यसपालिको स्वस्थानी मेला पनि शुरु भएको छ यही माघ ३ देखि । साँखु बजारबाट एक–डेढ किलोमिटर पूर्वतर्फ शालीनदी क्षेत्र रहेको छ । प्रसिद्ध नदीकै नामबाट यो क्षेत्र शालीनदी क्षेत्रले चिनिन्छ । शालीनदी श्रीस्वस्थानी देवीको अति पावन पीठ हो । पौष शुक्लपूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म यहाँ श्रीस्वस्थानी देवीको व्रत उपासना गरिन्छ ।
स्कन्दपुराण, केदारखण्डका अनुसार हरेक हिन्दु धर्मावलम्बीहरूका घरघरमा श्री स्वस्थानी देवीको व्रत उपासना गर्ने, स्वस्थानी कथा भन्ने, सुन्ने चलन रहेको छ । स्वस्थानी व्रत कथाका अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाउन यो व्रत गरेकी थिइन् । माघस्नान गर्ने क्रममा शालीनदीमा स्नान गरी नजिकै रहेका हरिहरको पूजा आराधना र स्वस्थानी देवीको पूजा गरेमा इच्छित फल प्राप्त हुन्छ । शालीनदीको जल अर्चन गर्दैमा पनि शरीरको रोग निको हुने, आरोग्य प्राप्ति हुने, तनमा कान्ति र मनमा शान्ति प्राप्त हुने विश्वास गरिन्छ । अघि यहीँ व्रत उपासना गरेर कुरुप भएकी चन्द्रावतीले सुन्दर वदनयुक्त शरीर प्राप्त गरेकी थिइन् ।
शालीनदीमा स्नान गरेर चन्द्रावतीले गुमेका आफ्ना पति नवराजलाई पाएकी थिइन् । शरीरमा नवकान्ति प्राप्त गरेर नजिकै रहेको लावण्य देशकी रानी भएकी थिइन् । गोमा नामकी ब्राह्मणीले हराएको आफ्नो पुत्र नवराज प्राप्त गरेकी थिइन् । विछोड भएका नाग–नागिनीको पुनर्मिलन भएको थियो । धनधान्य र आफ्नो अटल सौभाग्य अनि वैभव प्राप्त गर्न चाहनेहरू श्रीस्वस्थानीको उपासना शालीनदी क्षेत्रमा बसेर गर्ने गर्छन् । वर्षेनी हजाराँैं व्रतालुहरू शालीनदीमा स्नान गर्ने गर्छन् ।
हातगोडाको नङ काटी, शुद्ध भई, एकभक्तिले रही, नित्य महादेवको पूजा गरी, ठूलो उत्साहका साथ व्रत उपासना गर्छन् । तिनीहरू ब्रतकै क्रममा चाँगुनारायण, पनौती, पशुपति क्षेत्रसम्म पुग्छन् । यसपालि पनैतीमा मकर मेला १२ वर्षै लाग्दैछ, यसै माघको १ देखि । व्रतप्रतिष्ठा गर्दै माघ शुक्ल पूर्णिमामा श्रीस्वस्थानी देवीको व्रत साङ्गे गरी विशेष यज्ञ समेत गर्छन् । माघ महिनामा शालीनदी क्षेत्र साँखु शहर नयाँ दुलही झैंँ झपक्क सिंगारिएको हुन्छ । साँखुलाई पहिले लावण्य देश भनिन्थ्यो । नवराज राजाले राज्य गरेको क्षेत्र अहिले पनि सुन्दर छ । कुनैबेला यहाँ शंख देवनामक राजाले राज्य गरेका थिए भन्ने भनाइ छ । यस अर्थमा यहाँको नाम शंखपुर र पछि शंखरापुर भनिन थाल्यो । शंखरापुर पछि अपभ्रंश हुँदै साँखु नामले चिनिन पुग्यो ।
