• मंसिर ९ २०८१, आईतवार

पशुपतिपछि जनकपुर धर्मशालामा बतास समूहद्वारा कौडीको मूल्यमा होटल निर्माण, सम्बन्धित पक्ष मौन

माघ ३ २०७८, सोमबार

काठमाडौं । तीर्थालुको बसाइ सहज बनाउने उद्देश्यसहित निर्माण गरिएका धर्मशालामा निजी कम्पनीहरूले आँखा लगाउने क्रम बढेको छ ।

भारतले पशुपतिमा बनाइदिएको धर्मशाला बतास अर्गनाइजेसनले हत्याएको दुई वर्ष नबित्दै जनकपुरस्थित धर्मशाला ‘तिरुमाला तिरुपती देवस्थानम् यात्रीनिवास’ द पिक हस्पिटालिटी प्रालिले २० वर्षका लागि लिजमा लिएर होटेल बनाउँदै छ ।

यो त्यही कम्पनी हो, जसले पशुपतिको धर्मशालामा बतासले चलाएको होटेलको व्यवस्थापन हेर्ने गर्छ ।

जनकपुरको बाह्रबिघानजिकै रहेको यात्रीनिवास धर्मशाला दक्षिण भारतको तिरुमाला तिरुपती बालाजी ट्रस्टले बनाइदिएको होे । जानकी मन्दिर दर्शन गर्न आउने भक्तजनलाई सहज वासका धर्मशाला बनाइएको थियो ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पदाधिकारीसँगको मिलेमतोमा पिक हस्पिटालिटीले एक बिघा जग्गा र त्यसमा रहेको तीनतले धर्मशाला वार्षिक ३० लाख १२ हजार तिर्ने गरी ठेक्कामा लिएको हो । परिषद् र पिक हस्पिटालिटीबीच १० वैशाख ०७८ मा २३ बुँदे सम्झौता भएको हो ।

सम्झौताअनुसार पिक हस्पिटालिटीले यात्रीनिवासको नाम नै हटाएर होटेल चलाउनेछ । अहिले मर्मतसम्भार भन्दै २१ कोठे भवनको पहिचानसमेत मेटिने गरी पुराना संरचना भत्काउँदै नयाँ बनाइरहेको छ ।

फागुनदेखि होटेल सञ्चालन गर्ने तयारीअनुसार धर्मशालाका भित्तादेखि कोठाहरू भत्काइँदै छन् । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।