काठमाडौँ। सरकारले आजदेखि कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा अग्रपंक्तिमा खटिने व्यक्तिलाई खोपको थप मात्रा (बुस्टर डोज) दिने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको ६ महिना पूरा भएका अग्रपंक्तिमा खटिने व्यक्तिलाई बुस्टर डोज दिने निर्णय गरेको हो। सोही निर्णय अनुसार आजबाट अग्रपंक्तिमा खटिने अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरूले बुस्टर डोज पाउनेछन्।
त्यस्तै, सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने सघ संस्था, बैंकिङ सेवा, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि बुस्टर डोज दिइनेछ।
मन्त्रालयका अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई माघ १४ गतेदेखि बुस्टर डोज दिइनेछ । रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामी पर्नेछन् ।