काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोनामुक्त भएका छन्।
प्रचण्डको नीजि सचिवालयका अनुसार पछिल्लो पटक आइतबार बिहान गरेको स्वाब परीक्षणको रिर्पोट नेगेटिभ आएको हो।
अध्यक्ष दाहाललाई गत पुस २४ गते गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको थियो। त्यसयता उनी घरमै आइसोलेसनमा छन्। सचिवालयका अनुसार प्रचण्डको स्वास्थ्यमा भने कुनै जटिलता देखिएको छैन। सम्भवतः एक दुई दिन आराम गरेर अध्यक्ष प्रचण्ड पार्टीका गतिविधिमा सक्रिय हुने छन्।
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको केही दिनपछि स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अध्यक्ष प्रचण्डको पिसिआर परीक्षण गरिएको थियो। उनीसँगै केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी, केन्द्रीय नेताहरूमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो। अधिवेशनपछि अधिकांश नेता तथा कार्यकर्तामा कोरोना देखिएपछि पार्टी पदाधिकारी चयन रोकिएको छ।