शालीनदी क्षेत्रमा प्रसिद्ध माधव नारायणको मूर्ति, ठूला–ठूला पाटी र सत्तलहरू छन् । यहाँ सधैंजसो कथा र प्रवचनहरू भैरहन्छन् । ४०० मिटरजति दक्षिण समथर क्षेत्रमा चन्द्रावतीको शिला छ । स्वस्थानी कथाका अनुसार यहाँं चन्द्रावतीलाई डोलीमा बोकेर ल्याउँदा हावा–हुरीमा परी लडेका डोलेका शिलाहरु पनि छन् । चन्द्रावती बस्ने सानो छाप्रो (कुटी) पनि छ । स्वर्गदेखि अप्सराहरू आएर यहाँ माघस्नान र श्रीस्वस्थानी देवीको पूजा र उपासना गरेकाले यो क्षेत्र पुण्यक्षेत्र भएको हो ।
यसैक्षेत्रमा बसेर चन्द्रावतीले स्वस्थानी देवीको उपासना गरेकी हुन् । स्वस्थानी देवीको स्वरुप यस्तो छ । सुवर्ण वर्णकी, तीननेत्रधारी, प्रसन्न मुद्रामा रहेकी, कमलनयनी, सिंहासनमा बसेकी, ४ हात भएकी देवीले सम्पूर्ण भक्तहरूको मनोकाङक्षा पूरा गर्छिन् भन्ने जनविश्वास रहेको छ । एक हातमा नीलकमल, अर्काे हातमा शंख र अर्काे हातमा ढाल अनि अर्काे हातमा वरदमुद्रा लिएकी देवीले आमभक्तहरूको सदिच्छालाई साकार पार्छिन् । स्वस्थानीको शाब्दिक अर्थ हुन्छ–आ–आफ्नो स्थानमा बसेर आ–आफ्नो भूमिका र कर्तव्य निर्वाह गर्नु, पथभ्रष्ट नहुनु, कर्तव्यच्यूत नहुनु, सम्पूर्ण क्षेत्रबाट सबैले आ–आफ्नो पदीयआचरण, मर्यादा अनुकुलको विधि व्यवहार गर्न सकेमा सबैतिरको कल्याण हुन्छ ।
साँखु (शंखरापुर) प्राचीन समयदेखि नै पावन क्षेत्र हो । बजारको उत्तरढोका बाहिरपट्टि प्रसिद्ध ६४ ज्योतिर्लिङ्ग मध्येको पावन ज्योतिर्लिङ्गेश्वर मन्दिर रहेको छ । परम्परागत शैलीमा निर्मित यो मन्दिरमा सुनको जलप लगाइएको गजुर छ । इँटाको गाह्रो, झिँगटीको छानो भएको दुईतले कलात्मक मन्दिरलाई ज्योतिर्लिङ्गेश्वर मन्दिरको नामले चिनिन्छ । नित्य पूजा–आरती भइरहने यो मन्दिरको पूर्व, दक्षिण र उत्तर समेत तीनैतिर सडकले छोएको छ भने उत्तरपट्टि खालि जमिन कैलाश क्षेत्र छ । गणेश, शिव, देवीहरुका मन्दिर पनि रहेको यो क्षेत्रमा शालीनदी स्नान गरी यहाँ विशेष पूजा गर्नेहरुको भीड लाग्छ । शिव र शक्तिको संयुक्त उपासना गर्ने नेपाली परम्परा अनुसार शिवजीे विराजमान रहनुभएको यो क्षेत्रमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ । वैशाख शुक्ल पूर्णिमाका दिन यस मन्दिर परिसरमा विशेष पर्वपूजा हुने गर्छ ।
यस वर्षको स्वस्थानी आरम्भ यही माघ १५ गतेदेखि भएको छ । १ महिनासम्म भनिने स्वस्थानी सत्ययुगीन इतिहास हो । कलियुगमा सदा यज्ञ, हवनादि कार्य संभव हुँदैन । पर्वविशेषको तीर्थस्नानबाट यसको पूर्ति हुने कुरा शास्त्रहरुले पुष्टि गरेका छन् । स्वस्थानी श्रवण, विभिन्न क्षेत्रहरुमा गरिने पुण्यकर्मले सत्य, त्रेता, द्धापर आदि युग विशेषमा मानवले गर्ने सत्कर्मको फल प्राप्त हुने हुन्छ । मानव जीवनको उषाकाल सत्ययुग हो, ज्ञानको आरम्भको समय त्रेतायुग हो । ज्ञानको प्रयोगको समय द्धापरयुग हो । कलियुग धर्म र कर्म दुवैको समय हो ।
