• आश्विन ५ २०८१, शनिबार

कोरोनाका कारण माघे सकराती घरमै मनाउन बाध्य भएका छौं : विनिता आलेमगर

माघ १ २०७८, शनिबार

(नेपाल एउटा विविधता भित्र एकताको मालामा गाँसिएको सुन्दर देश हो । यहाँ विगतदेखि नै विभिन्न जातजातिका मानिसहरु बसोबास गर्दै आएका छन् । उनीहरुका आफ्नै भाषा, धर्म, संस्कृति संस्कार परम्परा छन् । तीमध्ये जनसंख्याको हिसाबले नेपालको तेस्रो ठूलो र आदिवासी जनजातिमा पहिलो जाति मगर जाति हो । देश तथा विदेशमा रहेका मगर समुदायले प्रमुख चाड माघे संक्रान्तिको अवसरमा आज देश तथा विदेशमा मनाउँदैछन् । चाडपर्व त थुप्रै छन् तर मगर समुदायले माघी पर्वलाई किन महान चाडको रुपमा मनाउँदै आएका छन् ? साथै मगर महिला संघको सांगठनिक, भाषिक, धार्मिक, सांस्कृतिक, आर्थिक तथा मगर महिलाको अवस्था कस्तो छ ? भन्ने विषयमा नेपाल मगर महिला संघका केन्द्रीय अध्यक्ष  विनिता आलेमगरसँग दीपा आलेले कुराकानी गरेकी छिन् । प्रस्तुत छ, सोही कुराकानीको सारसंक्षेप–सम्पादक ।)

१) आज माघे संक्रान्ति (मकर सकराती) कसरी मनाउँदै हुनुहुन्छ ?

सर्वप्रथम त आज माघे संक्रान्तिको दिन सम्पूर्ण देशविदेशमा रहेका नेपाली दाजूभाई दिदी–बहिनीहरुलाई मेरो व्यक्तिगत तथा संस्थागत तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । आजको दिन विशेष गरी मगर समुदायले माघे संक्रान्ति चाड मनाउने गर्दछन् । किन कि यो मगर समुदायको सांस्कृतिक पर्व हो । आजको दिनलाई नयाँवर्षको रुपमा मानेर शुभकामना आदानप्रदान पनि गरिन्छ । यो पर्व सम्पूर्ण नेपालीको साझा चाड पनि हो । नेपाल सरकारले माघीलाई मगर र थारु समुदायको राष्ट्रिय पर्वको रुपमा मानेर विदा पनि दिने गरेको छ ।

२) त्यसो भए यो माघे संक्रान्तिको ऐतिहासिक पृष्ठभूमि कस्तो छ, चाड पर्व त अन्य पनि छन् तर मगर समुदायले माघे संक्रान्तिलाई नै मुख्य चाडको रुपमा किन मनाउँछन् ?

यो चाड मगर समुदायको सांस्कृतिक चाड हो । यो चाड हाम्रा पुर्खाले परम्परादेखि मनाउँदै आएको हुनाले पनि यसलाई जगेर्ना गर्नुपर्छ भनेर हामीले यसलाई मनाउँदै आइरहेका छौं । आजको दिन मगर लगायत थारु समुदायले पनि यस पर्वलाई विशेष पर्वको रुपमा मनाउने गर्दछन् । आजको दिन दाजूभाईले आफ्ना दिदी–बहिनीहरुलाई बोलाएर पुज्ने, टिका लगाई दान–दक्षिणा दिने अनि मिठा खानाको परिकार बनाएर खाने गरिन्छ । जसमा आजको दिन तरुल, सखरखण्ड, भ्याकुर, बारा, सेल रोटी, तिलौरा, लड्डु खाने पर्व हो ।

३) यो पर्वमा मगर समुदायले नाचगान गर्छन् कि गर्दैनन् ?

माघे संक्रान्तिमा मगर समुदायले आफ्ना भाषामा गितहरु गाएर नाच्ने गाउने गर्दछन् । नेपाल सरकारले माघे संक्रान्तिलाई राष्ट्रिय पर्वको रुपमा सार्वजनिक विदा दिएपछि काठमाडौंको टुंडिखेलमा औपचारीक रुपमै भव्य कार्यक्रम गरी मनाउँदै आएका थियौं । यो पर्वमा टिपीकल नाचहरु कौरा, सालैजो, पैंसेरु लगायतका गीतमा नृत्य गरिन्छ । आफ्नो संस्कार र संस्कृति बचाउनका लागि झाँकी सहित आफ्नै भेषभुषामा सजिएर मकर सकराती मनाउने चलन छ । जो हाम्रो पुर्खाले मनाउँदै आएको थिए, त्यसैलाई संरक्षण र संबद्र्धन गर्नका लागि हामी मगर समुदाय लागिपरेका छौं ।

४) विगतका दिनहरुमा मगर समुदायले माघे संक्रान्ति काठमाडौंको टुंडिखेलमा मनाउने गर्दै आएको छ, तर यो कोरोनाको संक्रमणमा यो वर्ष कसरी मनाउँदै हुनुहुन्छ ?

