• बैशाख १६ २०८२, मंगलवार

अफगानिस्तानलाई नेपाल सरकारले सहायता सामग्री पठाउने निर्णय भयो : परराष्ट्रमन्त्री खड्का

माघ १ २०७८, शनिबार

काठमाडौं । ठूलो मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहायता सामग्री पठाउने भएको छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले खाना, नाना र औंषधि उपचारको संकट व्यहोरिरहेका अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको एउटा टोलीलाई आईतबार (भोली) विमानमार्फत् अफगानिस्तानको राजधानी काबुल पठाउन लागिएको जानकारी गराएका हुन् ।

शनिबार संक्षिप्त कुरा गर्दै उनले अन्तराष्ट्रिय मिडियामार्फत् दैनिकजसो अफगानिस्तानका नागरिकको चित्कार सुनेपछि आफूले नेपाल सरकारले तर्फबाट पनि मानवीय सहायता उपलब्ध गराउने निर्णय लिएको स्पष्ट पारे । मन्त्री खड्काले नेपालले आफ्नै विमानमार्फत् उपलब्ध गराउने यो मानवीय सहायता इतिहासमै पहिलो हुने दावी समेत गरे ।

उनका अनुसार भोलिनै काबुलमा त्यहाँस्थित संयुक्त राष्ट्र संघका प्रतिनिधिलाई नेपालले सो मानवीय सहायता सामग्री हस्तान्तरण गर्नेछ । नेपालले हस्तान्तरण गर्ने सहायता सामग्रीहरुमा औंषधिउपचार, लत्ता कपडा र अन्य आवश्यकीय घरायशी सामानहरु रहेका छन ।

परराष्ट्रमन्त्री खड्काले भने– ‘यो एउटा नेपालको अन्तराष्ट्रिय सम्बन्धको दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण मिसन हो । अभियाननै हो । हामीले अफगानिस्तानका लाखौंलाख जनताहरु जो भोकमरी,  खाद्यन्नको अभाव, लत्ताकपडा र धेरै ठूलो औषधिउपचारको संकटमा हुनुहुन्छ । उहाँहरुको चीत्कार दिनैपिच्छे हामीहरुले अन्तराष्ट्रिय मिडियामा हेर्ने गरिराखेका छौं । हामी दक्षिण एसियाली परिवारको एउटा सदस्यको नाताले र अफगानिस्तान पनि त्यहीँ फ्यामिलीको एउटा सदस्य भएको नाताले हामीले हाम्रो एउटा नैतिक जिम्मेवारी पनि ठानेर हामीले एउटा मानवीय सहयोग जुटाउने प्रयास गरिराखेका छौं । भोलि यो मानवीय सहयोग लिएर यहाँबाट हवाईजहाज जान्छ । हवाईजहाज कावुलमा गएर संयुक्त राष्ट्रसंघका प्रतिनिधि, जो महासचिवको यस क्षेत्रको प्रतिनिधि हुनुहुन्छ । उहाँलाई ह्याण्डओभर गर्ने । र उहाँले आफ्नो–आफ्नो निकायमा कसरी हुन्छ, त्यो वितरण गर्नु हुनेछ ।’

मन्त्री खड्काले यो सहायता सामग्री वितरणपछि नेपालको छवि अन्तराष्ट्रिय जगतमा बढ्ने र नेपाल विश्वका कुनै पनि भेगका नागरिकलाई मानवीय सहायता गर्न समक्ष भन्ने सन्देश जाने स्पष्ट पारे ।

उनले भने, ‘हामीलाई यो पनि देखाउनुपर्नेछ कि–हामीलाई यहाँ प्राकृतिक प्रकोप वा अन्य खालको ठूला दैवीप्रकोप पर्दा हामीले सहयोग त लिन्छौं नै । र, हाम्रो सधैंभरी बाहिरबाट अन्तराष्ट्रिय इमेज कस्तो भएको छ त भन्दा हरेक कुरामा हामी माग्ने, अर्काको भरपर्ने खालको इमेज बाहिर गयो । त्यो इमेजलाई हामीले सुधारेर अन्तराष्ट्रिय जगतमा नेपालले पनि गर्न सक्छ, नेपालको पनि त्यो क्षमता छ । र, संकट परेको बेला नेपालले पनि निकै ठूलो स्केलमै पनि सहयोग गर्न सक्छ भन्ने एउटा सन्देश दिन्छ । जसले गर्दा नेपालको इमेज अरुबाट लिने मात्र होइन् हामीले अरुलाई पर्दाखेरी दिन सक्ने क्षमता छ र त्यो संस्कार छ । हामी मनका धनी छौं ।’

नेपालले पठाउने सो सहायता सामग्री सुरक्षित ढंगले विमानमार्फत् लैजाने र सुरक्षित ढंगले हस्तान्तरण गरेर फर्काउने व्यवस्था गर्न धेरै ठूलो कोसिस गर्नु परेको पनि मन्त्री खड्काले बताए । उनले त्यसका लागि संयुक्त राष्ट्रसंघ, भारत सरकार, नेपालस्थित विभिन्न देशका राजदूतहरुको ठूलो सहयोग रहेको पनि स्मरण गरे ।

उनले भने, ‘यो एउटा मानवीय सहयोगको मिसन हो, मैले भनि हाले । यो मिसनमा संयुक्त राष्ट्र संघ, यहाँका हाम्रा मिसनहरूको ठूलो सहयोग छ । सरकारलाई एक पैसाको दायित्व नपारिकन यो एउटा अभियान हो । त्यसका लागि संयुक्त राष्ट्रसंघ, नेपालस्थित राजदूतहरुको पनि ठूलो सहयोग छ ।’

संयुक्त राष्ट्र संघले यो हिउँदमा अफगानिस्तानमा ठूलो भोकमरीको समस्या आउने जनाएको छ । लाखौंको संख्यामा बालबालिकाहरु खानाको अभावमा मर्ने चेतावनी दिँदै मानवीय सहायताका लागि विश्व समूदायलाई अपिल गर्दै आएको छ ।