स्नानले तन शुद्धि, दानले धन शुद्धि, ध्यानले मन शुद्धि हुन्छ । दानमा महिना विशेष, समय विशेष तोकिएको छ । गाई, भूमि, तिल, बस्त्र, सुन, धान्यादि वस्तुहरुको दानले तन, मन, धन सबै पवित्र बन्छ । बैशाखमा जल र अन्नदानको महत्व बढी छ भने कार्तिकमा तप र पूजाको अधिक महत्व छ । माघमा भने यी सबै पुण्य केवल स्नानले मात्रै प्राप्त हुन्छ । सकाम भावले स्नान गरे मनोरथ पूरा हुने र निस्काम भावले स्नान गरे जीवनमा परमगति प्राप्त हुन्छ । अन्य पुण्यकर्मले स्वर्ग प्राप्ति र पुण्य क्षीण भएपछि स्वर्गबाट फिर्ता हुनुपर्छ भने माघस्नानबाट सदाको लागि दिव्यधाम प्राप्त हुने कुरामा शास्त्रहरुले गर्जन गरेका छन् ।
वज्रयोगिनीको चर्चा गर्दा सृष्टिको उषाकालमा विष्णुका पसिनाबाट उदय भएका मधुकैटभ सृष्टिकर्ता ब्रह्माप्रति जाइलागे । ब्रह्माजी डराएर योग निद्रामा रहेका विष्णुलाई जागा भएपछि त्रिदेव ब्रह्मा–विष्णु–शिवले संयुक्त रुपमा स्तुति गरेकाले देवीको नाम योगिनी रहेको र योगिनीदेवीको कृपाबाट मोह र क्रोधरुपी मधुकैटभलाई वध गर्न सफल भए । यी देवीको निवास स्थानलाई योगकुट पर्वत भनिन्छ । तान्त्रिक विधिबाट नित्य वज्रयोगिनीको पूजा हुने गर्छ । काठमाडौं खाल्डोबाट चोभारको डाँडो काटी पानी बाहिर पठाउन र स्वयम्भू स्तूपको निर्माण गर्न मञ्जुश्रीलाई प्रेरणा दिने देवी यिनै हुन् भन्ने विश्वास गरिन्छ । वज्रयोगिनीदेवी एक प्रसिद्ध शक्तिपीठ हुन् ।
काठमाडौँ उपत्यकाको उत्तरपूर्व मणिचूड डाँडोमा वज्रयोगिनी मन्दिर रहेको छ । काठमाडौंबाट करीब २२ कि.मि.को दुरीमा साँखु बजार छ । साँखु बजारदेखि उत्तर उकाली चढ्दै गएपछि वज्रयोगिनी मन्दिर पुग्न सकिन्छ । यो मन्दिर नेपाली शैलीमा बनेको छ । तीनतले यो मन्दिर अलि एकान्त स्थलमा छ । वरिपरि घनाजङ्गल छ । शहरलाई ८ देवीहरूले रक्षा गरेका छन् भन्ने जनश्रुति रहेको छ । लिच्छवि कालको अभिलेखले साँखु शहर बौद्धतीर्थ हो भन्ने पनि जनाउँछ । हिन्दुहरूले प्रसिद्ध वज्रयोगिनीलाई काठमाडाँैंको दक्षिणतर्फ रहेकी दक्षिणकालीकै रुपमा मनाउँछन् ।
