अहिले फेरि धमाधम अग्ला न अग्ला गगनचुम्वी महलहरु रातारात बन्न थालेका छन् । भवन निर्माणका यी कार्यहरुले २०७२ सालको भूकम्प अब गर्भगृहमा गइसक्यो क्या रे भनेर सोच्ने अवस्थामा पुर्याएका छन् । भवन निर्माण कार्य आफैमा भौतिक पूर्वाधार निर्माणको कार्य हो । यो विकास निर्माणको एक पाटो पनि हो ।
तर नेपालको विशेष गरी काठमाडौं उपत्यकाको भौगर्भिक बनावट गगनचुम्बी भवनमैत्री छैनन् । यहाँको जमिन आफैमा बलौटे–दोमट माटोबाट निर्माण भएको छ । निकै उर्वर रहेकाले खेती किसानीका निकै उपयुक्त रहेको यो भूमि सामान्य भवन निर्माणका लागि पनि उपयुक्त छैन । भवनका लागि यो खतरापूर्ण छ । यस कारणले पनि कि नेपालमा हरेक १० वर्षको अन्तरालमा केही मध्यम र ठूलाखाले भूकम्पहरु आउने जाने गरिरहेका छन् ।
भूकम्प मात्र होइन, पराकम्पले पनि उपत्यकाको यस्तो कमजोर भूसतहमा निकै त्रासदी सिर्जना गर्ने गरिरहेको छ । तर भवन निर्माणका लागि लगानी कर्ताहरुले गरेको लगानी र भवनको उचाइ हेर्दा उनीहरुले २०७२ सालको भूकम्पको भूतसमेत देख्न छाडिसकेका छन् । यसले फेरि पनि आमनेपालीको मनमा सन्देह उत्पन्न गरिदिएको छ ।
कतै यस्ता गगनचुम्बी महल निर्माणका कारण फेरि नेपालीले जानीजानी अर्को दूर्दशा बेहोर्नु पर्ने त होइन ? २०७२ सालको भूकम्पपछि भवन निर्माण संहिता र मोडालिटीका बारेमा निकै ठूल्ठूला बहस भए । सरकारी तथा निजी भवन निर्माणका लागि पनि भवन निर्माण आचार संहिताहरु बने र कडाइका साथ पालना गरिनु पर्ने निर्देशनहरु आए ।
तर भवन निर्माणको नयाँ मोडालिटी तथा संहिताले कत्तिको स्थान पायो, त्यो भने आमजनताका लागि रहस्य जस्तै बनिरहेको छ । गोर्खाको बारपाकमा निर्माण गरिएका बस्ती र अन्य स्थानमा निर्माण भएका केही घरहरुमा यसको छनक पाइए पनि काठमाडौं उपत्यकामा भने यसको नियमित उल्लंघन भैरहेको छ । २०७२ सालमा भूकम्प आएकै बेला वसुन्धरानजिक निर्माण भएका होराइजन लगायतका जुम्ल्याहा र तिम्ल्याहा गगनचुम्बी भवनहरु अहिले पनि भयाबह सूचना दिंदै आफूलाई जीर्णशीर्ण अवस्थामा प्रस्तुत गरिरहेका छन् ।
यसो हुनुमा भवन निर्माणमा प्रयोग गरिनु पर्ने सामग्री कमसल हुनु मात्र होइन, यस्ता भवन निर्माण गरिएका धरातल पनि निकै कमजोर रहेको छ । उपत्यका आफैमा बलौटे दोमट माटोबाट निर्माण भएको छ । यो ठूला आवास तथा भवन निर्माणका लागि उपयुक्त छैन ।
अर्कोतिर नेपाल आफैमा इण्डिया र तिब्बतजस्तो एउटा सिंगो बेसप्लेट भएको देश होइन । यसको सतहमुनिका चट्टान खण्डित र टुक्राटुक्रा अवस्थामा छन् । नेपाल र सिंगो हिमालयको निर्माण पनि पृथ्वीमा सबैभन्दा पछि मात्र भएको हो । ठूला भौगर्भिक हलचलसँगै उत्तरतिरको तिब्बतीयन र दक्षिणतिरको युरेसियन वा इण्डियन प्लेटको आपसी धक्कापक्कीका कारण नेपाल पछि मात्र उत्पत्ति हुन गएको हो ।
अहिले पनि तिबतीयन प्लेट र इण्डियन प्लेटको आपसी टकरावका कारण नेपालमा बारम्बार भूकम्प गइरहने गरेको छ । यसरी जाने भूकम्पबाट मात्र होइन, पराकम्पले समेत नेपाल अहिले पनि जोखिमपूर्ण अवस्थामा छ । त्यसैले भवन निर्माणमा पनि भूकम्प प्रतिरोधी मोडालिटी पछ्याउनु जरुरी छ ।