यो वर्ष पनि हामीले टुंडिखेलमा मनाउने तयारीमा थियौं तर कोरोनाको संक्रमण बढेपछि हामीले टुंडिखेलमा मनाइने माघे सकरातीको औपचारिक कार्यक्रम स्थगित गरेका छौं । किन कि सरकारले २६ गतेको मन्त्रिपरिषदकोे बैठकको निर्णयले २५ जना भन्दा बढी जम्मा हुन नपाउने भनेपछि हामीले टुंडिखेलमा गरिने कार्यक्रम स्थगित गरी आफ्नै घरमा बसेर शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने विचार गरेका छौं । किन कि पहिलो कुरो त हामी कोभिडबाट सुरक्षित भएर बाँच्न सक्नु पर्यो । बाँचेपछि अर्को साल फेरि हर्षउल्लासका साथ मनाउने छौं ।

५) मगर समुदायका मानिसहरु त देश विदेश भरि छन् तर वर्षेनी टुंडिखेलमा कार्यक्रम गर्नु हुन्छ किन ?

जनसंख्याको हिसाबले मगर समुदाय ठूलो समुदाय भएको हुनाले पनि सबैलाई सहज हवस् भनेर र सबैले हेर्न पाउन भनेर टुंडिखेलमा कार्यक्रम गरेका हौं । टुंडिखेलमा कार्यक्रम गरेपछि मगर लगायत गैरमगर समुदायहरु पनि आएर हाम्रो कार्यक्रमलाई अवलोकन गरिदिनु हुन्छ । जसले गर्दा हामीलाई पनि खुशी लाग्छ । यो माघे संक्रान्ति माघ १ गते मात्र नभई अघि र पछि पनि मनाउँदै आएका छौं । १ गते चाहीँ औपचारिक रुपमा कार्यक्रम गरिएको मात्र हो । आजको दिन देश विदेशमा रहेका आम मगर समुदाय विभिन्न कार्यक्रम गरी यो पर्व मनाउने गर्दछन् ।

६) चाडपर्वहरु त अरु पनि छन् तर मगर जातिसँग माघे संक्रान्तिको सम्बन्ध के छ ?

माघे संक्रान्ति हाम्रा पूर्खाले परम्परादेखि मनाउँदै आएको हुनाले अन्य चाडपर्व भन्दा माघे संक्रान्ति पर्वको मगर समुदायसँग निकट सम्बन्ध देखिन्छ । जुन पर्वले मगर समुदायलाई प्रकृतिसँग नजिक पनि बनाएको छ ।

७) संस्कृतिका धनि मगर समुदायको संस्कृतिलाई बचाउन राज्यको भूमिका कस्तो देख्नुहुन्छ ?

राज्यले मगर समुदायको संस्कृतिलाई बचाउन अहिलेसम्म केही पहल गरेको देखिंदैन । बरु हामी आफ्नै समुदाय सक्रिय भएर लागेका छौं । जसले गर्दा केही हदसम्म भएपनि हाम्रो संस्कृति जीवित रहन पाएको छ । हामीले लोप हुन लागेको आफ्ना भाषा, धर्म संस्कृतिलाई बचाउन एकजुट भएका छौं । धर्मको कुरा गर्नुपर्दा मगर समुदाय हामी प्रकृतिपूजक हौं । संस्थागत रुपमा हाम्रो धर्म प्रकृतिपूजक नै हो । किन कि राज्य धर्मनिरपेक्षतामा गइसकेको छ । त्यसकारण पनि मगर समुदायले हामी प्रकृतिपूजक र बौद्ध धर्म मान्दै आएका छौं भनेर राज्यलाई जानकारी दिइरहेका छौं ।

८) तपाईं मगर महिला संघको अध्यक्ष पनि हुनुहुन्छ, संगठनको अवस्था कस्तो छ ?

मगर महिला संघको हालसम्म ५६ वटा जिल्लामा शाखा गठन गरेका छौं । नेपालमा मात्र नभई विदेशमा पनि यसका शाखाहरु स्थापना गरिएका छन् । त्यति मात्र नभई कहिलेकाहीँ साँझ विहानको छाक टार्न नसक्ने व्यक्तिहरुलाई संगठनको तर्फबाट खाद्यान्नको व्यवस्था पनि गर्ने गरेका छौं । यसैगरी आर्थिक अवस्था कमजोर भएका विरामीहरुलाई पनि सकेजति आर्थिक सहयोग गर्दै पनि आएका छौं ।

९) त्यसो भए यस्तो खाले सामाजिक कार्यको लागि आर्थिक कसरी जुटाउने गर्नुभएको छ नी ? कि राज्यले आर्थिक सहयोग गरेको छ ?