वज्रयोगिनीको अर्काे नाम डाकिनी पनि हो । हिन्दुहरुले ६४ ज्योतिर्लिङ्गलाई शिवलिङ्गका रूपमा विशेषगरी मनाए झैं ६४ योगिनीका रुपमा भगवतीलाई मनाउँछन् । ६४ योगिनीमा नैरात्मायोगिनी, खड्गयोगिनी, विद्यायोगिनी आदि प्रमुख हुन् । देवमाला वंशावलीका अनुसार वज्रयोगिनीको मन्दिर सन् ८२४ मा निर्माण भएको हो । नेपालमा रहेका विभिन्न पीठहरूको अध्ययन गर्दा हालसम्म अन्यत्र क्षेत्रमा योगिनीदेवीको मन्दिर भेटिएको छैन । स्कन्दपुराण, हिमवत्खण्ड नेपाल माहात्म्यमा ‘ने’–नामक मुनिले योगिनीदेवीको विशेष उपासना गरी देवीको वरदकृपाबाट नेपालको स्थापना गरेका हुन् भन्ने उल्लेख भएको पाइन्छ । यसअनुसार ने मुनिले नेपालको स्थापना गर्न यिनै देवीको कृपाप्रसाद प्राप्त गरेको आंकलन सहजै गर्न सकिन्छ ।
तन्त्रशास्त्रमा वज्रयोगिनीको स्वरुप बताइएको छ । देवीको स्वरूप र ध्यान मुद्रा फरक फरक छ । शरीरमा छिरविरे रंगको नरम पहिरन भएकी यी देवीको मुख भने पूर्णचन्द्र जस्तो छ । मृगनयनी, रसिला ओठ, सिन्दुर र चन्दनलेपन गरेकी, अति षोडशीरुप भएकी, कल्पवृक्ष मुनि बसेकी, रत्नसिंहासनमा विराजमान भएकी, देव्रेहातमा त्रिशूल घुमाइरहेकी, तीननेत्रले शोभित, गुञ्जाफल लिएकी देवीको स्वरूप विचित्रको देखिन्छ । कैंची र नरमुण्डमालाले शोभित भएकी देवी अग्ली छिन् ।
घोररूप भएकीले डरलाग्दीे देखिन्छिन् । चन्द्रमुखीदेवीको मुखमा मासु, रगत समेत अड्केको प्रतित् हुन्छ । धर्ममुद्रामा रहेकी वज्रयोगिनीदेवीले कमल र कलश धारण गरेकी छिन् । साँखुमा बस्नेहरू यी देवीलाई आफ्नो कुलदेवीका रुपमा हेर्छन् र नित्य उपासना पनि गर्छन् । अघि मणिचूड पर्वतबाट यिनको उदय भएको हो भन्दछन् । वज्रयोगिनी मन्दिर परिसरमा प्रत्येक वर्ष चैत्र शुक्लपूर्णिमाका दिन ठूलो मेला लाग्छ । यो मेला एक हप्तासम्म चल्छ । योगिनीका दुई दिदी– बहिनीहरू छन् । माथिल्लो सत्तलमा रहेकी देवीलाई खटमा राखेर साँखु बजारमा ल्याइन्छ ।
७ दिनसम्म साँखु बजारमा चहलपहल बढी हुन्छ । वरिपरिका असंख्य श्रद्धालु भक्तजनहरू यहाँ दर्शन गर्न आउँछन् । विशेषगरी स्थानीय नेवार समुदायमा चाहिँ यो एउटा विशेष पर्व नै हुन्छ । टाढा–टाढा रहेका आफन्तहरू पनि यतिवेला यहाँ आएर आफन्तसँग भेटघाट, खानपिन, मनोरञ्जन र देवीको दर्शन गर्ने गर्छन् । देवीलाई बजारमा ल्याउँदा सिंहिनी, ब्याघ्रिणी र त्यहाँ रहेको बुद्धस्तूपलाई पनि खटमा राखेर ल्याइन्छ । वज्रयोगिनी मन्दिरसँगै रहेको चैत्य गुँ विहारको चैत्य मानिन्छ ।
अघि लिच्छवि कालमा वज्रयोगिनी रहेको स्थानलाई गुँ विहार भन्ने गरिन्थ्यो । प्राचीन समयदेखि आम नेपालीहरू हिन्दु र बुद्धधर्मलाई आत्मासात् गर्थे भन्ने स्पष्टोक्ति यसबाट मिल्छ । वज्रयोगिनीदेवी मन्दिर नजिकै रहेकी सरस्वतीदेवीको पनि पूजा–उपासना गर्ने गरिन्छ । खासगरी वसन्त पञ्चमीमा त्यहाँ केटाकेटीहरु देवीको पूजा गर्न जान्छन् । विद्यालय परिवार पिकनिक, मनोरञ्जन आदि कर्मका लागि पनि त्यहाँ पुगेको देखिन्छ ।