• बैशाख १६ २०८२, मंगलवार

विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी : गृहमन्त्री खाँण

माघ २ २०७८, आईतवार

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँणले विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी रहेको बताएका छन्। काठमाडौँ महानगरपालिकाद्वारा आज यहाँ आयोजित २४औँ भूकम्प सुरक्षा दिवस तथा राष्ट्रिय भूकम्पस्मृति सभामा उनले तीनै तहको सहकारको समन्वय र सहकार्यले मात्रै जोखिम कम गर्न तथा उद्धार, राहत र पुनःस्थापनको काम प्रभावकारी बनाउन सकिने उल्लेख गरे ।

गृहमन्त्री खाँणले यसपालीको भूकम्प सुरक्षा दिवस सोहीअनुसार कार्यक्रम तय गरी मनाउन थालिएको पनि जानकारी दिए । मुलुकका हरेक भौतिक पूर्वाधार भूकम्प प्रतिरोधी बनाउन जरुरी रहेको औँल्याउँदै उनले भने, “सरकारी तथा निजी आवास भूकम्प थेग्नसक्ने गरी बनाउनुपर्छ, त्यसका लागि नागरिकमा आवश्यक ज्ञान र सचेतना पु¥याउनु जरुरी छ ।”

विश्व्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) को सङ्क्रमण फैलिरहेका सन्दर्भ जोड्दै मन्त्री खाँणले अहिले कोभिडको विपद्बाट नागरिकको जीउज्यान जोगाउनु महत्वपूर्ण भएको बताए ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अवलम्बन गरी जोखिम न्यूनीकरणमा लाग्नसमेत राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायलाई आग्रह गर्दै उनले यसप्रति सचेत हुन नागरिकमा समेत अनुरोध गरे । गृहमन्त्री खाँणले जोखिमका बीच आम नागरिकको सुरक्षामा खटिने सबै राष्ट्रसेवक कर्मचारीको प्रशंसा पनि गरे ।

“कोभिड–१९ सङ्क्रमणले आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिकलगायत हरेक क्षेत्रलाई प्रभावित पारेको छ”, उनले थपे, “अहिले कोरोना रोकथाम गरी नागरिकलाई बचाउन्ुपर्ने अवस्था रहेको छ, हामी सबै संवेदनशील हुनुपर्छ ।”