• फाल्गुन ३० २०८२, शनिबार

इलामको चिया उद्योगमा आगलागी,कारखाना जलेर ध्वस्त हुँदा १० करोड बढीको क्षति

माघ २ २०७८, आईतवार

इलाम । इलाम सूर्योदय नगरपालिकाको चिया उद्योगमा भिषण आगलागी भएको छ । श्रीअन्तुस्थित इलाम टी प्रोड्युसर प्रा.लि. मा साँढे ३ बजेबाट शुरु भएको आगलागीबाट चिया कारखाना पुर्ण रूपमा ध्वस्त भएको छ ।

आगलागीबाट ११० फिट लम्बाई ७० फिट चौडाइ रहेको चिया उद्योग जलेर नष्ट भएको छ । आगलागीबाट उद्योगमा रहेको दुईवटा ड्रायर मेसिन, पाँचवटा रोलिङ टेबुल, तीनवटा हिटर मेसिन, पाँचवटा सर्टिङ मेसिन,२४ वटा वेदरिङ ट्रफ जलेर नष्ट भएको छ ।

आगलागीबाट उद्योगमा स्टक गरी राखिएको ८० हजार किलोभन्दा बढी तयारी चिया पनि जलेर नष्ट भएको इलाम टी प्रोडुसर्स प्रालिका प्रबन्धक ओमकार काफ्लेले जानकारी दिए । चिया उद्योगमा आगलागी हुँदा कार्यालय भवन, स्टाफ क्वार्टर र जेनेरेटर रुम बाहेक अरू सबै संरचना नष्ट भएको छ ।

आगलागीबाट भवन, मेसिन उपकरण र तयारी चिया समेत गरेर १० करोड भन्दा बढिको क्षति भएको काफ्लेले जानकारी दिए । चिया उद्योगमा दिउँसो ३ बजेतिर आगलागी भएको थियो ।

आगो नियन्त्रणको लागि सूर्योदय नगरपालिका, इलाम नगरपालिका, मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाको दमकलसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरेको भए पनि उद्योग पूर्णरुपमा जलेको छ ।

उद्यमी अशोक मुरर्काको सो उद्योग दैनिक १५ हजार किलो हरियो पत्ति प्रशोधन गर्ने क्षमताको थियो । २०५३ सालमा स्थापना भएको इलाम टी प्रोडुसर्स प्रालिको उद्योग निजी क्षेत्रबाट स्थापना भएको दोस्रो चिया कारखाना हो ।