हाम्रो संस्थामा राज्यले अहिलेसम्म आर्थिक सहयोग गरेको छैन । हाम्रो संस्थामा महिला एकजुट भई राष्ट्रिय सभागृहमा ठूलो सांस्कृतिक कार्यक्रम गरी केही आर्थिक जम्मा गरेका थियौं । त्यही पैसा ब्याजमा लगाएर हामीले समाजमा दुःख पाएका महिलाहरुलाई सहयोग गरेका हौं । अन्य मनकारी व्यक्तित्वहरुले हाम्रो काममा साथ दिएर पनि हामीलाई आर्थिक सहयोग गर्नु भएको छ । साथै हामीले सानासाना सिपमूलक कार्यक्रम बाट पनि आर्थिक जम्मा गरेका छौं । यो संस्था स्थापना भएको २३ वर्ष भयो । यो संस्थालाई जन्म दिने व्यक्ति आदरणीय दिदी बमकुमारी बुढामगर हुनुहुन्छ । उहाँको योगदानले नै आज हामी यसरी एकजुट भएर महिलालाई आर्थिक रुपमा सक्षम बनाई कसरी नेतृत्वतहमा पुर्याउन सकिन्छ भनेर लागि परेका छौं । मगर महिलाहरुको हक र अधिकार स्थापित गर्दै संस्कार संस्कृति पनि जगेर्ना गर्नका लागि यो संस्था स्थापना भएको हो ।

१०) मगर महिलाहरुले राज्यबाट पाउनु पर्ने हक र अधिकार पाउनु भएको छ कि छैन ?

राज्यपक्षबाट अहिलेसम्म मगर महिलाले आफ्नो अधिकार प्राप्त गर्न सकेका छैनन् । तर राजनीतिक क्षेत्रमा क्रियाशील केही मगर महिला राज्यको निकायमा पुगेपनि मगर महिला संघमा लागेका महिलाहरु अहिले पनि राज्यको हरेक निकायमा पुग्न सकेको छैनन् ।

११) राज्यको हरेक निकायमा पुग्न के गर्नुपर्छ होला ?

राज्यको हरेक निकायमा पुग्नका लागि मगर महिलामा राजनीतिक चेतना र सक्रियता हुनुपर्छ किन कि राजनैतिक चेतनाबिना राज्यको हरेक निकायमा पुग्न सकिन्न ।

१२) मगर संघ, मगर महिला संघ मगर विद्यार्थी संघ लगायत जातीय संस्था त सामाजिक संस्था होइनन् र ? तर यस भित्र पनि ठूलो राजनीतिक चलखेल देखिन्छ किन ?

यो सामाजिक संस्था हो । यस भित्र राजनीतिक गतिविधि गर्न पाइँदैन तर व्यक्तिगत विचार चाहीँ हुनुपर्छ किन कि राजनीतिक चेतनाबिना राज्यका निकायहरुमा पुग्न सकिंदैन । विचार जे सुकै होस् तर सक्षम मगरलाई राज्यको निकायमा पुर्याउन सबैको पहल हुनुपर्छ । त्यसका लागि शिक्षा नीति परिवर्तन गर्नुपर्छ । किन कि अहिलेको शिक्षा नीतिले काम त्यसका लागि गर्दैन ।

१३) त्यसो भए कस्तो खालको शिक्षा नीति भइदिए हुन्थ्यो भन्ने लाग्छ ?

अबको शिक्षा नीति व्यवहारीक शिक्षा नीति हुनुपर्छ । आफ्नै मातृभाषामा शिक्षा नीति बनाइनु पर्छ, जसले मगर समुदायलाई काम गर्न सहज होस् । मगर मात्र होइन नेपालमा जति पनि समुदाय छन् उनीहरुको आफ्नै मातृभाषामा शिक्षा पढ्न र काम गर्न पाउनु पर्छ । यो कार्यमा राज्यको ध्यान जावस् ।

१४) अन्तिममा के भन्न चाहनुहुन्छ ?

धन्यवाद छ गोलखबर डटकम परिवारलाई । मगर महिला संघलाई सम्झिएर हाम्रा विचारहरु राख्ने मौका दिनुभयो । विषेश गरी अझ आज मगर समुदायको राष्ट्रिय चाडको बारेमा बोल्ने मौका दिनुभयो, साथै हामीले संस्थामा गरेका गतिविधिलाई उजागर गरिदिनु भयो त्यसका लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु । फेरि पनि माघे संक्रान्ति (मकर सकराती) पर्वको शुभ अवसरमा सम्पूर्ण नेपालीलाई धेरै धेरै शुभकामना दिन चाहन्छु ।