• बैशाख १६ २०८२, मंगलवार

निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनको मितिमा पुनर्विचार गर्न मुस्लिम संघको आग्रह

माघ १ २०७८, शनिबार

काठमाडौं । नेपाल मुस्लिम संघले निर्वाचन आयोगले आगामी वैशाखमा प्रस्ताव गरेको स्थानीय तहको निर्वाचनको मितिमा पुनर्विचार गर्न आग्रह गरेको छ।

निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन आगामी विसं ०७९ वैशाख १४ र २० गते प्रस्ताव गरेकोमा त्यस समयमा मुस्लिम समुदायको रमजान व्रत तथा इद पर्व पर्ने भन्दै मितिमा पुनर्विचार गर्न आग्रह गरेको हो।

आगामी चैतको १९ गतेदेखि वैशाखको २० गतेसम्म एक महिनासम्म मुस्लिम समुदायको रोजा उपासना र इद पर्व परेकाले प्रस्तावित निर्वाचनमा उम्मेदवार बन्न तथा मतदानकै लागि पनि मुस्लिम समुदायलाई गाह्रो पर्ने संघका उपसभापति अताबुल मन्सुरीले विज्ञप्ति जारी गर्दै बताएका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम संघका  निवर्तमान सभापति अब्दुल सतारले नेपालको करिब पाँच प्रतिशत रहेको मुस्लिम समुदायका नागरिकलाई उक्त प्रस्तावित मितिको निर्वाचनमा उम्मेदवार बन्न तथा मतदानकै लागि पनि गाह्रो पर्ने भएकाले मितिमा पुनर्विचार गर्नुपर्ने बताए।