कोइलीको ‘कुहूँकहू’ मान्छन् सबै प्यारो
कौवा बासे ‘कागकाग’ सुन्नैपर्छ गाह्रो ।
सत्य, साँचो, मीठो बोल्नै बेस जानाजानी
बोकी हिंडे छचल्किन्छ, आधा गाग्री पानी ।
ज्ञानी, गुणी बाँसतुल्य भुक्छन् बुझी सार
अल्पज्ञानी गर्छन् सधै फोस्रो अहंकार ।
धयेंरो नपड्कनै बेस जानाजानी
बोकी हिंडे छचल्किन्छ आधा गाग्री पानी ।
आफूमात्र जान्ने, सुन्ने, बुझ्ने व्यक्ति बन्दै
अकार्थमा अरूलाई भुसुनो झैं गन्दै ।
होच्च्याएर नबोल्नु नै बेस, जानाजानी
बोकी हिंडे छचल्किन्छ, आधा गाग्री पानी ।
‘लाटो खान्छ एक बल्ड्याङ’ हिंड्न नजानेर
‘बाठो खान्छ तीन बल्ड्याङ भन्ने उखानै छ ।
बाठोभन्दा लाटै बन्न बेस जानाजानी
बोकी हिंडे छचल्किन्छ, आधा गाग्री पानी ।
प्रायः सधै शान्त हुन्छ समुद्र गै हेर
बाढी आए गड्गडाउँछ खहरे नै धेर ।
उपबुज्रुक नबन्नु नै बेस जानाजानी
बोकी हिंडे छचल्किन्छ आधा गाग्री पानी ।
लाटो बनी पाडो सधै मीठो दूध खान्छ
बाठो हँदा कागचाहिँ रछानमा जान्छ ।
यत्ति कुरा नविर्सनै बैस, जानाजानी
बोकी हिंडे छचल्किन्छ, आधा गाग्री पानी ।