• मंसिर १८ २०८१, मंगलवार

अमेरिकामा मरेका मान्छे युरोपमा कसरी पक्राउ परे ?

माघ १ २०७८, शनिबार

काठमाडौँ । संयुक्त राज्य अमेरिकामा मरे भनेर प्रचार गरिएका एकजना मानिस हालै स्कटल्याण्डमा पक्राउ परेका छन् । बलात्कार आरोपी निकोलस रोसी नाम गरेका अमेरिकी नागरिक आफ्नो मृत्यु भैसकेको हल्ला चलाएर अमेरिकाबाट भागेको १ वर्षपछि स्कटल्याण्डमा पक्राउ परेको अन्तरराष्ट्रिय संचार माध्यमहरुले बताएका छन् ।३४ वर्षका ती युवा स्कटल्याण्डको ग्लास्गोस्थित एउटा अस्पतालमा पक्राउ परेपछि अमेरिकी अधिकारीहरु चकित भएका हुन् । संयुक्त राज्य अमेरिकाको युटामा उनी विरुद्ध बलात्कारको मुद्धा रहेको बताइएको छ ।

संसारमा कोरोना भाइरस फैलंदै गर्दा उनले सन् २०१९ को डिसेम्बरमा अमेरिकी सञ्चारमाध्यमसँग आफूलाई अन्तिम चरणको क्यान्सर भएको र केही सातामै आफ्नो मृत्यु हुन सक्ने बताएका थिए । सन् २०२० को फेब्रुवरी महिनामा अमेरिकाका कयौं सञ्चार माध्यमहरुमा उनको मृत्यु भएको खबर नै सार्वजनिक भएको थियो ।आफू मरिसकेको हल्ला अमेरिकामा फिंजाएर लुकेर विदेश पसेका उनले विभिन्न छद्म नाम प्रयोग गरेर स्कटल्याण्डमा बसेका थिए ।

गत डिसेम्बरमा आफूलाई कोरोना भाइरस संक्रमण भएपछि उनी त्यहाँ क्विन एलिजावेथ विश्वविद्यालयको अस्पतालमा उपचारको लागि भर्ना भएका थिए । त्यहाँ उनले आफ्नो छद्म नाम ‘आर्थर नाइट’ भनेर अस्पतालमा लेखाएका थिए । उता उनी मरिसकेको नहुन सक्ने आशंकामा अमेरिकाले उनी विरुद्ध रेडकर्नर नोटिस जारी गरेको थियो । अमेरिकाको रेड कर्नर नोटिसको आधारमा अन्तरराष्ट्रिय प्रहरी संगठन इन्टरपोलले उनलाई खोजिरहेको थियो । स्कटल्याण्ड प्रहरीले निकोलसलाई अन्तरराष्ट्रिय पक्राउ पुर्जीको आधारमा पक्राउ गरेको बताएको छ ।

विभिन्न समाचार माध्यमहरुका अनुसार निकोलस दुई दशकसम्म अमेरिकामा अग्रपङ्क्तिमा रहेर बालबालिकाको अधिकारका लागि काम गरेका थिए । उनको मृत्यु भएको खबर सार्वजनिक भएसँगै सञ्चार माध्यमले उनलाई बाल अधिकारका लागि लड्ने योद्वा भनेर समेत लेखेका थिए । संचार माध्यमले उनेको मृत्यु भएपछि उनको खरानी समुन्द्रमा विसर्जन गरेको समाचार समेत सप्रेषण गरेका थिए ।

तिनै रोसी ग्लास्गोस्थित अस्पतालको सघन उपचार विभागको भेन्टीलेटरमा उपचाररत थिए । उनको उपचारमा संलग्न चिकित्सकहरु उनी इन्टरपोलको रातो सूचीमा रहेको बारे बेखबर थिए । गत २०२१ को डिसेम्बर १३ तारिकमा जब उनी पक्राउ परे तब अस्पातालका अधिकारीहरु मात्रै होइन स्वयम् अमेरिकी अधिकारीहरु समेत चकित परे ।

अब उनलाई कानुनी प्रक्रिया पुरा गरेर अमेरिका सुपुर्दगी गर्नेबारे स्कटल्याण्डको क्राउन कार्यालयले बताएको छ । प्रहरीको अहिलेसम्मको अनुसन्धान अनुसार उनले निकोलस एलाभर्डियन रोसी, निक एलन, निकोलस ब्राउन, आर्थर ब्राउनका साथै आर्थर नाइट लगायतका छद्म नामहरु प्रयोग गरेर लुक्दै बसेको पाइएको छ ।